चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे ।

निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उनले नजिकबाट नियाल्ने अवसर पाए । उनीसँगै उक्त जिपमा रहेका अरुले पनि यो अवसर प्राप्त गरे । एकसिङ्गे गैँडाका लागि प्रख्यात निकुञ्जमा भाग्यमानीले मात्रै बाघ देख्न पाउने भए पनि यतिबेला निकुञ्ज घुम्न जाने धेरैले बाघ देखेको बताउने गरेका छन् ।

घिमिरेले भने, “अहिले निकुञ्ज घुम्न जाने धेरैले बाघ देख्ने अवसर पाउँछन् ।” विगतको भन्दा बाघको चहलपहल अहिले बढेको उनको भनाइ छ । निकुञ्जभित्र पर्यटकीय जिपका चालक वीरजङ्ग मुसहरले दसैँको बेला एकै दिन दुई ठाउँमा बाघ देखेको बताए।

असोज २८ गते आफू र जिपमा रहेका पर्यटकले भिम्ले पोष्ट नजिकैको नन्दभाउजु तालमा पानी खान जाँदै गरेको बाघ देखेको बताए । त्यसै दिन रानीखोलाको बीच बाटोमा पनि बाघ देखिएको उनले जानकारी दिए । उनले भने, “तीन÷चार वटा जिपमा रहेका पर्यटकले बाघ देख्न पाउनुभयो ।” निकुञ्जभित्र झाँडी र गर्मी बढेकाले बाघ खुल्ला ठाउँमा आएको उनको भनाइ छ । विगत १९ वर्षदेखि निकुञ्जमा जिप चलाउँदै आएका मुसहरले यतिबेला बाघ हेर्ने राम्रो अवसर भएको बताए।

सौराहा नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत महिना एक व्यक्तिलाई बाघले खाएपछि समाउने क्रममा राखिएको क्यामराको ट्यापिङमा पाँच वटा बाघ देखिएका थिए । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानिस खाने बाघ समाएपछि पनि घुम्न जानेहरुले बाघ देख्ने गरेको बताएको जानकारी दिए । उनले भने, “हात्तीमा घुम्न जानेले बाघ देखेको बताएका छन् ।” उच्च सावधानी अपनाएर घुम्न वनले अनुरोध गरेको छ । सो वनमा जिप र हात्तीमा सफारी गर्ने गरिन्छ । पैदलरुपमा पनि पर्यटक वन र निकुञ्जमा घुम्ने गर्दछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले केही दिनयता बाघ देखिएको जानकारी आफूलाई प्राप्त भएको बताए ।

दसैँ अगाडि माडी जाने निकुञ्जभित्रको हुलाकी सडकमा मानिसले तीन÷चार वटा बाघ देखेको जनाएपछि हिँड्डुल गर्नेलाई सावधानी अपनाउन भनिएको छ । केही दिन धेरै सवारी जम्मा भएपछिसँगै वारपार गराइएको पनि उनले बताए ।

निकुञ्जमा सन् २०१८ मा गणना गर्दा २३५ बाघ भेटिएका थिए । तीमध्ये यस निकुञ्जमा मात्रै ९३ वटा बयस्क बाघ भेटिएका थिए । गणनापछि बाघको सङ्ख्या बढेको हुनसक्ने यसले देखाएको छ । लामो समयपछि निकुञ्ज खुलेका कारण वन्यजन्तुको चहलपहल पनि पर्यटकीय मार्गमा बढी देखिएको हो । निकुञ्जभित्र झाडी भएकाले बाटो नजिक मात्रै वन्यजन्तु देखिने गरेको छ । अबको एक महिनामा टाढाटाढासम्म खुल्ला हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।

यस निकुञ्जमा मुख्य रुपमा एकसिङ्गे गैँडा हेर्न पर्यटक आउने गर्दछन् । पछिल्लो समय बाघ बढी सङ्ख्यामा देखिन थालेको हो । यससँग चितुवा, भालु, हरिण, गौरीगाई, चित्तल, गोही, बँदेललगायतका जनावरसँगै चराचुरुङ्गी हेर्न यहाँ पर्यटक आउने गर्दछन् । रासस

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : १० बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि