काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।
हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले दुईपटक अग्रता बनाए पनि घरेलु टोलीले दुवैपटक बराबरी गर्दै अंक बाँड्न सफल भयो। यससँगै एभर्टनले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुआतमै युनाइटेडले अग्रता लिएको थियो । ब्रायन एम्बुमोले गोल गर्दै पाहुना टोलीलाई १–० को अवस्थामा पुर्याए ।
तर अग्रता लिएपछि युनाइटेडमाथि एभर्टनले दबाब बढाउँदै लग्यो। लगातार आक्रमण गरेको घरेलु टोलीका लागि खेल सकिन सात मिनेट बाँकी रहँदा टाइरिक जर्जले गोल गर्दै स्कोर १–१ मा पुर्याए ।
बराबरीपछि दुवै टोलीले निर्णायक गोलको प्रयास गरे। खेलको ८८औँ मिनेटमा बेन्जामिन सेस्कोले हेडरमार्फत गोल गरेपछि युनाइटेड फेरि २–१ ले अघि बढ्यो। संयोगवश, सेस्कोले अघिल्लो सिजन पनि यही मैदानमा निर्णायक गोल गरेका थिए ।
युनाइटेड जिततर्फ अघि बढिरहेको देखिए पनि एभर्टनले अन्तिम क्षणमा खेलको नतिजा उल्ट्यायो । इन्जुरी समयको छैटौँ मिनेटमा मैटल्यान्ड नाइल्सले लामो दूरीबाट प्रहार गरेको बल गोलको माथिल्लो बायाँ कुनामा पुगेपछि एभर्टनले खेल २–२ को बराबरीमा ल्यायो ।
अन्तिम क्षणमा आएको उक्त गोलसँगै एभर्टनले महत्वपूर्ण एक अंक सुरक्षित गर्यो भने युनाइटेड तीन अंकको नजिक पुगेर पनि बराबरीमा रोकियो ।












प्रतिक्रिया