एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस आउने « Khabarhub

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस आउने


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो ।

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ । ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागी भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । मुग्लिनतर्फबाट आउने सहभागी आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने छ ।

माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सहभागी हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौलीलगायत क्षेत्रबाट आउने सहभागीलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका–१६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागी बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिइन्। कालिका नगरपालिका र भरतपुर महानगरपालिका–११ तर्फबाट आउने सहभागी विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई गैँडाकोटबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने सवारीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

जुलुसमा सहभागिताका लागि नेतृत्वकर्तालाई निर्देशनसमेत जारी गरिएको छ । उनीहरुलाई के–कसरी सहभागी गराउने, व्यवस्थित र मर्यादित बनाउने भन्नेबारे निर्देशन दिइएको हो । नेकपा एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।

महाधिवेशनको उद्घाटनसत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ । एमालेको १०औँ महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । उनीहरु बस्नका लागि सौराहास्थित क्षेत्रीय होटल सङ्घसँग तीन हजार पाँच सय जना अट्ने कोठा सम्झौता गरिएको छ ।

सौराहामा ६ हजार ५०० जना अट्ने क्षमता छ । अन्य कोठा पार्टीका नेता–कार्यकर्ताले बुकिङ गरिसकेको सङ्घले जनाएको छ । प्रतिनिधिभन्दा बढी महाधिवेशन घुम्न र हेर्न आउनेहरू हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : ५० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा