गत चैत २५ गते मध्याह्न १२ बजे जुगल नगरपालिकाको वाड नम्बर २, गोल्चे क्षेत्र तुवालोले ढाकेको थियो । गोल्चे सिन्धुपाल्चोकको दुर्गम ठाउँ हो ।
यस वडाको सीमाना चीनसँग जोडिएको छ । बाटो खन्न डोजरको बढ्दो प्रयोगले उड्ने धुलो र घरायसी इन्धनमा दाउरा बाल्दा घरभित्र हुने धुँवाबाहेक वातावरणमा हुने प्रदूषणबारे गाउँलेहरू अनभिज्ञ थिए ।
यस भेगका बासिन्दाहरूले आफ्नो जीवनमा कहिल्यै नदेखेको तुँवालो एक हस्तादेखि देखिराखेका थिए । तर उनीहरूलाई के कारणले यस्तो भइराखेको छ भन्ने कुनै हेक्का थिएन ।
यस्तो स्थिति अहिले गोल्चेमा मात्र नभई देशभरिका धेरै ठाउँमा छ । जनघनत्व बढी भएका शहरहरू काठमाडौँ, धनगढी, भरतपुर, नेपालगञ्ज, वीरगञ्ज लगायतमा प्रदूषणको गम्भीर समस्या छ ।
यी शहर विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्डभन्दा ठूलो मात्रामा प्रदूषित छन् । गत हप्तामा ‘आईक्यू एअर’ को ‘वायु प्रदूषण इन्डेक्स’ मा काठमाडौँ कहिले एक नम्बरमा त कहिले दोस्रो नम्बर रह्यो र संसारकै अत्याधिक प्रदूषित शहर हुन पुग्यो । अहिले पनि अवस्था सुधार भएको छैन ।
प्रदूषणले शुरूमा साना नानीहरूका आँखा पोल्ने, आँखा चिलाउने, रुघाखोकी लाग्ने र घाँटी चिलाउनेजस्ता लक्षण देखिएको थियो । प्रदूषण बढ्दै गएपछि वयस्क र बुढाबुढीमा पनि यस्तै लक्षण देखिन थालेको थियो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नोभेम्बर २०२० देखि मार्च २०२१ सम्म नेपालभरि करिब २ हजार ७०० वटा डढेलोका घटना भए जसमा हजारौँ हेक्टर जङ्गल नष्ट भयो । गत मार्च २६ देखि अहिलेसम्म निरन्तर रहेको वातावरणको यो हालत मुख्यतया वन जङ्गलमा लागेको डढेलोको कारणबाट नै भएको देखिन्छ ।
देशका विभिन्न भागमा मानिसले लागाएको डढेलोले मानिसलगायत सबै किसिमका प्राणीलाई असर गरेको छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावको परिणामस्वरूप समयमा वर्षा हुन नहुँदा वनजङ्गल सुख्खा छन् । यस्तो अवस्थामा आगोको सानो झिल्कोले पनि ठूलो डढेलोको रूप लिन्छ । नेपालमा यसै कारणले डढेलोको घटना बढेको हो ।
वनमा डढेलो लाग्ने क्रम घट्नुको सट्टा झन् बढ्दै गएको छ । यही बीचमा केही ठाउँमा हलुका वर्षा भयो । यसो नहुँदा हो त नेपालका ठूला शहरका अधिकांश बासिन्दालाई श्वासप्रश्वास सम्बन्धी अनेक समस्या भएको हुँदो हो । हल्का वर्षा भए पनि डढेलो घटेको छैन, प्रदूषण बढ्ने क्रम पनि घटेको छैन ।
वायु प्रदूषणको मुख्य कारण डढेलोमात्रै होइन, यातायात साधनबाट पनि प्रदूषण हुने क्रम बढ्दो छ । डढेलो नलागेको बेलामा पनि काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर हुन्छ । सधैँ पनि काठमाडौँको वायुमा सास फेर्न कठिन हुन्छ । डढेलोले समस्या झन बढाइदिएको छ ।
काठमाडौँ उपत्यका लगायत ठूला शहरमा वायु प्रदूषण बढ्दो छ । डिजेल—पेट्रोलबाट चल्ने गाडी र धेरै धुवाँ निकाल्ने उद्योगसँगै डढेलो वायु प्रदूषणको मुख्य कारण हो । सरकार प्रदूषण नियन्त्रण गर्न उदासीन छ ।
दाँजोमा काठमाडौँ उपत्यकाको बनोट कचौरा आकारको छ । यसले गर्दा यहाँ उत्सर्जन भएको वा बाहिरबाट आएको प्रदूषित वायु सजिलै उपत्यकाबाहिर जान सक्दैन । मोटरगाडी र इटाभट्टाको बढ्दो संख्याले यहाँको वायुको स्तर धेरै खस्काएको छ ।
सन् १९४० मा हिटलरले राजा त्रिभुवनलाई उपहारस्वरूप दिएको मर्सिडिज गाडी उपत्यकाको पहिलो गाडी थियो । करिब ८० वर्षको अन्तरालमा नेपालमा आर्थिक वर्ष २०७५/७६ सम्ममा नेपालमा ३५ लाख ३९ हजार ५१८ वटा सवारीसाधन दर्ता भएका थिए । यी धेरै गाडी काठमाडौँ उपत्यकामा गुड्छन् ।
मोटरगाडी गुड्नु नराम्रो होइन तर अधिकांश मोटरगाडी स्वच्छ ऊर्जाले नभई खनिज तेलबाट चल्छन् । मोटरगाडीले उत्सर्जन गरेको धुवाँ यहाँको पहाडको घेरोले रोकेर राख्छ, बाहिर जान दिँदैन । हावामा भएका धुलो पानीको कणसँग मिलेर तुवाँलो बन्ने गर्छ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपाल आयल निगमले ५ लाख १२ हजार १२८ किलोलिटर पेट्रोल र १४ लाख ७३ हजार ५३६ किलोलिटर डिजल आयात गरेको तथांक छ । एक दशकअघि २०६६/६७ मा १ लाख ६२ हजार ९०२ किलोलिटर पेट्रोल र ६ लाख ८ हजार ६५ किलोलिटर डिजल आयात भएको थियो ।
यसरी एक दशकमा पेट्रोल आयात २१४ प्रतिशतभन्दा बढीले र डिजेल १४२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसरी बढ्दै गएको खनिज तेल प्रयोग, दाउराको परम्परागत प्रयोग र वन डढेलोबाट निस्केको धुँवाले वातावरण प्रदूषण बढाएको छ । यस्तो प्रदूषण हट्न वर्षा हुनु वा हावा चल्नु अनिवार्य हुन्छ ।
जुनबेला काठमाडौँ र अन्य शहरको वायु श्वासप्रश्वासका लागि हानिकारक थियो, त्यसै बेलै कुनै कदम चाल्नु सरकारको दायित्व हुन्थ्यो । पानी पर्न शुरू भयो, अब वनमा आगो लाग्दैन भन्ने कुरा पनि सही होइन रहेछ । गत चैत २९ नार्गजुन वनमा लागेको डढेलोले आफ्नो विकराल रूप देखायो र लगत्तै उपत्यकाको वायु फेरि प्रदूषित हुन पुग्यो ।
काठमाडौँ उपत्यका एउटा दहबाट विशाल सिमेन्टको जङ्गलमा परिणत हुँदा इतिहसमा शायद यति धेरै प्रदूषित भएको थिएन होला । गाडीको धुँवाले वायुमण्डलमा कार्बन डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, मिथेन लगायतका हानिकारक ग्यासको मात्रा बढाउँछ । यसबाट मानिस, अन्य जीवजन्तु र वनस्पतिमा नकारात्मक असर पर्छ ।
नेपाल सरकारले यसपालि पनि डढेलो विपदको व्यवस्थापन गर्न सकेन । विद्यालय एक हप्ता बन्द गर्नुबाहेक सरकारले अन्य कुनै कदम चालेन । केही दिन यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने र बढी धुवाँ निकाल्ने उद्योगधन्दा बन्द गर्ने जस्ता कदम चाले र प्रदूषण केही मात्रामा घटाउन सकिन्थ्यो तर सरकारले यतातिर केही पनि गरेन ।
जुनबेला काठमाडौँ र अन्य शहरको वायु श्वासप्रश्वासका लागि हानिकारक थियो, त्यसै बेलै कुनै कदम चाल्नु सरकारको दायित्व हुन्थ्यो । पानी पर्न शुरू भयो, अब वनमा आगो लाग्दैन भन्ने कुरा पनि सही होइन रहेछ । गत चैत २९ नार्गजुन वनमा लागेको डढेलोले आफ्नो विकराल रूप देखायो र लगत्तै उपत्यकाको वायु फेरि प्रदूषित हुन पुग्यो ।
डढेलो भए वा नभए पनि हामी उपत्यकामा अस्वस्थ वातावरणमा बस्नु परेको छ । गाडी चढ्नु सबैको अधिकार हो, कतिको रहर पनि होला । प्रदूषण घटाउन सरकारलवे विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहित गर्नुपथ्यो । यसतर्फ पनि ध्यान पुगेको देखिँदैन ।
घरायसी इन्धनमा स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्छ, दाउराको प्रयोग घटाउनुपर्छ । विषालु ग्यास उत्सर्जन गर्ने उद्योगधन्दा र इटाभट्टामा प्रदूषण नियन्त्रणका उपायहरू अपनाउने हो भनेमात्र वायु प्रदूषण नियन्त्रण गर्न सकिन्छ । अनिमात्र हामीले स्वच्छ सास फेर्न पाउनेछौँ ।
प्रतिक्रिया