तोकिएको मितिमै निर्वाचन हुन्छ : मन्त्री ज्ञवाली « Khabarhub

तोकिएको मितिमै निर्वाचन हुन्छ : मन्त्री ज्ञवाली


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् ।

धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उल्लेख गरे ।

प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि ताजा जनादेशमा जानुपरेको उनले स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले योभन्दा अगाडि कुनै पनि सरकारले गर्न नसकेका नेपालको कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको भूभागलाई समेटेर सिङ्गो देशलाई एकताबद्ध गरी नेपालको नक्सा बनाएर आफू भारत जाँदा सो ऐजण्डालाई पहिलोचोटी वार्ताको टेबुलमा राखेर यो समस्याको छिटो समाधान गर्न जरुरी छ भन्ने कुरामा सहमत बनाउन सफल भएको दाबी गरे ।

उनले राष्ट्रियता, सुशासन, विकास, सामाजिक न्यायको पक्षमा देशले अगाडि फड्को मार्दै गएको बेला केही नेताको ध्यान देशको विकासतिरभन्दा पनि कुर्सीतिर गएको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले सडकमा गएका नेतालाई सडकलाई प्रयोगको थलो नबनाउन आग्रह गरे । “अतृत्प आकांक्षाको निम्ति जनतालाई प्रयोगको थलो बनाउनु हुँदैन”, उनले भने, “जनतामाथि विश्वास भए निर्वाचनमा जान बाटो खुला भएको छ । जनताले जनादेश दिने, सरकारले काम गर्ने र राम्रो काम गरेन भने जनताले नै दण्डित गर्ने भएकाले त्यस प्रकारको राजनीतिक पद्धतिले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्छ ।”

मन्त्री ज्ञवालीले जनतालाई सुशासनको अनुभूति स्थानीय तहबाट नै गराउने उद्देश्यले काम भइरहेको बताउँदै भौतिक पूर्वाधारको आफ्नै महत्व भए पनि विकासको महत्वपूर्ण पाटो भनेको मानवीय पक्षको विकास भएको उल्लेख गरे ।

“जिल्लामा कति महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवीलगायत सबै नागरिक बस्नलायक छ भन्ने कुरामा विकासले कतिको सम्बोधन गरेको छ भन्ने हेर्न जरुरी छ”, उनले भने, “ती सबैलाई समेटेर गरेको विकास सबैभन्दा महत्वपूर्ण हुनेछ ।”

धुलिखेल नगरपालिकाले भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा समेत सन्तुलित राख्न सकेको उनको भनाइ छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई काम गर्न नदिएको कारण पाँच वर्षका लागि निर्वाचित भएको प्रतिनिधिसभा भङ्ग गर्नुपरेको उल्लेख गर्दै प्रतिगमनको ढोङ फुक्नु नक्कली कुरा भएको बताए ।

उनले राम्रो काम गरेबापत दण्डित हुनुपर्ने हो भने लोकतन्त्रको कुनै अर्थ नहुने बताए । सही कुरा स्थापित गर्न सकेन भने खराबले राज गर्ने भएकाले सच्चा लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य भएको उनको भनाइ छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले नयाँ नगरपालिकाको रुपमा स्थापित गर्न सफल भएको बताए । उनले नगरपालिकाको स्थापना दिवस मनाउने, धुलिखेल नगरपालिकालाई नेपालको छैटो र काभ्रे जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, नगरपालिकाभित्र खानेपानीसम्बन्धीको दस्तावेज विमोचन, गरेको विकास निर्माणको योजनाको पुस्तक विमोचन र रोटरी क्लब अफ धुलिखेलले पार्कको हरियाली बनाउने काममा सम्झौता गरेको बताए ।

उनले धुलिखेल नगरपालिकालाई पाँच वर्षभित्रमा आधारभूत आवश्यक्ता पूरा भएको नगरको रुपमा घोषणा गर्ने दाबी गरे ।

धुलिखेल नगरपालिकालाई छिट्टै स्वस्थ शहर घोषणा गर्ने तयारी भइरहेको बताउँदै उहाँले नगरलाई साक्षर नगर र खुल्ला दिसामुक्त नगर घोषणा गरिसकेको जानकारी दिए । उनले धुलिखेल नगरलाई दक्षिण एशियामा नै सबैभन्दा बढी पार्क भएको शहरको रुपमा स्थापित गराउने योजनामा आफू रहेको बताए । (-रासस)

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : २५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल