चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे ।

निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उनले नजिकबाट नियाल्ने अवसर पाए । उनीसँगै उक्त जिपमा रहेका अरुले पनि यो अवसर प्राप्त गरे । एकसिङ्गे गैँडाका लागि प्रख्यात निकुञ्जमा भाग्यमानीले मात्रै बाघ देख्न पाउने भए पनि यतिबेला निकुञ्ज घुम्न जाने धेरैले बाघ देखेको बताउने गरेका छन् ।

घिमिरेले भने, “अहिले निकुञ्ज घुम्न जाने धेरैले बाघ देख्ने अवसर पाउँछन् ।” विगतको भन्दा बाघको चहलपहल अहिले बढेको उनको भनाइ छ । निकुञ्जभित्र पर्यटकीय जिपका चालक वीरजङ्ग मुसहरले दसैँको बेला एकै दिन दुई ठाउँमा बाघ देखेको बताए।

असोज २८ गते आफू र जिपमा रहेका पर्यटकले भिम्ले पोष्ट नजिकैको नन्दभाउजु तालमा पानी खान जाँदै गरेको बाघ देखेको बताए । त्यसै दिन रानीखोलाको बीच बाटोमा पनि बाघ देखिएको उनले जानकारी दिए । उनले भने, “तीन÷चार वटा जिपमा रहेका पर्यटकले बाघ देख्न पाउनुभयो ।” निकुञ्जभित्र झाँडी र गर्मी बढेकाले बाघ खुल्ला ठाउँमा आएको उनको भनाइ छ । विगत १९ वर्षदेखि निकुञ्जमा जिप चलाउँदै आएका मुसहरले यतिबेला बाघ हेर्ने राम्रो अवसर भएको बताए।

सौराहा नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत महिना एक व्यक्तिलाई बाघले खाएपछि समाउने क्रममा राखिएको क्यामराको ट्यापिङमा पाँच वटा बाघ देखिएका थिए । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानिस खाने बाघ समाएपछि पनि घुम्न जानेहरुले बाघ देख्ने गरेको बताएको जानकारी दिए । उनले भने, “हात्तीमा घुम्न जानेले बाघ देखेको बताएका छन् ।” उच्च सावधानी अपनाएर घुम्न वनले अनुरोध गरेको छ । सो वनमा जिप र हात्तीमा सफारी गर्ने गरिन्छ । पैदलरुपमा पनि पर्यटक वन र निकुञ्जमा घुम्ने गर्दछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले केही दिनयता बाघ देखिएको जानकारी आफूलाई प्राप्त भएको बताए ।

दसैँ अगाडि माडी जाने निकुञ्जभित्रको हुलाकी सडकमा मानिसले तीन÷चार वटा बाघ देखेको जनाएपछि हिँड्डुल गर्नेलाई सावधानी अपनाउन भनिएको छ । केही दिन धेरै सवारी जम्मा भएपछिसँगै वारपार गराइएको पनि उनले बताए ।

निकुञ्जमा सन् २०१८ मा गणना गर्दा २३५ बाघ भेटिएका थिए । तीमध्ये यस निकुञ्जमा मात्रै ९३ वटा बयस्क बाघ भेटिएका थिए । गणनापछि बाघको सङ्ख्या बढेको हुनसक्ने यसले देखाएको छ । लामो समयपछि निकुञ्ज खुलेका कारण वन्यजन्तुको चहलपहल पनि पर्यटकीय मार्गमा बढी देखिएको हो । निकुञ्जभित्र झाडी भएकाले बाटो नजिक मात्रै वन्यजन्तु देखिने गरेको छ । अबको एक महिनामा टाढाटाढासम्म खुल्ला हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

यस निकुञ्जमा मुख्य रुपमा एकसिङ्गे गैँडा हेर्न पर्यटक आउने गर्दछन् । पछिल्लो समय बाघ बढी सङ्ख्यामा देखिन थालेको हो । यससँग चितुवा, भालु, हरिण, गौरीगाई, चित्तल, गोही, बँदेललगायतका जनावरसँगै चराचुरुङ्गी हेर्न यहाँ पर्यटक आउने गर्दछन् । रासस

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : १० बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन