आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने « Khabarhub

आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ ।

मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो ।

आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछौँ ।”

यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी बाजा बजाएर हुल गर्दै मच्छिन्द्रनाथ लिन नजान आग्रह गरिसकेको शाक्यले जानकारी गराए ।

बिहान ६:५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, “बुङ्मतीका मानिस आएर लोकेश्वरलाई लाने चलनानुसार आएर लानु हुनेछ ।”

मुलुकमा कोरोना कारण सङ्क्रमणका साथै मृत्युदर पनि बढ्दै जाँदा लोकेश्वरलाई बुङ्मती पठाउँदा सुरक्षा व्यवस्था कडा गरिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताए ।

उनले भने, “सदियौँ वर्षदेखि चलाउँदै आएको परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि पटक–पटक हामीले क्षमापूजा गराइरहेका छौँ । यसैगरी आज बिहान पनि क्षमापूजा गरियो ।” बिग्रँदो मौसम र समयका कारण भोटोजात्रा भने गर्न नसकेकोमा वलीले दुखेसो गरे ।

गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर सोह्रखुट्टे पाटीसम्म रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो ।

त्यसैगरी बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने चैतकृष्ण प्रतिपदाका दिन रक्तवलोकेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ११ : ४५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग