काठमाडौँ महानगरले कोराना नियन्त्रणका लागि सिङ्गो देश सोचेर काम गरिरहेको छ | Khabarhub Khabarhub

काठमाडौँ महानगरले कोराना नियन्त्रणका लागि सिङ्गो देश सोचेर काम गरिरहेको छ



काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोनाको दोस्रो लहर यति गम्भीर होला भन्ने अनुमान थिएन । समस्या जति गम्भीर छ आममानिसबाट स्वास्थ्य मापदण्ड पालनामा त्यति गम्भीरता भएन भन्ने उनलाई लागेको छ ।

भन्छन्– घरमै बसौँ, मास्क लगाऔँ, साबुनपानीले हात धोऔँ, दूरी कायम गरौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरले चाहिँ कसरी काम गरिरहेको छ ? संघीय राजधानीको केन्द्र भएकाले पनि काठमाडौँ महानगरप्रति आम चासो धेरै छ । यही सेरोेफेरोमा खबरहबका तर्फबाट गोविन्द लुइँटेलले गरेको संवाद प्रस्तुत गरिएको छ ।

कोरोना संक्रमणको अहिलेको अवस्थाबारे काठमाडौँ महानगरपालिकाको मूल्याङ्कन वा हालसम्मको समीक्षा के छ ?

काठमाडौँ महानगरपालिकामा हामीले सोचेको भन्दा धेरै संक्रमण बढेको छ । अस्पतालहरू भरिएका छन् । अक्सिजनको समस्या देखिएको छ । समस्या समाधानका लागि काठमाडौँ महानगरपालिका सरकारी र सामुदायिक अस्पतालहरूसँग सहकार्य गरेर अगाडि बढिरहेको छ । आइसोलेसन सेन्टरहरू खोल्ने काम पनि भइरहेको छ ।

एक्लाएक्लै गर्नुभन्दा संयुक्त प्रयास उपयुक्त हुन्छ । व्यवस्थापकीय क्षमता भएकाहरूसँग मिलेर काम गर्ने प्रयास गरेका छौँ ।

काठमाडौँ महानगरभित्रका अस्पतालको क्षमता वृद्धिका लागि अस्पताल प्रमुखहरूसँग छलफल पनि गर्‍यौँ । विज्ञहरूसँग पनि छलफल गर्‍यौँ । कतै भेन्टिलेटर र अन्य आवश्यक सामग्री उपलब्ध गरायौँ । जनशक्ति थप्न काठमाडौँ महनगरले खर्च ब्यहोर्ने भनेका छौँ । किटस् चाहिएका ठाउँमा खरिदका लागि अघि बढेका छौँ ।

हामी महानगरभित्रका सरकारी अस्पतालहरूको स्तर र क्षमता वृद्धि गर्नेतर्फ लागेका छौँ । केही अस्पतालमा विभिन्न प्रयोजनका नयाँ भवन बनेका छन्, ती भवन प्रयोग गर्नेतर्फ पनि लागेका छौँ । अक्सिजनको अभाव भएकाले काममा केही समस्या भएको छ ।

हामीले टिचिङ हस्पिटल (महाराजगञ्ज) सँग सहकार्य गर्‍यौँ । त्यहाँ दश वटा भेन्टिलेटर सञ्चालनमा ल्याएका छौँ, गङ्गालाल (शहीद गङ्गालाल हृदय केन्द्र) मा दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट शुरू भइसकेको छ । यो सञ्चालनमा नआएको भए अहिले गङ्गालालमा ठूलो समस्या हुन्थ्यो ।

कान्ति (कान्ति बाल अस्पताल) सँग पनि सहकार्य गरेका छौँ । त्यहाँ अक्सिजन प्लान्ट तयारी अवस्थामा छ तर ठेकेदारले अझै एक महिना लाग्छ भनेको छ । वीर हस्पिटललाई १५ वटा भेन्टिलेटर दिने गरी सहकार्य गर्‍यौँ ।

काठमाडौँ महानगरले आफ्नो कोभिड अस्पताल सञ्चालन गर्ने गरी छत्रपाटी चिकित्सालयसँग सहकार्य गरेका छौँ, एक–दुई दिनमै सञ्चालन गर्छौं । नरदेवी (आयुर्वेदिक) अस्पतालमा पनि अक्सिजन थेरापी सहितको आइसोलेसन बन्छ । सामाखुसीमा अक्सिजन थेरापी सहितको आइसोलेसन सेन्टर बनाइरहेका छौँ, सबै तयार भइसक्यो, अक्सिजन व्यवस्था हुनासाथ सञ्चालन हुन्छ । यसको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

सामुदायिक अस्पतालहरूसँग पनि हामीले सहकार्य गरेका छौँ । जो जहाँ छ, त्यही सेवा पाउन सहज हुन्छ भनेर त्यहीअनुसार सहयोग गरेका छौँ ।

यी कामहरू गर्न महानगरपालिकाले सामान किनिदिन्छ वा सिधै आर्थिक सहायता दिन्छ ?

हामी खरिद गर्दैनौँ, आर्थिक सहायता गर्ने भनेका छौँ । हामीलाई प्राविधिक पक्ष थाहा हुँदैन । हामीले खर्च व्यहोर्ने भनेका छौँ । दक्षता हुनेलाई सहायता गर्छौं ।

कोभिड नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका आफैँले पनि केही गरिरहेको छ कि !

आफैँ भनेर नामको लागि काम गर्ने समय यो होइन । मेरो नाम आउनुपर्छ, म पनि देखिनुपर्छ भनेर काम गर्ने हो भने, अस्वस्थ प्रतिस्पर्धा गर्‍यौँ भने यो अदृश्य शक्ति कोभिडलाई जित्न सकिँदैन । म चर्चामा आउनुपर्छ, मेरो नाम मिडियामा आउनुपर्छ भन्ने हो भने काम हुँदैन ।

‘अक्सिजन सिलिन्डर चाहियो भने हामीलाई सम्पर्क गर्नू, निःशुल्क उपलव्ध गराउँछौँ’ भनेर पनि कोहीकोही आइरहेका छन् । यता अस्पतालमा अक्सिजन नभएर मान्छे दुर्घटनामा पर्ने अवस्था छ । यो विज्ञापनको समय होइन । यो सामान्य समय होइन । सबै मिलेर जानुपर्छ ।

काठमाडौँ महानगरपालिका आफैँले गर्नुपर्छ भनेर हामीसँग त्यस्तो दक्ष जनशक्ति छैन । हामीले त दक्षता हुनेलाई सहयोग गर्ने हो । छत्रपाटी चिकित्सालयसँग सहकार्य गरेर केही समय महानगरकै कोभिड अस्पतालका रूपमा सञ्चालन गर्छौं । व्यवस्थापकीय जिम्मा अस्पतालकै हुन्छ ।

आयुर्वेदिक अस्पताल (नरदेवी) को एउटा बिल्डिङ खाली थियो । त्यो भवन प्रयोग गर्न महानगरले सहकार्य गरेको छ । सबैले सेवा पाउने वातावरण बनाउनुपर्‍यो, हामी यहीअनुसार काम गर्दैछौँ ।

काठमाडौँको कुरा गर्दा सिङ्गो उपत्यकाको कुरा गर्नुपर्ने हुन्छ । तीन वटा जिल्लाका स्थानीय तहहरूबीच समन्वय र सहकार्य पनि छ कि आआफ्नै ढङ्गले काम भइरहेको छ ?

हाम्रो सहकार्य छ । ‘उपत्यका नगरपालिका फोरम’ छ । हामीले बैठक पनि गर्‍यौँ । आवश्यकताअनुसार सहकार्य गरिरहेका छौँ । नगर साझेदारीअनुसार अघि बढ्ने हाम्रो नीति छ । काठमाडौँ महानगरपालिकाले ठिमी नगरपालिकासँग सहकार्य गरेर ‘नेपाल–कोरिया मैत्री अस्पताल’ लाई तीन वटा भेन्टिलेटर उपलव्ध गरायौँ । हामी एक्लाएक्लै काम गरिरहेका छौँ र आवश्यकताअनुसार सहकार्य र समन्वय गर्दैछौँ ।

बिर्सन नहुने कुरा के छ भने काठमाडौँ उपत्यका हाम्रो मात्र होइन । यो संघीय राजधानी हो । काठमाडौँले यहाँका बासिन्दालाई मात्रै नभएर अन्यन्त्र सेवा नपाएर आउनेलाई पनि हेर्नुपर्छ । देशभरिबाट कति बिरामी आउँछन् भन्ने थाहा हुँदैन । अहिलेको अवस्थामा जो जहाँ छ त्यहाँको नजिकको अस्पतालमा सेवा पाउने भयो भने काठमाडौँमा अभाव हुँदैन ।

पुरानो, ठूलो र संघीय राजधानीको केन्द्र भएका नाताले काठमाडौँ महानगरले आफ्नो विशेष भूमिका ठम्याएको छ कि !

उपत्यका नगरपालिका फोरममा औपचारिक र अनौपचारिक छलफल हुन्छ । आयस्रोत कम भएका साना नगरपालिका पनि छन् । बिरामीहरूले त्यहाँ सेवा पाएनन् भने चाप महानगरमै पर्छ । यस्तो चाप कम गर्न काठमाडौँ महानगरले सहकार्य गर्छ ।

काठमाडौँ महानगर र ललितपुर महानगर मिलेर, खर्चको ठूलो हिस्सा काठमाडौँले ब्यहोर्ने गरी एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्ने भनेका छौँ । हामीले अन्य नगरपालिकालाई तपाईंहरू पनि गर्नुहोस्, आवश्यक पर्‍यो भने हामी सहयोग गर्छौं भनेका छौँ ।

देशको जनसंख्या तीन करोड छ । काठमाडौँ उपत्यकामा मात्रै ४० लाखभन्दा बढी मानिस बस्छन् तर दैनिक पीसीआर परीक्षण २० हजारभन्दा कम छ; तपाईंलाई के लाग्छ, यो पर्याप्त छ ? यसमा स्थानीय तहको केही भूमिका हुन सक्छ ?

यो परीक्षण अलिकति कम त हो तर पीसीआर औषधि होइन । पीसीआर टेस्ट गर्ने अनि रिपोर्ट आउनुभन्दा पहिला बजार घुम्न जानेहरू धेरै छन् । यो गर्न नहुने काम हो । यो काम हामीले रोक्नु पर्‍यो । रिपोर्ट आउनुअघि बजार जाने, साथीभाइ भेट्ने गर्नु भएन । परिवारमा सतर्क रहनुपर्‍यो ।

यहाँ त आफूलाई गाह्रो नभएसम्म हेलचेक्य्राइँ गर्ने प्रवृत्ति छ, अनि समस्या परेपछि सरकारलाई गाली गर्ने ! यसमा प्रत्येक व्यक्ति, महानगरवासी, देशवासी सचेत र सतर्क हुनुपर्छ । मेरो कारणले अरूलाई कोरोना नसरोस् भन्ने बुझ्नुपर्छ ।

अहिले धेरै डाक्टरहरूको गुनासो छ, घरबाट बाहिर ननिस्किएका आमाबुबा संक्रमित भएर अस्पताल आए । यो त घरबाहिर निस्कने परिवारकै सदस्यले सार्‍यो । यसमा सबै व्यक्ति सचेत हुनुपर्छ ।

हामीले पीसीआरमा पनि जोड दिएका छौँ, टेस्ट बढाउँदैछौँ । यो सँगै पीसीआर औषधि होइन भनेर बुझ्नु पर्छ र बुझाउनुपर्छ । आइसोलेसनमा बस्नुपर्छ ।

पीसीआर टेस्ट पनि टेस्ट गर्दाका दिनसम्मका लागि हो । भोलिपल्टै पनि संक्रमण हुन सक्छ । हामी सबैले एक अर्कालाई शंका गर्नुपर्ने स्थिति छ, श्रीमान् र श्रीमतीले पनि । यो कुरा हामीले बुझाउन सकेनौँ । खोपलाई प्राथमिकता दिनुपर्छ ।

हामी सचेत हुनुपर्‍यो । सरकारले प्रयास गरेको छ । हरेक व्यक्ति सचेत भयौँ र हेलचेक्य्राइँ गरेनौँ भने चाँडै नियन्त्रण हुन्छ, नत्र लम्बिन सक्छ ।

क्वारेन्टिन स्थल र आइसोलेसन स्थल निर्माणमा स्थानीय तहहरू आवश्यकताअनुसार सक्रिय हुन नसकेको भन्ने आचोलना भइरहेको छ, काठमाडौँ महानगरप्रति पनि यस्तै धारणा सुनिन्छ, यसमा के भन्नुहुन्छ ?

पहिलो चरणको कोभिडमा हामीले आइसोलेसन केन्द्रहरू बनायौँ । मानिसहरू त्यहाँ बस्न मानेनन्, नियम पालना गरेर घरमै बस्छौँ भने । अहिले पनि विभिन्न संघसंस्थाहरूले आइसोलेसन सेन्टर खोलेका छन् । पहिलो चरणमा भन्दा अहिले गाह्रो देखियो । पहिलो चरणमा आइसोलेसनमा बसेका मानिसहरू निको भएका थिए ।

अहिलेचाँहि आइसोलेनमा बसेकाहरू पनि अस्पताल धाउनु पर्ने र उनीहरूलाई अक्सिजन दिनुपर्ने भयो । अहिले हामीलाई आउने धेरै फोन अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटर मिलाइदिनुपर्‍यो भन्ने हुन्छ । अन्यत्र पनि यस्तै अवस्था होला । मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने, दूरी कायम गर्ने हो भने धेरै हदसम्म कोरोना रोकथाम हुन्छ र अस्पतालमा चाप घट्छ ।

आइसोलेन केन्द्र खोल्नेहरूले पनि देखाउन र प्रचार गर्नका लागि मात्रै नगरौँ, साँच्चै उपयोगी हुन सकोस् । संक्रमितले सेवा पाउन सकून् । हाइफाइ गरेर प्रचार गर्ने तर काम नहुने हो भने त्यसको केही अर्थ हुँदैन । प्रचारमा र चर्चामा नआए पनि काम राम्रो हुनुपर्छ ।

मैले बुझेअनुसार धेरैको इच्छा होम आइसोलेसन नै हो । होम आइसोलेसन सम्भव नहुनेका लागि महानगरले व्यवस्था गर्छ । नरदेवीमा हामीले यही काम गर्न खोजेका छौँ । सामाखुसीमा पनि यसै गर्न खोजेका छौँ, अस्पतालबाट डिस्चार्ज भएका तर अझै सेवा चाहिएकाहरूलाई त्यहाँ राख्ने प्रबन्ध गर्दैछौँ ।

अस्पतालमा अक्सिजनको र बेडको अभाव भएको कुरा बारम्बार आइरहेको छ, यस विषयमा केही कुरा भनिसक्नुभयो । केही थप्न चाहनुहुन्छ कि !

हामीले सरकारी, सामुदायिक र विशेष अस्पताललाई अक्सिजन प्लान्ट खरिदका लागि प्रक्रिया अघि बढाउनुहोस्, महानगरले आर्थिक सहयोग गर्छ भनेका छौँ । घरमा र कोही अभियन्ताहरूसँग अक्सिजन सिलिन्डर छ भने अस्पतालमा पुर्‍याइदिनुहोस् भन्छु ।

विभिन्न उद्योगमा रहेका सिलिन्डर पनि अस्पतला पुर्‍याइदिनुहोस् । यसो भयो भने सिलिन्डरको अभाव कम हुन्छ । बिरामीलाई बचाउन सकिन्छ ।

कोरोनाको पहिलो लहरको लकडाउनमा विपन्न, दैनिक ज्यालादारीबाट जीवन चलाउनेहरूका लागि राहतमा ध्यान दिइएको थियो । यसपटक निषेधाज्ञा जारी भएको तीन साता पूरा भएको छ तर राहतबारे केही सुनिँदैन । काठमाडौँ महानगरभित्र मात्रै दुई वटा संस्थाले दैनिक १५ सय जनाभन्दा बढीलाई खाना खुवाउँदै गरेको भन्ने विवरण छ । खबरहबकै रिपोर्टअनुसार पनि एक छाक खान कलंकीबाट हिँडेर थापाथली पुग्ने गरेको विवरण छ । यसपालि किन राहतको आवश्यकता ठानिएन ? वा यसबारे के भइरहेको छ ?

मैले पनि सुनेको छु । उहाँहरूले लकडाउनको समयमा मात्रै होइन, सामान्य अवस्थामा पनि खुवाइरहनु भएको हो, लकडाउनको कारणले मात्रै होइन ।

लकडाउनका कारणले खान नपाउने अवस्था भएको छ भने आफू रहेको वडा कार्यालयमा सम्पर्क राख्नू भनेका छौँ । हाम्रो वडा कार्यालयले व्यवस्था गर्छ ।

पहिलो लहरमा राहत र खाना बाँड्दा हुने भिडभाडले पनि संक्रमण बढायो कि भन्ने भयो । आपतमा परेकालाई वडा कार्यालयले हेर्छ, उद्धार गर्छ । वडा कार्यालयलाई जानकारी गराउनुपर्‍यो, भोको नरहने व्यवस्था हामी गर्छौं, खुलारूपमा गर्दैनौँ ।

अर्थात, पहिलो चरणमा जस्तो राहत सामग्री चाहिँ बाँडिदैन ?

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत गर्छ । आपत परेकालाई सहयोग गर्छ तर पहिलेजस्तो खुलारूपमा राहत बाँडिदैन । त्यो समयमा धेरै मिसयुस भयो भन्ने कुरा पनि आयो ।

कोरोना नियन्त्रणको कामका सन्दर्भमा संघीय सरकार र प्रदेश सरकार तथा प्रदेश सरकार र स्थानीय सरकारबीच असझदारी भएको वा एक किसिमको द्वन्द्व चलेको भन्ने समाचार पनि आएको छ । काठमाडौँ महानगरका सन्दर्भमा तपाईंको अनुभव के छ ?

संघीय सरकारको आफ्नो जिम्मेवारी छ, आफ्नो किसिमले काम गरिरहेको छ । प्रदेश सरकारहरू पनि आफ्नो किसिमले गर्दैछन् । सतहमा देखिने चाहिँ स्थानीय सरकार नै हो । स्थानीयमा पनि मेयर र उपमेयरभन्दा बढी वडा अध्यक्ष सहतमा देखिन्छ । अधारभूत तहमा काम गर्नेहरू देखिन्छन् र सुनिन्छन् । समस्या पनि उनीहरूलाई थाहा हुन्छ, वडा सदस्यहरूलाई धेरै थाहा हुन्छ ।

मेयरले गर्ने भनेको पनि वडामै पठाउने हो । खोपको काम पनि हामीले वडालाई जिम्मा लगाएका छौँ । त्यहाँ संघ खोइ, प्रदेश खोइ, स्थानीय खोइ भन्नु त उपयुक्त हुँदैन । व्यवस्थापन तल्लो तहसम्म भएको हुन्छ ।

काठमाडौँमा त्यस्तो (असमझदारी वा द्वन्द्व) कुनै अवस्था छैन । हामीले समन्वयमै काम गरेका छौँ ।

पहिलो लहरको कोरोना नियन्त्रण भएर जनजीवन सहज भएपछि झन् ठूलो संकट लिएर दोस्रो लहर आउनसक्छ भन्ने अनुमान गरिएको थियो कि थिएन ?

विभिन्न समाचार र विज्ञहरूको कुराबाट विदेशमा दोस्रो दोस्रो लहर आएको भन्ने सुनेका थियौँ । पहिलो लहरको शुरूमा हामी निकै डरायौँ पनि, सचेत पनि भयौँ तर बिस्तारै हेलचेक्य्राइँ बढ्यो, सरकार र पब्लिक दुवैतिर ।

सरकारलाई पनि नियन्त्रण गर्न सकिने रहेछ भन्ने भयो होला । अहिलेचाहिँ हामीले अनुमान गरेको भन्दा फरक स्थित अनुभव गरेका छौँ । अहिले आइसोलेसनले मात्रै भएन, अस्पताल नै जानुपर्ने, अक्सिजन दिनै पर्नै, तुरुन्तै निमोनिया हुने समस्या भयो ।

दोस्रो लहर आउँछ भनेर अनुमान नगरेको होइत तर यति धेरै होला भन्ने त सोचिएको थिएन । हामी मेनेज गर्न सक्छौँ भन्ने भयो । अस्तिसम्म अक्सिजन हामीसँग छ, सिलिन्डरमात्रै नभएको भन्ने कुरा थियो । अहिले सिलिन्डर लिएर जाँदा पनि अक्सिजन नपाउने अवस्था भयो । उत्पादन नै बढाउनुपर्ने रहेछ भन्ने थाहा भयो ।

सरकार र पब्लिक दुवैबाट उस्तै सोचाइ भयो । पब्लिकलाई पनि धेरै गाह्रो होइन रहेछ भन्ने भयो । जसले भोगे उनीहरू धेरै सतर्क भए । जसले भोगेनन् उनीहरूबाट लापरबाही भयो । अहिले पनि अवस्था यस्तै छ ।

यस्तो अवस्थामा मिडियाको जिम्मेवारी महत्वपूर्ण हुन्छ । सही सूचना सम्प्रेषण गरेर मिडियाले आम मानिसलाई सचेत गराउन सक्छ । सरकारले खोपको प्रबन्ध गर्नुपर्‍यो । अहिलेसम्म कोरोनाको औषधि छैन । सबैलाई खोप उपलब्ध नभएसम्म रोथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्ने । योभन्दा अर्को उपाय छैन ।

आफ्ना नगरवासीलाई र राजधानी नगरको प्रमुख भएका नाताले देशवासीलाई के आह्वान गर्नुहुन्छ ?

महामारीको यो अदृश्य शक्तिबारे धेरै कुरा थाहा हुन सकेको छैन । धेरै मानिस संक्रमित भएका छन्, ज्यान गइरहेको छ । म महानगरवासी र समस्त देशवासीहरूलाई सचेत रहन आग्रह गर्छु । पहिलो चरणको खोप लगाइसकेकाले आफ्नो पायक पर्ने ठाउँमा गएर दोस्रो खोप लिनुहोला ।

खोप केवल परीक्षण हो भन्ने र लगाउन नचाहनेहरू पनि अहिले खोप लगाउन खोजिरहेका छन् । यो राम्रो पक्ष हो । औषधि भनेको पनि खोप नै हो । सरकारलाई विश्वास गर्नुपर्‍यो, आफैँले बनाएको सरकार हो ।

आफू सचेत रहौँ, अरूलाई पनि सचेत बनाऔँ र सुरक्षित राखौँ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ५९ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार