बाढीजन्य विपदबाट जोगिन बाँकेमा पूर्वतयारी « Khabarhub

बाढीजन्य विपदबाट जोगिन बाँकेमा पूर्वतयारी


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेका स्थानीय तहले बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी थालेका छन् । जिल्लामा राप्ती नदी, मानखोला र डुडुवाखोलामा आउने बाढीले ठूलो धनजनको क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क बनाउँदै पूर्वतयारी गरिएको छ ।

खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले बाढी र डुबानविरुद्ध पूर्वतयारी थालेको छ । गाउँपालिका भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट विभिन्न वडामा हुन सक्ने क्षति तथा प्रभावबारे अनुमान गर्दै पूर्वतयारी थालेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्धार, राहत, खाना, बस्न र औषधि उपचारलगायत व्यवस्थापन गर्ने तयारी गरिएको जनाउँदै उहाँले गाउँपालिकाका राजनीतिक दल, नागरिक अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सम्बद्ध सदस्यबाट प्राप्त सुझावका आधारमा गाउँपालिका व्यवस्थापनमा लागेको बताए ।

खजुरा भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट जुनसुकै बेला पनि क्षति पुग्ने भएकाले खोला छेउको बस्तीका बासिन्दालाई सावधानी अपनाउन गाउँपालिका अध्यक्ष कक्षपतिले अनुरोध गरेका छन् ।

राप्ती नदीमा आउने बाढीले हुन सक्ने क्षति न्यूनीकरणका लागि राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पनि आवश्यक पूर्वतयारी गरेका छन् । बाढीजन्य विपद्को उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकामा राप्ती नदीले हरेक वर्ष डुबान तथा कटानको समस्या र जोखिम निम्त्याउने भएकाले बाढीजन्य प्रकोपबाट जोगिनका लागि जोखिमयुक्त स्थानको पहिचान गरी योजनाअनुसार काम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए ।

बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोतसाधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनले बाढी तथा प्रकोपको पहिलो सामना गर्ने स्थानीय तह नै भएको जनाउँदै बाढीजन्य प्रकोपबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्नका लागि विशेष योजना निर्माण गरी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए ।

गाउँपालिकाकोे विपद् जोखिम प्रतिकार्य योजनाअनुसार स्थानीय तहले पूर्वतयारी गरिरहेको जानकारी गराउँदै उनले जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य गर्ने बताए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ५४ बजे

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,

हेटौंडामा सडक छेउका घर-संरचनाहरू भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका