मेड इन नेपाल मेरो स्वाग | Khabarhub Khabarhub

मेड इन नेपाल मेरो स्वाग


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेरो दिनचर्या यसै गरी बितिरहेको छ । गोल्ड स्टार जुत्ता लगाउँछु, ढाका टोपी भिर्छु, सकेसम्म स्पष्ट गरी कुनै अङ्ग्रेजी शब्द बिनै बोल्ने प्रयास गर्छु, लेख्छु । फेसबुक प्रोफाइलमा पछिल्लो दश वर्षदेखि नेपाली भाषामा सुयोग लेखेको छु । यो मेरो स्वाग नै हो, म हुँ नेपाली बाबु मेड इन नेपाल । यस हप्ता म मेड इन नेपाल स्वागको एउटा वास्तविक धरातलसँग परिचित भएँ ।

‘स्वाग’ के हो भन्नुहोला ! यो चाहिँ बहुतै स्थानीयकृत अन्तर्राष्ट्रिय शब्द हो । आफ्नो व्यक्तित्व र मौलिकताको माया गर्न आफ्नै खाले फरक शैली प्रादुर्भाव गर्न ‘स्वाग’ शब्दको प्रयोग भएको पाइन्छ । रजनीकान्त मौलिक पहिरनमा नाच्दा त्यो उनको स्वाग हुन्छ । सेलरोटी र दौरासुरुवाल मेरो स्वाग हुन सक्छ । अब आफ्ना पहिचानको माया गर्न पछि नपरौँ र त्यसलाई अघि बढाऔँ । ‘स्वाग’ शब्द म खबरहबका लागि मेरो लेखनमा प्रयोग गर्दैछु ।

‘स्वाग’ मेरो स्तम्भको नाम हुनेछ । आउनुहोस् आज यस स्वागको पहिलो संस्करणमा शुक्रबारे भेटघाट गरौँ ।

गत साताको बुधबार बैंकर साथी निरजले मेसेज गरे । उनी कार्यरत बैङ्कको लागि मैले लेख्ने गरेको छु । उनी मेरो रोजगारदाता र परममित्र दुवैको कम्बो प्याक हुन् । तराईबाट अर्का साथी ओमप्रकाश शाह काठमाडौँ आएका रहेछन् । उनीसँग भेट्ने वाचा थियो । ओमप्रकाशलाई उनको बाहन दरबारमार्ग छेउमा पार्क गर्न लगाएँ । म, अनमोल दाइ र ओमजी बानेश्वर लाग्यौँ । निरजजीसँगको भेटपछि हामी एउटा रेस्टुरेन्टमा बस्यौँ, ओमजीसँग भेटेरै चिनजान भयो अनि शुरू भयो त्यस हप्ताको नेपाली स्वाग ।

मैले सोचेको भन्दा निकै कम उमेरका ओमजी विदेशमा पढेर, नेपाल फर्केर व्यवसाय शुरू गरेका रहेछन् । सर्लाहीका ओमजी अहिले व्यवसायको सिलसिलामा परासीमा बस्दा रहेछन् र व्यावसायिक कामका लागि राजधानी काठमाडौँ आएका रहेछन् ।

ओमजीले शुरू गरेको नयाँ कारखानाको एउटा नयाँ उत्पादन रहेछ कागज । यहाँहरूलाई हेक्का दिलाऊँ, यहाँ मैले कुनै उत्पादनको प्रवद्र्धन गर्न लागेको होइन । यो कागजलाई ‘म मेड इन नेपाल’ को एउटा आधार स्तम्भका रूपमा प्रस्तुत गर्दछु । नेपालमा बनेको यो कागज, ए थ्री, ए फोर लगायत सबै साइजमा उपलब्ध छ । यही कागजको थोक बिक्रेता र बिक्री संयन्त्र बनाउन ओमजी राजधानी आएका बखत भेट भएको हो ।

मैले आफ्नो गोल्ड स्टार सुमसुम्याएँ । इमाडोलको एउटा खाल्डोमा गोडा जाकिएपछि टाँसिएको हिलो अझै पखाल्न पाएको थिइनँ । कालो जुत्ता मेरो राष्ट्रप्रेमको विम्ब भएको थियो ।

ओमजीले टेबलतर्फ देखाउँदै भनेँ, ‘यहाँ टेबलमा भएका सबै कुरा आयात गरिएको हो ।’ उनको र मेरो मोबाइल फोन, उनको पावर बैङ्क, गाडीको साँचो अनि पानी खाने ग्लासमा पनि ‘मेड इन चाइना’ लेखिएको थियो ।

धान फल्ने खेत बाँझै राखेर ‘मेड इन बङ्गलादेश’ चामलको बोरा खोलेको दृश्य त हाम्रो गाउँमा मैले देखिसकेँ । ओमजी कागजको विषयमा कुरा गर्न थाले । म घरी उनको अनुहार र घरी सडकमा गुडेका गाडी हेर्छु । अर्बौं रुपैयाँको कागज आयात गर्ने मेरो देश र सरकारले किन ओमप्रकाशको उत्पादन र बजार व्यवस्थापनमा सहजीकरण गर्दैन !

कतै मेड इन नेपालको ट्याग बोकेर उपभोक्तालाई बढी मूल्यको भार बोकाउने त होइन ! पुँजीवादको रमाइलो कुरा नै प्रतिस्पर्धात्मक मूल्य र विकल्पहरूमा उपभोक्ताको छनौट हो । ओमजीको उत्पादनको मूल्य कस्तो छ भन्ने कुरा मनमा उब्जियो ।

मेलै सोधेँ, ‘ओमजी तपाईंको उत्पादनको मूल्य प्रतिस्पर्धात्मक छ त ?’

आखिर किन हामी नेपालीले, हाम्रो निर्वाचित सरकारले अनि हाम्रो सभ्य समाजले आफ्नै देशको उत्पादनलाई प्रश्रय दिन सकेका छैनौँ ? किन दिँदैनौँ ? सोच्नुपर्ने बेला भएको छ ।

उनले जवाफ दिए, ‘म बजारमा अहिले भएको भन्दा कम मूल्यमा बढी गुणस्तरको कागज बेच्न सक्दछु ।’

क्यानडामा पढेर आएका ओमजी आत्मविश्वासका साथ बोल्दै छन् । उनलाई अब ब्रान्डिङ र उत्पादनको बजारधारणा राम्रो बनाउन हाम्रो मद्दत चाहिएको छ । निरज र ओमजी पहिलेदेखिकै साथी हुन् । मलाई ओमजी साथीको साथी भएर भन्दा पनि एक जना व्यवसायी र मुख्यतया नेपाली उत्पादनलाई महत्व दिने ‘मेड इन नेपाल’ का प्रवर्तकका रूपमा उनलाई भेट्दा स्वाद लाग्यो ।

आखिर किन हामी नेपालीले, हाम्रो निर्वाचित सरकारले अनि हाम्रो सभ्य समाजले आफ्नै देशको उत्पादनलाई प्रश्रय दिन सकेका छैनौँ ? किन दिँदैनौँ ? सोच्नुपर्ने बेला भएको छ ।

ओमजी केवल प्रतिनिधि पात्र हुन् । हामीले त विदेशी उत्पादनसँग विरलै प्रतिस्पर्धा गर्न सकेको इलामेली चकलेटदेखि जनकपुर चुरोट कारखानासम्म देखेका छौँ । गोरखकाली रबर उद्योग अझै रुँदैछ । हेटौँडा सिमेन्टको फेहरिस्त निकै लामो हुन्छ ।
कि त विदेशी उत्पादनबाट कमिसन मोह होला, कि त सरकारी र सार्वजनिक सम्पत्ति मास्दै निजी पोस्ने जाल होला ! यसबाट ‘मेड इन नेपाल’ को सार मरेर गएको छ ।

ओमजीले ठिक भनेका हुन्, नेपालका हरेक टेबलमा विदेशबाट आयात गरिएका सामानहरू छन् । हामीले स्वदेशी उत्पादन प्रवद्र्धन सकेका छैनौँ । यसरी त नेपाली स्वाग कायम रहँदैन ।

ओमजी हार मानेर फेरि क्यानडा फर्के भने एउटा नेपाली सपनाको मृत्यु हुनेछ । ओमजस्ता धेरै व्यवसायीहरूले देखेका यस्ता सपनाले नेपाललाई आत्मनिर्भर बनाउनेछ, व्यापार घाटा न्यूनीकरण गर्नेछ अनि ‘नयाँ नेपाल’ साकार हुनेछ ।

हामी किन नेपाल एयरलाइन्सको जहाज चढ्न हिच्किचाउँछौँ ? हामीलाई किन गोर्खा र नेपाल आइसभन्दा बडवाइजर र हेनेकेन मिठो लाग्छ ? मैले अफिस फर्केपछि अब उप्रान्त प्रिन्टरमा पेपर किन्न परे ‘फलाना’ किन्नु है भनेँ । अहिलेलाई मैले गर्न सक्ने यति थियो ।

सरकार र राजनीतिक नेतृत्वले आफ्नो देशको उत्पादनको अवहेलना गरे पनि व्यक्तिगतरूपमा हामी त प्रश्रय दिन सक्छौँ नि ! सबै मिलेर अब नेपाली उत्पादनलाई प्रश्रय दिने वाचा गरौँ । स्वदेशी उत्पादन प्रयोग गर्नुजस्तो ठूलो स्वाग अरू के होला र !

म अब ओमजीका लागि रोचक र भावनात्मक विज्ञापनका कन्सेप्टहरू लेख्नेछु । ओमजीले पैसा कमाऊन् भन्ने एउटा पक्ष होला तर मलाई कमसेकम एउटा कुरामा भए पनि मेरो देश आत्मनिर्भर होओस् भन्ने लोभ छ । अरे यार ! शुरू त गरौँ !

ओम परासी फर्किसके । उनीसँगको भेटको सार आजका लागि नेपाली स्वागमा पस्केँ । हरेक शुक्रबार खबरहबमा स्वाग आउने छ ।
सबैको जय होस् !

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ०२ बजे

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा- झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं– मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा

त्रिभुवन विश्वविद्यालयको भाँडभैलोले उठाएको प्रश्न- कक्षाकोठामा को जाने ?

कुलपति विरुद्ध नाराबाजी लागेको भन्ने कुरा त मैले मान्दिन किनभने

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन