आज अन्तर्राष्ट्रिय योग दिवस, प्रतिरोधी क्षमता बढाउन योग गर्न विज्ञको सुझाव « Khabarhub

आज अन्तर्राष्ट्रिय योग दिवस, प्रतिरोधी क्षमता बढाउन योग गर्न विज्ञको सुझाव


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

राष्ट्रसङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा.हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । यसको अभ्यासले मनका कारण शरीरमा लाग्ने रोगबाट बच्न सकिन्छ ।

इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो ।

जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोविद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा. पोखरेल बताउछन् ।

यही शैक्षिक सत्रदेखि पढाइ शुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले बताए । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि पढाइ शुरु हुन सकेको छैन ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।

योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण धेरै कार्यक्रम जुम प्रविधिबाट नै आयोजना गरिने जनाइएको छ ।

महामारीका बेला नियमितरूपमा योग गरेमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र कोरोनाले आक्रमण नगर्ने योग अभियानकर्मीको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ४५ बजे

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को