तनहुँको थानीमाईमा १८ फूलको डोली भित्र्याइयो « Khabarhub

तनहुँको थानीमाईमा १८ फूलको डोली भित्र्याइयो


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले मङ्गलबार दुई हजारभन्दा बढी भक्तजनले थानीमाईको दर्शन गरेको जानकारी दिए । “सोमबार राति ५५ भक्तजनले रातभर जागाराम बसेर बत्ती बाल्नुभएको छ”, उनले भने ।

कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको अध्यक्ष थापाले बताए । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ ।

मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको जनाइएको छ । भक्तजन फूलको डोली र पञ्चेबाजासहित मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।

यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको जनाउँदै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ । समुन्द्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरुआत भएको बताइएको छ । सोही विसंमा मन्दिर भएका ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ५० बजे

रास्वपाको ‘हामी सुन्छौं’ कार्यक्रममा नागरिकका गुनासो, रुस-युक्रेन द्वन्द्वमा फसेकाको उद्धार गर्न माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नियमित संवाद कार्यक्रम

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले

पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेटमा कर्णाली

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्

लमजुङका ग्रामीण गन्तव्यमा बढे पर्यटक, व्यवसायी उत्साहित

लमजुङ – लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न