काठमाडौँ– ‘हनी ट्रयाप’मा पारेर लाखौँ रुपैयाँ असुल्न खोजेको अभियोगमा तीन जना महिलालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३२ की सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही उप-महानगरपालिका वडा नं.-५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् ।
बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ शुरु गरेर १८ लाखमा कुरा टुङ्ग्याएको पीडिते जाहेरी दिएपछि दाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पीडितबाट लिएको एक लाख रुपैयाँ उनीहरुले व्याजमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक समेत बरामद गरेको जनाएको छ ।
घटनाको विवरण
गत असार ६ गते दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ बस्ने सीतादेवी थापा र सोही स्थानकी खुमा वलीले परिवर्तित नामथर भद्र बहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्धा छ तपाई कानूनको बारेमा जानेको मान्छे मिलाइदिनुपर्यो भनी कोहिनुर रेष्टुरेन्टमा बोलाई सोही होटलको क्याबिन कोठामा बसीसेर बियर मासु खाएका थिए ।
जाहेरीवाला रात परेपछि घर जान खोज्दा निज प्रतिवादी मध्येकी सीतादेवी थापा सोही होटलको खाटमा पल्टिएको जाहेरीमा उल्लेख छ ।
जाहेरवालाले होटेलमा खाएको चिया र बियरको पैसा तिरिसक्दा पनि उनी होटेलबाट ननिस्किएपछि पुनः जाहेरीवाला सोही कोठामा जाँदा सीतादेवीले तथानाम गाली-गलौज गरी तैले मेरो ईज्जतमा हात हाल्ने, तलाई अब म छोड्दैन, जबरजस्ती करणीमा मुद्दा हाल्छु भनेर फसाउन खोजेको जाहेरी जनाइएको छ ।
बादविवादपछि उनीहरु घर गए पनि भोलिपल्ट प्रतिवादी मध्येकी खुमा वलीले निवेदकलाई फोन गरी सीतादेवी थापासँगको केश मिलाउनुपर्यो उनका ठूला वडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछन् भनेर धम्क्याएको खुलेको छ ।
निवेदकले यस्ता कुराले गर्दा आफ्नो मान प्रतिष्ठामा आच आउँछ भनी निजहरुले बोलाएको सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लज होटलमा गई सीतादेवी थापा, खुमा वली र उनीहरुको साथमा रहेकी सुष्मा परियारसँग भेट भएको र पैसाको बार्गेनिङ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले पीडितलाई बारम्बार धाक धम्की दिइँ शुरुमा ५० लाख रुपैयाँ माग गरेको देखिन्छ । निवेदकले त्यती रकम छैन भनेपछि उनीसँग भएको नगद रु.१ लाख तत्काल लिई बाँकी रहेको १७ लाखको सिभिल बैँकको चेक लिएको जाहेरीमा उल्लेख छ ।
उक्त जाहेरीपछि प्रहरीले तीनै जना महिलाई पक्राउ गरी सार्वजनकि गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका तीनै जनामध्ये सीतादेवी थापा बस्दै आएको कोठामा खानतलासी गर्दा १७ लाखको सिभिल बैंकको चेक बरामद गरेको जनाएको छ ।
पीडितसँग लिएको नगद रु १ लाख सीतादेवीले ब्याजमा लगाई सकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया