तातोपानीमा आएको अक्सिजन सिलिन्डर अनुदानको होइन, व्यापारीको | Khabarhub Khabarhub

तातोपानीमा आएको अक्सिजन सिलिन्डर अनुदानको होइन, व्यापारीको

चार दिन चिनियाँ भन्सारमै अड्कियो



काठमाडौँ– सोमबार चीनबाट तातोपानी भन्सारमा आइपुगेको २ हजार ५०० थान अक्सिजन सिलिन्डर सरकारी अनुदानको नभएर व्यापारिक प्रयोजनका लागि भएको खुलासा भएको छ ।

यसअघि चीनबाट १८ हजार थान अनुदानको खाली सिलिन्डर नेपाल आइपुगेको भन्ने समाचार आए पनि आज पहिलो पटक जम्मा २ हजार ५०० थान आएको र त्यो पनि अनुदानको नभई व्यापारिक प्रयोजनको भएको खुलेको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले सोमबार अक्सिजन सिलिन्डर भन्सार कार्यालयमा आइपुगेको बताए ।

खबरहबसँग उनले भने, ‘आज ३ बजेसम्म २५ सय थान अक्सिजन सिलिन्डर भन्सार कार्यालयमा आइपुगेको छ । अन्य सामान पनि आउँछ भन्ने जानकारी आएको छ तर आइसकेको छैन ।’

आज आएको सिलिन्डर सरकारी अनुदानको नभएर व्यापारीको भएको पनि गौतमले बताए । उनले भने, ‘आज आएको १० लिटर क्षमताका २ हजार ५०० थान अक्सिजनका सिलिन्डर व्यापारिक प्रयोजनमा आएको देखियो ।’

स्वास्थ्य सामग्री ल्याउन व्यवसायीका लागि सरकारले सहजीकरण गरेको उनले बताए ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले पनि चीनबाट सोमबार २५ सय थान सिलिन्डर तातोपानी नाकामा आइपुगेको बताए । खबरहबसँग कुरा गर्दै उनले भने, ‘व्यवसायीहरूले व्यापारिक प्रयोजनका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याएको हो । व्यापारका लागि माग अनुसारको अक्सिजन सिलिन्डरलगायत अन्य स्वास्थ्य सामग्री निरन्तर रूपमा आउँछ ।’

व्यवसायीहरूका अनुसार तिब्बतको व्यापारिक केन्द्र खासामा ७ हजार ५०० थान सिलिन्डर आएकोमा त्यसमध्ये २५ सय थान आज तातोपानी आइपुगेको हो ।

व्यापारीले केही स्वास्थ्य सामग्री नाकामा रोकिएको भन्दै सहजीकरणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत सरकारसमक्ष आग्रह गरेको शेर्पाले बताए । उपप्रधानमन्त्री पोखरेलको सचिवालयका एक कर्मचारीले पनि तातोपानी भन्सारमा आएको सिलिन्डर व्यापारिक प्रयोजनको भएको बताए ।

ती कर्मचारीले खबरहबसँग भने, ‘व्यापारीहरूले चीनबाट ल्याउन लागेको केही सिलिन्डर तातोपानी भन्सारमा आइपुगेको छ, केही आउने क्रममा छ । त्यसको सहजीकरण हामीले गरेका छौँ ।’

ती कर्मचारीका अनुसार चिनियाँ सरकारको अनुदान सहयोगमा २० हजार सिलिन्डरमध्ये दुई हजार थान हवाई मार्गबाट र १८ हजार थान स्थलमार्गबाट आउने प्रक्रियामा रहेको छ ।

चार दिन भन्सारमै अड्कियो

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार चार दिनअघि नै खासामा ७ हजार ५०० थान अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री आइपुगेको थियो । चार दिन पछि बल्ल चिनियाँ भन्सार पास भएर २ हजार ५०० थान सिलिन्डर तातोपानी भन्सारमा आइपुग्यो ।

शेर्पाका अनुसार भन्सारमा आइपुगेको स्वास्थ्य सामग्री रोकिएपछि सहजीकरणका लागि व्यापारीहरूले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

तातोपानी भन्सार कार्यालयका प्रमुख गौतमले चीनबाट आएको स्वास्थ्य सामग्री केही दिन रोकिएको बताए । उनले भने, ‘चिनियाँ भन्सारमा रहेको सामान सरकारको सहजीकरणमा आउन शुरू भएको छ ।’

सरकारलाई ‘क्रेडिट’ लिन हतारो

आइतबार उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समिति (रासस) ले चीनबाट १८ हजार खाली सिलिन्डर नेपाल आइपुगेको भन्ने समाचार प्रकाशित गरेको थियो । सरकारी एजेन्सीले दिएको समाचार धेरै मिडियामा आयो ।

समाचारमा तातोपानी नाकामा आइपुगेको सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइने भनिएको थियो । तातोपानी नाकामा अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री त आयो तर त्यो चीन सरकारले अनुदानमा दिएको नभएर निजी क्षेत्रले ल्याएको जानकारी आयो ।

गलत प्रचार गरेर सरकारीले अग्रिम क्रेडिट लिन खोजेको देखियो ।

अनुदानको के हुँदैछ ?

गत वैशाख २२ गते नै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले चीन सरकारले अनुदानमा नेपाललाई उपलब्ध गराउने भनिएको ५ मिलियन चिनियाँ मुद्रा बराबरको स्वास्थ्य सामग्री ल्हासा आइपुगेको विज्ञप्तीमार्फत जानकारी गराएको थियो । जसमा २० हजार थान अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री छ भनिएको छ ।

दुई हजार थान सिलिन्डर हवाई मार्गबाट ल्याइए पनि अन्य सामान आएको छैन । उक्त सामग्री आउने प्रक्रियामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : १५ बजे

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन