के हो प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली ? | Khabarhub Khabarhub

के हो प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली ?



काठमाडौँ– नेपालमा जल तथा मौसम विज्ञान विभागले वर्षा र मौसमसम्बन्धी पूर्वानुमानसहितको भविष्यवाणी गर्छ । यस्तो भविष्यवाणी आमनागरिक, नागरिक उड्डयन र पर्वतारोहणका लागि लक्षित गरिएको हुन्छ ।

नेपालले हालसम्म गर्ने गरेको सामान्यतया यस्तो भविष्यवाणीमा वर्षा र मौसमले कतिसम्म क्षति पुर्‍याउन सक्छ भन्ने कुरा समावेश हुँदैन । कहाँ बाढी आउन सक्छ, कहाँ पहिरो जान सक्छ, कहाँको बाटो अवरुद्ध हुन सक्छ, कुन बस्तीमा बढी असर पर्न सक्छ, कहाँ चट्याङ पर्नसक्छ भन्ने जस्ता सूचना समावेश हुँदैनन् ।

सम्भावित प्रभावको सूचना नहुँदा वर्षातको विपद्ले बढी क्षति पुर्‍याएको र त्यस्तो सूचना दिन सके क्षति कम गर्न सकिने निष्कर्षसहित ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ शुरू गरिएको छ । यस्तो सूचना प्रणाली पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा ९ जिल्लामा ३६ वटा स्थानीय तहमा कार्यान्वयन गरिएको छ ।

यो प्रणालीले कसरी काम गर्छ ?

‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ मा कुनै छुट्टै प्रविधि प्रयोग हुने होइन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागले हाल गर्दै आएको पूर्वानुमान प्रणालीअन्र्तत नै स्थानीयस्तरको सूचना प्राप्त गरेर ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ कार्यान्वयन गरिएको हो ।

यो प्रणाली ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ र ‘जल तथा मौसम विज्ञान विभाग’ को सहकार्यमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ लागु भएको हो । विभागले जल तथा मौसमसम्बन्धी सूचना जारी गर्छ भने प्राधिकरणले सम्भावित क्षतिका आधारमा आवश्यक पूर्वकार्य र पूर्वतयारी गर्छ ।

विभागकी मौसमविद् शान्ति कँडेलका अनुसार यस प्रणालीमा हाल स्थानीय तहमा कम्तीमा एक जना ‘फोकल पर्सन’ रहन्छन् । जल तथा मौसम विज्ञान विभागले ‘फोकल पर्सन’ मार्फत स्थानीय क्षेत्रको भौगोलिक तथा बसोबासको अवस्था, बाटो/सडक, यसअघि वर्षाले पुर्‍याउने गरेको क्षति लगायतका आवश्यक सूचना संग्रह गर्छ ।

ती सूचनाका आधारमा विभागले उक्त क्षेत्रका कुनकुन ठाउँमा मौसम र वर्षाले कस्तो असर पुर्‍याउन सक्छ भन्ने पूर्वानुमान गरेर फोकल पर्सनलाई जानकारी गराउँछ । फोकल पर्सनले प्रभावित हुनसक्ने ठाउँका मानिस र स्थानीय तहका अधिकारी लगायतलाई सूचना दिन्छन् ।

फोकल पर्सनले परिस्थितिको संवेदनशीलता अनुसार फोन वा इमलेबाट सूचना पाउँछन् र यस्तै प्रक्रियाले विभागमा सूचना पठाउँछन् । मौसमविद् कँडेल भन्छिन्, ‘फोकल पर्सनले विभागलाई दिने सूचनाको ठूलो महत्व हुन्छ, त्यही सूचनाका आधारमा विभागले सम्भावित असरको पूर्वानुमान जानकारी गराउने हो ।’

यसरी सम्भावित क्षतिको पूर्वसूचना दिने र क्षति न्यूनीकरण गर्ने प्रणालीलाई ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना प्रणाली’ भनिएको हो । यस्तो प्रणालीबाट भारी वर्षा हुनसक्ने ठाउँ, खोला/नदीमा बाढीको अवस्था, पहिरो जाने सम्भावना, स्थानीय जनजीवनमा हुनसक्ने क्षति लगायतको पूर्वानुमानको सूचना विभागले फोकल पर्सनलाई पठाउँछ ।

यस्तो सूचना प्रणालीले राम्ररी काम गर्न सक्यो भने क्षति न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने कँडेलको भनाइ छ ।

हाल यो प्रणाली सिन्धुपाल्चोक, गोरखा, रसुवा, बाग्लुङ, स्याङ्जा, म्याग्दी, दैलेख, जाजरकोट र कालीकोट गरी ९ जिल्लाका ३६ वटा स्थानीय तहमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा सञ्चालन गरिएको छ । मौसमविद कँडेलका अनुसार बुधबार विभागले सिन्धुपाल्चोकका चार वटा र रसुवाका चार वटा स्थानीय तहमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान सूचना’ पठाएको छ ।

उनका अनुसार ‘जल तथा मौसम विज्ञान विभाग’ यो प्रणाली कार्यान्वयबाट सिक्ने क्रममा छ । अनुभवका आधारमा परिष्कार गर्दै विस्तार गर्ने विभाग र प्राधिकरणको योजना छ ।

यो प्रणाली कार्यान्वयनका लागि प्राधिकरण र विभागको सहकार्यमा तालिम आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  २ : ०७ बजे

प्रचण्डको घरमा पैसा लुकाएको प्रचार गर्ने पूर्व एआईजीविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं – गलत प्रचार गरेको आरोपमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक

पर्सामा  महिलाको नाममा ३६३ घरेलु उद्योग सञ्चालन

पर्सा– सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया– अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

चितवन– तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ