नेपालका व्यवसायीहरूले चीनविरुद्ध रसुवागढी र तातोपानी दुवै नाकामा प्रदर्शन गरेका छन् ।उनीहरूले चीनले नेपालमा अघोषित नाकाबन्दी लगाएको आरोप लगाउँदै यस्तो प्रदर्शन गरेका हुन् ।
चीनबाट नेपालतर्फ निर्यात गरिएको समान बोकेका कन्टेरनलाई चीनले नेपाल प्रवेश गर्न नदिएको बन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
नेपाली व्यवसायीहरूलाई दुःख दिन चिनियाँ सवारी साधनले एकतर्फी हिसाबमा भाडा बढाएका छन् ।
करिब २६ किमिमा फैलिएको सीमा नाकाको भाडा बढाएर १५–१६ हजार आरएमबीदेखि ६०–६५ हजार आरएमबीसम्म पुर्याएका छन् । यस विषयमा नेपाली व्यवसायीले चिनियाँ अधिकारीसँग कुरा गरे पनि त्यसमा कुनै सकारात्मक नतिजा आएको छैन ।
प्रदर्शनका क्रममा व्यापारीहरूले कन्टेनरलाई चीनबाट नेपालमा निर्वाधरूपमा आवतजावत गर्न दिन माग गर्दै अन्तर्राष्ट्रिय व्यपार नियम र पारवाहन सम्झौता पालना गर्न आग्रह गरेका थिए । उनीहरूले चीनलाई यो अघोषित नाकाबन्दी अन्त्य गर्न समेत आग्रह गरेका छन् ।
नेपाली व्यवसायीहरूको आक्रोश मत्थर पार्न सान्त्वना दिँदै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिनियाँ पक्षको आलोचना गरेका छन् ।
उनले एक अथवा अर्को बहानामा विगत एक वर्षदेखि चिनियाँ पक्षले नेपाललाई अघोषित नाकाबन्दी लगाएको बताउँदै उनले त्यसमा आफ्नो असन्तुष्टि जनाएका हुन् । उनले चीनसँग साँच्चैको व्यापार गर्ने हो भने काठमाडौँले त्यो विषयमा सोच्नुपर्ने समय आएको समेत बताएका छन् ।
नेपाल र चीनबीच १ अगस्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशबीचको सम्बन्ध र विभिन्न विषयमा उतारचढाव आए पनि नेपाली सरकारी पक्षले चिनियाँ पक्षको आलोचना गरेको विरलै मात्रै घटना छन् ।
वर्तमान समयमा नेपाल–चीनबीच ९ वटा व्यापारिक नाका छन् । जसमा हिल्सा, नाग्चा, कोरोला, गोर्खा लार्का, रसुवागढी, तातोपानी, लामाबगर, किमाथांका, ओलाङचुङगोला पर्छन् । यसमध्यमा रसुवागढी र तातोपानी महत्त्वपूर्ण हुन् । यी दुवै सीमानाका गत वर्षको जनवरीदेखि नै बन्द छ ।
गत वर्षको चाडपर्वको समय अक्टोबर–नोभेम्बरमा लुगा, कस्मेटिक सामान, विद्युतीय सामग्री, औद्योगिक कच्चा पदार्थसहित आएका करिब २ हजार कन्टेनर चीनले नेपाल प्रवेश गर्न दिएन ।
कोभिड–१९ महामारी रोकथामको बहाना बनाउँदै चीनले प्रत्येक दिन चार–पाँच वटा मालबाहक साधनलाई मात्रै दुई नाका रसुवागढी र तातोपानीबाट नेपाल प्रवेश गर्ने अनुमति दिएको थियो । यसको मतलव प्रत्येक दिन करिब पाँच प्रतिशत सामान मात्रै नेपाल प्रवेश गर्न पाएको थियो ।
राष्ट्रिय व्यवसायी सङ्गठनका अध्यक्ष नरेश कटुवालका अनुसार नेपाली व्यवसायीहरूले यो हिउँदका लागि चीनबाट सामान नमगाउने निर्णय गरेका छन् ।
नेपाली व्यवसायीहरूलाई भिसा प्रदान गर्ने कुरामा चिनियाँ अधिकारीहरूले तदारुकता नदेखाउँदा उनीहरूले यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् । चीनबाट भूमार्ग हुँदै नेपालमा सामान ल्याउने व्यवसायीहरू भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्न बाध्य भएको छन् ।
चिनियाँ अधिकारीहरूले नेपालसँग सीमा जोडिएको उत्तरी नाका खोल्ने कुनै चासो नदेखाउँदा नेपाली व्यापारीहरू भारतीय मार्ग प्रयोग गर्ने बाध्य भएका हुन् ।
हाल, करीब ७० प्रतिशत नेपाली व्यवसायीहरूले चीनबाट सामान ल्याउन विकल्पका रूपमा भारतीय बन्दरगाहको प्रयोग गर्न थालेका छन् । चिनियाँ समान भारतीय मार्ग हुँदै नेपाल भित्र्याउनु पर्दा नेपालमा सामानको मूल्य निकै नै बढेको छ ।
दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध राम्रो रहेको अहिलेको अवस्थामा नेपाली व्यवसायीलाई चीनले किन दुःख दिइराखेको छ भन्ने बुझ्न सकिएको छैन । नेपालले सदियौँदेखि ‘एक चीन नीति’ लाई समर्थन गर्दै आएको छ ।
चिनियाँ समान भारतीय मार्ग हुँदै नेपालमा भित्र्याउँदा त्यसको मूल्य प्रति कन्टेनर १२ लाख रुपैयाँ बढी आउने नेपाली व्यवसायीहरू बताउँछन् ।
यसअघि उत्तरी नाकाबाट सामानसहितका कन्टेनरलाई नेपाल आउन करीब दुई हप्ता लाग्ने गरेकोमा हाल भारतीय मार्ग हुँदै नेपाल आउँदा करीब दुई महीना लाग्ने गरेको छ ।
सीमा नाका बन्द हुँदा त्यसको असर व्यवसायीहरूलाई मात्रै होइन सरकारलाई पनि परेको छ । नेपाल सरकारले रसुवागढी नाकाबाट करीब ११ अर्ब नेपाली रुपैयाँ भन्सार उठाउने लक्ष्य राखेकोमा त्यसको १५ प्रतिशत मात्रै उठाएको छ ।
यस्तै, तातोपानी नाकाबाट ५ दशमलव ४७ अर्ब उठाउने लक्ष्य राखेकोमा लक्ष्यभन्दा निकै कम भन्सार उठाएको छ ।
दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध राम्रो रहेको अहिलेको अवस्थामा नेपाली व्यवसायीलाई चीनले किन दुःख दिइराखेको छ भन्ने बुझ्न सकिएको छैन । नेपालले सदियौँदेखि ‘एक चीन नीति’ लाई समर्थन गर्दै आएको छ ।
माओवादी केन्द्रका नेता पुष्पकमल दहाल प्रधानमन्त्री हुँदा चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजनामा पनि नेपाल सदस्य राष्ट्रका रुपमा रहने सहमति गरेको छ ।
सन् २०१६ मा चीनले नेपाललाई तीन अतिरिक्त सुख्खा बन्दरगाह, लाउन्जु, लासा र सिगात्से प्रयोगका लागि अनुमति दिएको थियो । यसअघि त्यानजिङ, सेनजेन, लियानयुन्गैङ र झानजियाङ प्रयोगमा थिए ।
पछिल्लो समय चीन नेपालमा सबैभन्दा धेरै वैदेशिक सहायता (एफडीआई) गर्ने देश हो । चीनबाट नेपाल आउने पर्यटकको संख्या निकै बढिरहेको छ ।
सन् २००३ मा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या ७ हजार ५ सय ६२ थियो भने सन् २०१९ सम्म आइपुग्दा त्यो एक लाख ६९ हजार ५ सय ४३ पुगेको छ ।
व्यवसायको कुरा गर्दा चीनको अनुकूल छ । नेपालको कुल निर्यातमा चीनको १ दशमलव २ प्रतिशत हिस्सा रहेको छ भने नेपालको आयतामा चीनको हिस्सा १५ प्रतिशत बढी रहेको छ ।
केही वर्ष यता नेपाल चीनबीच अवैध व्यापार बढेको पाइन्छ । अवैधानिक समान (जनवारका अङ्गबाट बनेका समान, सुन, रक्त चन्दन आदि) बढेको पाइएको छ । यस्तै साइवर अपराध, बैंक चोरी, मानव तस्किरी लगायतका दुई देशबीच अन्य चासोका विषय रहेका छन् ।
चिनियाँ पक्षले एकपक्षीय हिसाबमा नेपाल–चीन सीमा नाका बन्द गरिदिँदा त्यसले नेपाली व्यपारीमा निकै ठूलो समस्या निम्त्याएको छ । चिनियाँ पक्षलाई यो विषयमा कुनै जानकारी नै नभएको भने होइन । नेपाली व्यवसायीहरूको यो समस्यालाई बेवस्ता गर्दै गर्दा नेपालको वर्तमान सत्तासँग चीनको समस्या रहेको बुझ्न सकिन्छ ।
व्यापारीहरूको यो समस्याको समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षसँग कूटनीतिक माध्यमबाट वार्ता गर्न सक्छ ।
त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा आत्मनिर्भर बन्न आयात प्रतिस्थापन उद्योगलाई नेपालले जोड दिनुपर्छ । ‘स्वदेशी’ वस्तुको उपयोगमा जोड दिँदै सोही अनुसारको नीति निर्माण गर्नु आजको समयको आवश्यकता हो ।
यसो हुँदा चीनमा निर्भर रहेको नेपालको आयात बजारमा केही कमी आउनेछ । नेपालको आयस्रोतको बाटो बढाउँदै रोजगारीको अवसर सिर्जना गर्ने यो उत्तम अवसर पनि हुन सक्छ ।
(हरिवंश झा ओआरएफका भिजिटिङ फेलो हुन् । १६ मार्च २०२१ मा ओआरएफमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया