कोरोना भाइरस : बेलायत र सिङ्गापुरमा विश्वदृष्टि | Khabarhub Khabarhub

कोरोना भाइरस : बेलायत र सिङ्गापुरमा विश्वदृष्टि


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस महामारी शुरू भएको १८ महिनापछि संसारका धनी देशहरू यो सितिमिति अन्त्य नहुने कुरामा सहमत भएका छन् ।

पछिल्लो समय तीव्र गतिमा भइरहेको भ्याक्सिनेसनका कारण अस्पताल जानुपर्ने र मर्ने क्रममा कमी आएको छ । कुनै न कुनै रूपमा यो भाइरस हामीमाझ रहिरहने भएपछि यस विषयमा धेरै देशका दृष्टिकोण फेरिएका छन् ।

यहाँ दुई फरक परिवेशका देशका उदाहरण प्रस्तुत गरिएको छ । जो संसारका धेरै देशका लागि मननयोग्य हुनसक्छ । ५६ लाख ९० हजार जनसङ्ख्या भएको सिङ्गापुर र लगभग ६ करोड ६० लाख जनसङ्ख्या भएको बेलायतका बीचमा महामारीको अनुभव र असर फरक छ ।

जोन हाप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार महामारी शुरू भएपछि यसैका कारण बेलायतमा १ लाख २९ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सिङ्गापुरमा ३६ जनाले ज्यान गुमाए । बेलायतमा एक लाख जनसङ्ख्यामा १९२.६४ जनाको दरले ज्यान गयो, सिङ्गापुरमा १ लाखमा ०.३६ जनाको मात्रै ज्यान गयो ।

सन् २०२० को ग्रीष्मकालमा भाइरस फैलिँदो क्रममा रहँदा बेलायत मास्क अनिवार्य गर्न र अन्य विधि अपनाउन ढिला भएको थियो । यही समयमा सिङ्गापुरले सीमा बन्द गरेर कन्ट्याक्ट ट्रेसिङ र परीक्षण प्राथमिकतामा राखेर क्वारेन्टिइन व्यवस्थित बनाएको थियो । अहिले तीव्र गतिमा भ्याक्सिन दिएपछि यी दुई देश कसरी अघि बढ्लान् भनेर अन्य देश हरेका छन् ।

गत जुनमा सिङ्गापुरका नीति निर्माताहरूले तयार पारेको नयाँ रोडम्याप ‘न्यु स्ट्रिट जर्नल’ मा प्रकाशित भएको थियो । उनीहरूले जिरो कोभिडको पुरानो अवधारणा छाड्दै ‘न्यु नर्मल’ को नयाँ स्वरूप तयार गरेका छन् ।

एसिया प्रशान्त क्षेत्रमा जिरो कोभिड रणनीति अवलम्बन गरिएको थियो । यसकारण यस क्षेत्रमा महामारीका कारण मानवीय क्षतिमा कम देखिएको थियो । शुरूवाती चरणमा कम क्षति भएका कारण यो क्षेत्रमा धेरैको आँखा परेको छ ।

पहिलो कोभिड सङ्क्रमण रोक्न प्रयास गर्ने सिङ्गापुरले भ्याक्सिन वितरणको अभियानसँगै अस्पतालको संरचनामा ध्यान दिएको छ । अक्सिजन र आइसीयूको उचित प्रबन्ध, अस्पतालको क्षमता अभिवृद्धि लगायतमा सिङ्गापुरले प्राथमिकता दिएको छ ।

सिङ्गापुरको यो नीतिले अब कोरोना सामान्य रुघा या ठेउला जस्ता रोगको रूपमा रहन्छ भन्ने ठानेको छ । सिङ्गापुरपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि अब कोरोना भाइरस सामान्य रुघाजस्तै हामीले स्वीकार गरेर बस्ने खालको हुने कुरा बताए । बेलायतले कोरोना नियन्त्रणका सबै मापदण्डहरू हटाएको छ । मास्क र सामाजिक दूरीको अनिवार्यता पनि हटाउन लागेको छ ।

बेलायतमा अहिले ६६ प्रतिशत वयस्कले दुवै डोज भ्याक्सिन लगाइसकेका छन् । यसकारण गम्भीर लक्षणको बिरामीको सङ्ख्या घटेको छ । बेलायतले नयाँ तयारी गरे पनि गत शुक्रबार ५२ हजार नयाँ सङ्क्रमति भेटिए,  ४९ जनाको ज्यान गयो ।

प्रधानमन्त्री जोन्सनको नयाँ नीतिबारे बेलायतमै मत विभाजित छ । जोन्सनको सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले समर्थन गरेका भए पनि स्वास्थ्य क्षेत्रका सरोकारवाला र वैज्ञानिकहरूले आलोचना गरेका छन् । उनीहरूले भ्याक्सिन पाउनै पर्ने १ करोड ७० लाख व्यक्तिले अझै नपाएको समयमा सरकारले जोखिम लिएको छ ।

लन्डनको इम्पेरियल कलेजमा कोभिड–१९ ट्रान्समिसनको अनुसन्धाता डा. ओलिभर वाटसनले बेलायतमा डेल्टा भेरिएन्टको सङ्क्रमण बढेको यो समयमा सबै खुला गर्न नहुने धारणा राखेका छन् । उनले सिङ्गापुरको भन्दा फरक अवस्था रहेका कारण बेलायतले सबै खुला गर्न नहुने सुझाव दिएका छन् ।

महामारीका कारण बेलायतमा १ लाख २९ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सिङ्गापुरमा ३६ जनाले ज्यान गुमाए । बेलायतमा एक लाख जनसङ्ख्यामा १९२.६४ जनाको दरले ज्यान गयो, सिङ्गापुरमा १ लाखमा ०.३६ जनाको मात्रै । 

सिङ्गापुरमा अहिले प्रतिदिन सरदर २६ जनामात्रै सङ्क्रमित फेला परे पनि सबै खुला गर्ने मिति तय भएको छैन । सिङ्गापुरका स्वास्थ्यमन्त्री ओङ ये कङले बेलायत लगायत अन्य देशले खुला गरेपछि आउने परिणाम पर्खिएर बसेको बताएका छन् । उनले आफूहरू मध्यमार्गी बाटोमा जान सक्ने बताए । सबै खुला गर्ने नभई धेरै जनालाई भ्याक्सिन दिने र क्रमिकरूपमा खुला गर्दै जाने नीति रहेको उनले बताए ।

सिङ्गापुरमा ४० प्रतिशतले जनसंख्याले दुवै डोज भ्याक्सिन पाएका छन् । सरकारले ९ अगस्टसम्ममा तीन चौथाइलाई भ्याक्सिन लगाइनसक्ने जनाएको छ । बेलायतले अझै टिनहरूलाई भ्याक्सिनका लागि अनुमति दिएको छैन ।

सिङ्गापुरका स्वास्थ्यमन्त्री ओङले सबै एकै पटक खुला गर्ने पक्षमा नरहेको बताएका छन् । भ्याक्सिनेसन अनुसारमात्र खुला गर्दै जाने योजना रहेको उनको भनाइ छ । सिङ्गापुर नै अनकनाइरहेको समयमा बेलायतमा सबै क्षेत्र खुला हुन लागेकोमा धेरैले चिन्ता प्रकट गरेका छन् ।

बेलायतमा गत सातामात्र सयजनाभन्दा बढी चिकित्सक र वैज्ञानिकहरूले सबै क्षेत्र खुला गर्ने निर्णयले भ्याक्सिन नलगाएका बालबालिकाहरूमा गम्भीर असर गर्न सक्ने चेतावनी दिएका छन् । यो नीतिले म्युटेसन बढ्ने र नयाँ भेरिअन्ट निस्किँदै जाने उनीहरूको चेतावनी छ । यसरी खुला गर्नु संसारकै लागि घातक हुने र नैतिक पनि नहुने चेतावनी चिकित्सकहरूको छ ।

चिकित्सकको चेतावनीलाई बेवास्ता गर्दै प्रधानमन्त्री जोन्सनले सबै खुला गर्ने आफ्नो योजनामा अडिग रहेको जनाएका छन् । विद्यालय बिदा रहेकाले बालबालिकामा फैलिने जोखिम कम रहेको उनको जिकिर छ ।

उनले मास्क अनिवार्य नहुन सक्ने बताउँदै सार्वजनिक स्थानमा मास्क लगाउने र सुरक्षित हुने जिम्मेवारी व्यक्ति स्वयंको हुने प्रष्ट पारेका छन् । फेरि संक्रमण र मृत्युदर बढेमा आमनागरिकमाथि दोष थोपर्न प्रधानमन्त्रीले यसो भनेको आरोप स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको छ ।

सङ्क्रमण एक्कासि बढ्ने र अस्पतालको चाप बढ्दै जाँदा भ्याक्सिन लगाएकाहरू पनि असुरक्षित हुनसक्ने चेतावनी पनि चिकित्सकहरूको छ ।

बेलायतको भन्दा सिङ्गापुरको अवस्था बढी बलियो छ । आमनागरिक सङ्क्रमणप्रति बढी सचेत छन् । सरकारले जारी गरेका हरेक स्वास्थ्य मापदण्ड अनुशासित भएर पालना गरेका छन् । गएका १८ महिनामा त्यहाँ भएको कम क्षतिको कारण पनि यही हो ।

यो सानो टापुमा अन्य धेरै देशको भन्दा केही फाइदा पनि छन् । थोरै जनसङ्ख्या भएको कारण हरेक नियममा कडाइ गर्न पनि सहज वातावरण छ । सन् २००३ मा त्यहाँ सार्स रोग फैलिएको थियो । यसको नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र क्वारेन्टिनको अनुभव छ । यसले अहिले सहयोग गरेको छ ।

नेसनल युनिभर्सिटी अफ सिङ्गापुरका सरुवा रोग विशेषज्ञ प्राध्यापक डेल फिसरका अनुसार चीनमा संक्रमण देखिएपछि नियन्त्रणको तयारी गर्नेमा सिङ्गापुर पहिलो देश हो । सिङ्गापुरको सफलताको मुख्य कारण त्यहाँको विस्तृत र आक्रामक कन्ट्याक्ट ट्रेसिङ नै हो । यसमा ‘ब्लु टुथ’ को माध्यमबाट ‘वायरलेस प्रविधि’ प्रयोग गरिएको थियो ।

एउटा एपबाट यसले सङ्क्रमितको चाँडो पहिचान गरी उसलाई आइसोलेट गराउन सहयोग गरेको थियो । पसल र कुनै सार्वजनिक स्थानमा जान एप अनिवार्य गरिएको थियो ।

सिङ्गापुरको यो नीति विवादरहित भने भएन । प्रहरीले अपराध अनुसन्धानमा पनि यही एप प्रयोग गर्न थालेपछि गोपनीयता भङ्ग हुन थालेको गुनासो सर्वसाधारणबाट आएको थियो ।

अहिले पूरै खुला गर्न सिङ्गापुरले भ्याक्सिनेसलाई आधार बनाएको छ । त्यहाँको सरकारले हर्ड इम्युनिटीका लागि ९० देखि ९५ प्रतिशत इम्युन हुन आवश्यक ठानेको छ । यदि ८० प्रतिशत इम्युन भएपछि हर्ड इम्युनिटी विकास भयो भने सबै खुला गर्न सहज हुने योजना सिङ्गापुर सरकारको छ ।

सिङ्गापुरमा एक ठाउँमा ५ जनाभन्दा बढी भेला हुन पाइँदैन । बेलायतमा भने अवस्था फरक छ, ३० जनासम्म जम्मा हुन पाइन्छ । सिङ्गापुरमा अहिले पनि कोही प्रवेश गरेपछि १४ दिन क्वारेन्टिन अनिवार्य छ । जुलाईको अन्त्यदेखि भ्याक्सिन पूरा गरेको आठ जनासम्म एक ठाउँमा भेला हुन दिने भनिएको छ ।

जिमखाना, रेस्टुरेन्ट र सैलुनमा काम गर्नेले प्रत्येक १५ दिनमा परीक्षण गराउनुपर्नेछ । यी सबै तयारी र भ्याक्सिनेसका बाबजुद सिङ्गापुरलाई कतै अस्पतालमा अन्य रोगको उपचार गराइरहेकाहरूमा सङ्क्रमण फैलिएर बचाउन कठिन हुने हो कि भन्ने चिन्ता छ । यसकारण सिङ्गापुर अझै पनि धेरै खुला गर्नेमा कठोर रहेको छ ।

सिङ्गापुरले सबै खुला गर्ने हिम्मत नगर्नुको कारण संयुक्त अरब इमिरेट्स (यूएई) को उदाहरण पनि एक हो । यूएईमा इनडोर जमघट खुला गरिएपछि डेल्टा भेरिअन्ट फैलियो । यसपछि जमघटको हुन पाउने निर्णय फिर्ता गरेर सावधानी अपनाइएको छ ।

कोरोना महामारीमा एसियाली देशहरू सिङ्गापुर, थाइल्यान्ड, बहराइन, यूएई लगायतले संसारका शक्ति राष्ट्रभन्दा अब्बल देखिए । थुप्रै जनसङ्ख्यामा भ्याक्सिन वितरण भए पनि सबै कुरा खुला गर्नु र सावधानी नअपनाउनु कति जोखिमपूर्ण छ भन्नेमा त्यहाँका सरकार र स्थानीय उत्तिकै सचेत छन् । पूर्वी एसियाको उदाहरण संसारका सबै देशका लागि शिक्षा हुन सक्नेछ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर