कास्कीमा एक महिलाको मृत्यु, दर्जनौँ घर परिवार विस्थापित   « Khabarhub

कास्कीमा एक महिलाको मृत्यु, दर्जनौँ घर परिवार विस्थापित  



पोखरा– दुई दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पहिरोमा परि गण्डकी प्रदेशका अधिकांश जिल्ला प्रभावित भएका छन् । गण्डकी प्रदेशमा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ भने दर्जनौ घर परिवार विस्थापित भएका छन् ।

खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको छ । परियारको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

मनाङको तीन स्थानीय तहमा क्षति

बाढी पहिरोले मनाङ जिल्लाको तीन वटा स्थानीय तहमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

बाढीका कारण जिल्लाका तीन स्थानीय तहका २०० घरका एक हजार भन्दा बढी विस्थापित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ ।

यस्तै मर्स्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ ।

सेतीवेणीको नौ घर बगायो

अविरल वर्षापछि आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने सेतिवेणीका नौ घर बाढीले बगाएको छ ।

सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का ८ घर र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक घर  बाढीले बगाएको छ । कालीगण्डकी नदीको वहावले सेतिवेणीका १५ घरमा क्षति पुगेको छ ।

बागलुङका ११ घर परिवार विस्थापित

बर्षासँगै आएको पहिरोका कारण बागलुङमा ११ परिवार बिस्थापित भएका छन् ।

बागलुङको जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका छन् ।

जिल्लाको जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवार पहिरोको जोखिमका कारण घर छाडेका छन् ।

यस्तै, काठेखोला गाउँपालिका–७ रेशका तीन घर परिवार पनि पहिरोको जोखिममा परेपछि घर छाडेका छन् । उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् ।

म्याग्दीको जनजीवन प्रभावित,  बेनीको तटबन्ध भत्कायो

लगातारको वर्षाको कारण आएको बाढीले म्याग्दीमा जनजीवन प्रभावित भएको छ । कालीगण्डकी र म्याग्दी नदीको बाढीले बजार र बस्तीमा क्षति पुर्‍याएको छ ।

कालीगण्डकीको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । नदीको किनार नजीक रहेको जेसिज भवन देखि करिब एकसय मिटरमाथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।

कालीगण्डकी नदीको कटानले बेनी बजारको अस्पतालचोक, कालीपुल लगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ । अस्पतालचोक र कालीपुल क्षेत्रको सडक तथा बसपार्क बाढीले पुरिएर वगरमा परिणत भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारसमेत नदी कटानको जोखिममा परेको छ । जिल्लाको सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानी लगायतका नदीका तटिय क्षेत्रका बजार र बस्तीहरु नदी कटानको जोखिममा छन् ।

पहिरोले म्याग्दीका सडकहरु अवरुद्ध

म्याग्दीमा बर्षाको कारण बाढीपहिरोले राष्ट्रिय राजमार्गसँग जोडिने सबै सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा, बेनी–बाग्लुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् ।

अन्नपूर्ण– ५ घोस्केखोरमा ७, स्वातमा ३ र पाउद्वारमा घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

यस्तै, बेनी–२ बगरफाँटमा ९ घर तथा वडा नं ८ सल्लेरीमा ४ घर र बेनी–४ डाँडाखेतमा ३ घर परिवार पहिरोका कारण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाढीमा फसेका ९ जनाको उद्धार

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका ९ जनाको जेसीबीको सहायताबाट उद्धार गरिएको छ ।

मध्यनेपाल–६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनालाई जेसीबीको सहायतामा उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।

वर्षापछि रोपाइँमा गएका एकै परिवारका नौ जना दुई भङ्गालोको बीचमा फसेका थिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ९ : २० बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै