कोरोनाको कहर : दैनिक १९ लाख लिटर दूध खेर जाँदै « Khabarhub

कोरोनाको कहर : दैनिक १९ लाख लिटर दूध खेर जाँदै



काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण दूधको खपत ह्वातै घटेको छ ।

सामान्य अवस्थामा व्यावसायिक स्तरबाट मुलुकभर दैनिक ३२ लाख लिटर दूध खपत हुन्थ्यो । देशभर उत्पादन भएको दूधले बजारको माग पूरा गर्न नसक्दा पाउडर दूधको माग पनि उत्तिकै हुन्थ्यो ।

निषेधाज्ञाको अवस्थामा दूधको खपत घटेर १३ लाख लिटरमा झरेको छ । यो परिमाण सामान्य अवस्थाको तुलनामा ४० प्रतिशत हो । बाँकी १९ लाख लिटर अर्थात ६० प्रतिशत दूधले बजार नपाएको नेपाल डेरी एसोसियनले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण शहरी क्षेत्रमा दूधको खपत घट्दा दूध उत्पादक किसानहरू मर्कामा परेका छन् ।

विशेष गरी घर परिवार बाहेक ठूलो मात्रामा दूध खपत हुने विद्यालय, होटल, पार्टी प्यालेस जस्ता ठाउँ बन्द हुँदा कृषक र व्यवसायी दुबैले नोक्सानी व्यहोर्नु परेको छ ।

एसोसिएसनका महासचिव प्रह्लाद दाहालका अनुसार खपत हुन नसकेको १९ लाख लिटर दूधलाई पाउडर बनाएर राख्न सकिने अवस्था पनि छैन ।

३ अर्बको पाउडर र बटर मौज्दात

२०७६ साल चैतमा लकडाउन शुरू हुँदा धेरै डेरी उद्योगहरूले किसानले उत्पादन गरेको दूध खेर जान नदिन ठूलो परिमाणमा पाउडर दूध र बटर बनाएका थिए ।

दाहालका अनुसार अहिले देशभर करिब ३ अर्ब रुपैयाँ बराबरको धुलो दूध (पाउडर) र बटर मौज्दात छ । यसै कारण अहिले खपत नभएको दूधको पाउडर बनाएर राख्न नसकेको उनको भनाइ छ ।

बजार चलायमान हुन थाल्दा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टले सबै क्षेत्रहरू थला परेका छन् ।

‘पहिलो लकडाउन खुलेपछि दूधको खपत ९० प्रतिशतसम्म हुन थालेको थियो,’ दाहालले खबरहबसँग भने, ‘निषेधाज्ञापछि खपत घटेर ४० प्रतिशतमा झरेको छ ।’

यो लकडाउनमा दूध तथा दुग्ध पदार्थ बिक्रिमा करिब ६० प्रतिशत कम भई दैनिक १० करोड रुपैयाँभन्दा बढीको दूधले बजार नपाएको दाहालले बताए ।

‘हालको लकडाउनले गर्दा पुरानो मौज्दात रहेको पाउडर दूध र बटर अनि अहिलेको थपिँदो क्रमले गर्दा चालु पुँजी रोकिन गएको छ,’ उनले भने, ‘किसानको पैसा समयमा तिर्न सकिएको छैन ।’

भ्याक्सिन उपलब्ध गराउन माग

पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक ८ हजारले थपिँदै गएको छ, मृत्यु हुनेको संख्या सयभन्दा माथि छ ।

दाहालका अनुसार कोरोनाको दोस्रो लहर चलिरहँदा सरकारले तोकेको सबै स्वास्थ्य मापदण्ड पूरा गरी उच्च सतर्कताका साथ दैनिकरूपमा सम्पूर्ण दुग्ध उद्योगी, किसान र संघसंस्थाहरूले सेवा प्रवाह गर्दै आइरहेका छन् ।

यस्तो अवस्थामा दूध संकलन, प्रशोधन र बजारीकरण गरिरहेका सबैलाई भ्याक्सिन उपलब्ध गराउन एसोसियसनले सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  २ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै