माग बमोजिम उत्पादन नहुँदा महँगिदैछ कफी | Khabarhub Khabarhub

माग बमोजिम उत्पादन नहुँदा महँगिदैछ कफी



काठमाडौँ– नेपालमा वार्षीक २ हजार मेट्रिक टन कफीको आवश्यकता छ । तर वार्षीक ४ सय मेट्रिक टन मात्र उत्पादन हुन्छ ।

स्वदेशी उत्पादनले धान्न नसक्दा हरेक वर्ष कफीको आयात हुने गरेको छ । खपत बढी र उत्पादन कम हुँदा उपभोक्ताले महँगोमा कफी पिउनुपर्ने बाध्यता छ ।

यसका लागि व्यावसायिक रुपमा कफी खेतीको विस्तार गर्नुपर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार अहिले देशभर ३ हजार ५३ रोपण क्षेत्रमा वार्षीक ३ सयदेखि ४ सय मेट्रिक टन कफी उत्पादन हुन्छ । जसमा देशभरका ३१ हजार ३ सय ४० किसान संलग्न छन् ।

कफी उत्पादन गर्न सकिने ६ वटा प्रदेशमा सम्भाव्य अध्ययन गरेर कफी खेती विस्तार गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षलाई छुट्टै कार्यक्रम तय गरेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई बताउँछन् ।

‘युवा लक्षित कफी विस्तार कार्यक्रम बनाउने योजना बनाएका छौँ’ उनले भने, ‘२ नम्बर प्रदेश बाहेक अन्य ६ वटै प्रदेशमा यो कार्यक्रम कार्यन्वयन गर्ने सरकारको लक्ष्य छ ।’

यस्तो छ कफीको न्यूनतम सहमत मूल्य

आज १७ औँ राष्ट्रिय कफी दिवस । बोर्डले हरेक वर्ष कफी दिवसका अवसरमा न्यूनतम सहमत मूल्य निर्धारण गर्ने गरेको छ ।

बोर्डले लागत मूल्यलाई आधार मानेर यसको मूल्य निर्धारण गर्ने गर्छ । किसानलाई २० प्रतिशत मुनाफा सुनिश्चित राखेर मूल्य निर्धारण गर्ने गरेको बोर्डका कार्यकारी निर्देशक भट्टराई बताउँछन् ।

सरकारले २०६८ सालमा फ्रेस चेरी ‘ए’ को न्यूनतम सहमत मूल्य प्रतिकेजी ३५ रुपैयाँ तोकेको थियो । हाल आइपुग्दा फे्रस चेरी ‘ए’ को मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।

त्यस्तै फे्रश चेरी ‘बि’ को न्यूनतम सहमत मूल्य ८० रुपैयाँ प्रतिकेजी रहेको छ । पार्चमेन्ट ‘ए’ को ४ सय ५० रुपैयाँ प्रतिकेजी छ भने पार्चमेन्ट ‘बि’ को ३ सय ९७ रुपैयाँ प्रतिकेजी छ ।

त्यसैगरी ड्राइचेरी ‘ए’ को मूल्य १४८ रुपैयाँ र ‘बि’ ९५ रुपैयाँ प्रतिकेजी रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाइएको छ ।

कफी उत्पादनको अवस्था

४२ जिल्लामा व्यवसायिक रुपमा कफीको खेती भइरहे पनि यसको उत्साहजनक उत्पादकत्व भने देखिदैँन ।

चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७१-०७२ मा २ हजार ३४१ रोपण क्षेत्रमा ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७२-७३ मा थोरै बढेर २ हजार ६१८ रोपण क्षेत्रमा ४ सय ३२ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

आर्थिक वर्ष ०७३-७४ मा २ हजार ६१८ रोपनी क्षेत्रमा ४ सय ६६ मेट्रिक टन र ०७४-७५ मा २ हजार ६ सय ५० रोपण क्षेत्रमा ५ सय ३० मेट्रिक टन उत्पादन भएको थियो ।

त्यस्तैगरी आर्थिक वर्ष ०७५-०७६ मा रोपण क्षेत्रसँगै कफी उत्पादन केही बढेको देखिन्छ । सो वर्ष २ हजार ७६१ रोपण क्षेत्रमा ५३० मेट्रिक टन उत्पादन भएको छ ।

आर्थिक वर्ष ०७६-०७७ मा कफीको उत्पादन घटेको छ । २ हजार ३६० रोपण क्षेत्रमा लगाएको कफीको उत्पादन २ सय ९६ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष भने ३ हजार ५३ रोपणमा लगाइएको कफीको उत्पादन ३ सय १४ मेट्रिक टन छ ।

७ वर्षमा ६३ करोडको कफी निर्यात

पछिल्लो ७ वर्षमा ६३ करोड ८६ लाख ८६ हजार रुपैयाँको कफी निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१-०७२ मा ९ करोड ९१ लाख ७६ हजार रुपैयाँको ९९ मेट्रिक टन कफी निर्यात भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७२ -०७३ मा १० करोड ७९ लाख १ हजार रुपैयाँमा १ सय ११ मेट्रिक टन कफी निर्यात भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष ०७३ -०७४ मा ८ करोड ४५ लाख ३८ हजार रुपैयाँको ९४ मेट्रिक टन, ०७४ -०७५ मा ९ करोड ३७ लाख २५ हजार रुपैयाँको ८४ मेट्रिक टन कफीको निर्यात भएको छ ।

आर्थिक वर्ष ०७५ -०७६ मा ९ करोड ९६ लाख १६ हजार रुपैयाँको ८४ मेट्रिक टन, ०७६ -०७७ मा ५ करोड ७७ लाख २८ हजार रुपैयाँको ४६ मेट्रिक टन कफी विश्वबजारमा पुगेको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्षमा ९ करोड ६० लाख ३ हजार रुपैयाँको ७२ मेट्रिक टन कफी निर्यात भएको छ ।

७ वर्षमै ४५ करोडको कफी आयात

कफी निर्यातसँगै आयातमा पनि धेरै रकम बाहिरिने गरेको छ । विभागको तथ्याङ्क हेर्दा प्राय वार्षिक ५ करोडदेखि ११ करोड रुपैयाँ कफीका लागि अन्तराष्ट्रिय बजारमा पुग्ने गर्छ ।

पछिल्ला केही वर्षयता कफीको आयात बढेको छ । आर्थिक वर्ष २०७१ -०७२ मा २ करोड ४९ लाख ९१ हजार रुपैयाँको ६३ मेट्रिक टन कफी आयात भएको थियो ।

तथ्याङ्कअनुसार ०७२ -०७३ मा ५ करोड ५५ लाख, ०७३ -०७४ मा ५ करोड ४० लाख, ०७४ -०७५ मा ६ करोड ५८ लाख, ०७५ -०७६ मा ९ करोड ८० लाख रुपैयाँको कफी आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष ०७६ -०७७ मा ११ करोड ८८ लाखको कफी आयात भएको छ भने गत आर्थिक वर्ष १० करोड ७६ लाख रुपैयाँको कफी आयात भएको तथ्याङकमा उल्लेख छ ।

यस्तो छ कफी खेतीको इतिहास

नेपालमा वि.स. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए ।

यसैक्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लाहरुमा कफी खेतीको विस्तार हुँदै गएको पाइन्छ ।

भौगोलिक हावापानी र माटोका हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएसँगै पूर्वका इलाम, झापा, संखुवासभा, पाँचथर, धनकुटा, भोजपुर, ओखलढुंगा लगायतका जिल्लामा व्यावसायिक कफी खेतीको सुरुवात भएको देखिन्छ ।

नेपालमा कफी उत्पादनको सम्भावना धेरै छ । तर उत्पादन निकै कम छ ।

यसमा अराबिका वर्णका टिपिका र बर्बन जातका कफी मात्र उत्पादन भइरहेको छ । जसकारण उत्पादकत्व कम भएको पाइन्छ । अन्य जातका कफी लगाउने हो भने उत्पादन बढ्न सक्ने देखिन्छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : १६ बजे

झापाबाट एघार करोडको चिया निर्यात

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

काठमाडौं– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कू’ प्रयास

पोखरिया अस्पताल ५० शै्यामा स्तरोन्नति हुँदै

वीरगञ्ज – सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर