कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय | Khabarhub Khabarhub

कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ ।

लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो ।

पछिल्लोपटक जारी भएको कार्यविधिअनुसार आठवटा बगरमा सूचना जारी गरेर बोलकबोल गर्ने फार्मलाई आर्थिक ऐन, २०७७ मा भएको व्यवस्थाअनुसार भदौ १५ गतेसम्मका लागि बालुवा निकाल्न ठेक्कामा लगाउने निर्णय गरेको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्रबहादुर भण्डारी (रवि)ले जानकारी दिए ।

धेरैजसो स्थानीय तहले मनसुन शुरु भएर सतह बढेपछि नदीजन्य वस्तुको उत्खननमा रोक लगाएका छन् । जलजलाले भने यो समयमा हुने चोरी निकासी र राजस्व चुहावट रोक्न नयाँ कार्यविधिमा टेकेर ठेक्का प्रक्रिया शुरु गर्न लागेको हो ।

“विगतमा बर्खामा ठेक्का नलगाएको समयमा पनि डोजर लगाएर बालुवा निकालेर चोरी निकासी भएको थियो”, कार्यपालिकाका प्रवक्ता भण्डारीले भने, “चोरी, निकासी र राजस्व चुहावट हुनुभन्दा नयाँ कार्यविधिअनुसार ठेक्का लगाएरै तोकिएको परिमाणमा वैधानिक हिसाबले बालुवा निकाल्न दिने निर्णय गरेका हौँ ।”

आइइई रिपोर्टअनुसार लामाखेत बगरबाट १० हजार घनमिटर, घुमाउने बगरबाट पाँच हजार घनमिटर, केराबारी बगरबाट सात हजार घनमिटर, मोहनचोकको लुङ्दी बगरबाट १० हजार घनमिटर, फर्सेबगर (क)बाट १० हजार घनमिटर, फर्सेबगर (ख) बाट बीस हजार घनमिटर, ज्यामिरे बगरबाट पाँच हजार घनमिटर र खनीयाघाट बगरबाट १० हजार घनमिटर बालुवा निकाल्न ठेक्का लगाउने निर्णय गरेको छ ।

प्रतिघनमिटर रु २८० न्यूनतम मूल्य कायम भएको छ । जलजलाले यसअघि नदीजन्य वस्तुको उत्खननका लागि उपकरण प्रयोग गर्न दिने गरी ठेक्का सम्झौता गर्दै आएको छ । ठेक्का सम्झौताबिना आफूखुशी बालुवा निकाल्ने र निकासी गर्ने ट्र्याक्टरलाई पहिलोपटक रु १५ हजार, टिपरलाई रु २५ हजार र डोजरलाई रु ५० हजार जरिवाना तिराउने र दोहोर्‍यराएमा जरिवाना पनि बढाउने भएको छ ।

गाउँपालिकाले नदीजन्य वस्तुलाई मुख्य आन्तरिक आयस्रोत बनाएको छ । अध्यक्ष मल्लले विकास आयोजनाका लागि आवश्यक कच्चा पदार्थको सहज आपूर्ति गराउने, आन्तरिक आयस्रोत बढाउने र चोरी निकासी रोकिने बताए । “कालीगण्डकीले बगाएर ल्याउने बालुवालाई चेकड्याम बनाएर निकाल्ने हो”, अध्यक्ष मल्लले भने, “बगेर खेर जाने बालुवा गाउँपालिकाको आन्तरिक आयस्रोतमा रूपान्तरण गराउन सबैको सहयोग आवश्यक छ ।”

सम्झौताअनुसार उत्खनन भए/नभएको अनुगमन र चोरी निकासी रोक्न जिल्ला समन्वय समिति, प्रहरी कार्यालय र पालिकाका प्रहरीले निगरानी गर्ने व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षमा पनि नदीजन्य वस्तुसहित ११ महिनाको अवधिमा रु दुई करोड ८६ लाख आन्तरिक आम्दानी गरेको गाउँपालिकाले जनाएको छ । यसैगरी जलजलाले यही असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट प्रस्तुत गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ४५ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा