टेनिस स्टार राडुकानु, जसले विश्वको ध्यान तानिन् | Khabarhub Khabarhub

टेनिस स्टार राडुकानु, जसले विश्वको ध्यान तानिन्


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्ष २०२१  को अन्तिम महिनामा हामी कुदिरहेका छौँ । यो अन्तिम महिना वर्षको प्रदर्शनको लेखाजोखाको समय पनि भएको छ । जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिक, चार ग्रान्डस्लाम टेनिस तथा युरो कप फुटबलको सेरोफेरोमा यस वर्षको खेलकुद रह्यो । साथमा टी–२० विश्वकप क्रिकेटले पनि संसारको ध्यान खिच्यो ।

विभिन्न व्यक्तिका हेर्ने आँखाहरू फरक हुन सक्छन् । धेरै उत्कृष्ट मध्य सर्वोत्कृष्ट छान्ने मापदण्ड फरक हुन सक्छन् । थुप्रै निकायले उत्कृष्ट खेलाडीको घोषणा गर्ने क्रमको सुरुवात भइसकेको छ  । यस क्रममा  बीबीसीले यस वर्षको उत्कृष्ट खेलाडी टेनिस स्टार एम्मा राडुकानुलाई वर्षको उत्कृष्ट खेलाडी चयन गरेको छ ।

अबुधावीको एक होटेलमा १९ बर्षिया राडुकानुले ‘बीबीसी स्पोर्ट्स पर्सानालीटी अफ द इयर अवार्ड’ पाएको खबर सुनेकी हुन् । उनी कोभिड पोजेटिभ पुष्टि भएपछि होटलको आइसोलेसनमा बसिरहेकी छिन् ।

मेलबर्नमा अस्ट्रेलियन ओपन खेल्दै नयाँ सिजनको सुरुवात गर्न अगाडि नै उनले मध्यपूर्वमा नै क्रिसमस मनाउने तयारीमा छिन् ।

राडुकानुको खेलकुदमा उदय साँच्चै सनसनीपूर्ण थियो । ग्रान्डस्लाम इतिहासमा दोस्रो प्रयासमा नै सफलता पाउने दुर्लभ कीर्तिमानका कारण उनको वाहवाही भएको हो । अस्ट्रेलियन ओपनमा उनले गर्ने प्रदर्शन कस्तो रहने हो भन्ने अनिश्चित नै छ । प्रदर्शन जस्तो भए पनि युएस सफलताले राडुकानुलाई संसारको एक हर्नलायक खेलाडीको रूपमा स्थापित गरिसकेको छ ।

पहिलोपटक उनी वरीयतासहित कुनै ग्रान्डस्लाम प्रतियोगितामा सहभागी हुँदैछिन् । यसभन्दा अघि विम्बल्डनसम्म टेनिसमा उनी विना वरीयता सहभागी भएकी हुन् ।

अबको वर्ष राडुकानुको वरीयता कस्तो रहने भन्ने प्रतीक्षाको विषय बनेको छ । त्यसो त उनका लागि यो वर्ष त्यति धेरै प्वाइन्ट गुमाउनु पनि छैन । किनकि उनको सफलताको दिन भर्खर सुरु भएको छ । उनले धेरै प्वाइन्ट जोडेकी पनि छैनिन् । अहिले उनीसहित शीर्ष १०० मा ६ जना युवापुस्ता शीर्ष वरीयतामा छन् ।

धेरैले उनले अर्को वर्ष धेरै महत्त्वाकांक्षा बोकेको बताएका छन् । उनी आफै भने यस सवालमा चुपचाप छिन् । परन्तु अर्को वर्ष त्यति सहज भने नहुने टेनिस विज्ञहरू बताउँछन् । आश्चर्य के छ भने, यो महत्त्वपूर्ण सफलताका बाबजुद शीर्ष १०० मा अटाएका ६ जना युवापुस्तामध्ये उनी नै सबै भन्दा कम टुरको अनुभव भएकी खेलाडी हुने ।

धेरै स्टामिना भएकी राडुकानुले यस वर्ष धेरै फिजिकल अभ्यास पनि गरेकी छन् । यस कारण यो वर्ष हुने हार्ड कोर्टमा उनको प्रभाव अन्य दुई कोर्टमा भन्दा बढी रहने अनुमान भने धेरैको छ । नयाँ प्रशिक्षक टोबेन् बेल्ट्चसँगको समन्वय पनि धेरैका लागि चासोको विषय बनेको छ ।

राडुकानुकै विचारमा उनका प्रशिक्षक सकारात्मक सोचाइ भएका, टिममा सबैलाई प्रोत्साहित गर्ने र आत्मबल प्रदान गर्ने स्वभावका छन् । साथै उनी मिलनसार पनि भएकाले सहयात्रामा आफू रोमाञ्चित भएको राडुकानु बताउँछिन् ।

युएस ओपनमा राडुकानुले एकदमै उत्साहित प्रतिद्वन्द्वीको सामना गरेकी थिइन् । सुरुवाती दिनमा नै उनको भेट मार्टा कोस्ट्यकसँग भएको थियो । राडुकानुभन्दा चार महिना मात्र जेठी मार्टाले १५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनको तेस्रो चरणको यात्रा तय गरेकी थिइन् । उनी ट्रान्सलाभान्जा ओपनको क्वाटर फाइनलमा प्रवेश गरेकी थिइन् ।

त्यसो त सन् २००० को दशकको सुरुवातमा सेरेना विलियम्सलाई हेर्नेहरू राडुकानुको भविष्य जुनसुकै मोडमा जान सक्ने अनुमान गर्न थालेका छन् । एकाध प्रतियोगितामा मात्र राडुकानुको सफलता सीमित हुन पनि सक्छ । अथवा लामो समयको सनसनीपूर्ण यात्राको सुरुवात पनि यसै वर्ष हुन सक्नेछ । तर, त्यो त्यति सहज भने पक्कै हुने छैन ।

राडुकानुको प्रदर्शनमा व्यापारिक दुनियाँको पनि चासो बढेको छ । अब राडुकानुले एक या दुईपटक सफलता पाए संसारका दर्जनौँ ठूला ब्रान्ड उनीसँग सहकार्य गर्न चाहन्छन् । यी सबैलाई उनले कसरी व्यवस्थित गर्ने हुन् यो अर्को प्रतीक्षाको विषय बनेको छ । राडुकानु भने आफू यी कुराको बारे जानकार रहेको  बताउँदै क्यारियरको सुरुवाती दिनमा नै भएका  कारण पैसामा भन्दा बढी खेलमा नै ध्यान दिने बताउँछिन् । उनले के पनि बुझेकी छिन्, भने केही वर्ष राम्रो र महत्त्वपूर्ण सफलता पाए उनका लागि अर्बपति हुने बाटो खुला हुने छ । यस कारण अहिले नै प्रायोजक सम्झौतालाई प्राथमिकतामा राखेर खेललाई असर गर्न दिने सोचमा उनी छैनन् ।

उनी अहिले पनि आफ्नो आमाबाबुले पहिलोपटक टेनिस खेल्न लगेको कुरा सम्झिन्छन् । उनलाई त्यो सपनाको याद छ र टेनिस बलको मात्र चासो छ । राडुकानुको सफलतालाई हेर्नेहरू यसमा रमाउन टेनिस फ्यान हुन आवश्यक नै नभएको बताउँछन् । उनी यस्तो सनसनीपूर्ण यात्राको मोडमा आइ पुगेकी छिन्, उनको खेल हेर्न अब टेनिस फ्यान हुन आवश्यक नै छैन । राडुकानु बेलायतका सम्पूर्ण युवाका लागि प्रेरणाका श्रोत भएको पनि खेल विज्ञहरू बताउँछन् ।

सन् २०२० मा निर्धारित ओलम्पिक खेलकुद कोभिड महामारीका २०२१ मा मात्र सम्भव भएको थियो । यस एक वर्षको समयमा धेरै जान नयाँ स्टारको उदय भएको थियो भने केही पुराना खेलाडीले फर्म गुमाए ।

यस ओलम्पिकमा सर्वाधिक सफल खेलाडी अमेरिकी पौडी वाज केलेब ड्रेसेल र अस्ट्रेलियाकी पौडीबाज अम्मा म्याककोन भए । ड्रेसेलले तीन व्यक्तिगत स्वर्ण सहित पाँच स्वर्ण पदक जिते । पुरुष मेड्ले रिलेमा उनी सहितको अमेरिकी टोलीले विश्व कीर्तिमान पनि कायम गरेको थियो ।

यसै गरी म्याककोनले दुई व्यक्तिगत सहित चार स्वर्ण पदक जितिन् । महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा उनी सहितको अस्ट्रेलियाको टोलीले स्वर्ण पदक जितेको थियो । उनले दुई कास्य पदक सहित कुल ६ पदक जितेकी थिइन् ।

यसै गरी सोही ओलम्पिकमा जमैकाकी एलेन थोम्सन हेराथले तीन स्वर्ण पदक जितेकी थिइन् । उनले १ सय मिटर दौडमा फ्लोरेन्स ग्रीफ्थ जोयनरको ओलम्पिक कीर्तिमान समेत भङ्ग गर्न सफल भएकी थिइन् । यसै गरी २ सय मिटरमा पनि उनी स्वर्ण पदक जित्न सफल भइन् । उनले चार गुणा सय मिटर रिलेमा पनि स्वर्ण पदक जितेकी हुन् ।

सोही ओलम्पिकमा अन्य थुप्रै स्टार चर्चामा रहेका थिए । धेरै सनसनी पूर्ण प्रदर्शन भएका थिए । यस वर्ष पुरानो क्लब बार्सीलोनासँगको साइनो छाडेर पेरिस सेन्ट जर्मन पुगेका लीयोनल मेसीले बालोन डी ओर अवार्ड पाइसकेका छन् ।

क्रिकेटमा अस्ट्रेलियाले यस वर्ष टी २० विश्वकपको उपाधि जितेको छ । यसरी उपाधि जित्ने क्रममा भेट्रान ब्याट्सम्यान डेभिड वार्नरको भूमिका महत्त्वपूर्ण रहेको थियो । यसै कारण उनी छोटो र्फम्याटको विश्वकपमा म्यान अफ द सिरिज समेत घोषित भए ।

यो एक वर्षमा अन्य थुप्रै महत्त्वपूर्ण प्रतियोगिता आयोजना भए । चेल्सी तथा इटालीका मिडफील्डर जर्जीन्होको प्रदर्शन इटालीको युरो कप फुटलका उपाधि यात्राको महत्त्वपूर्ण हिस्सा बनेको थियो । बलमाथिको नियन्त्रण र खेललाई कुनै पनि समयमा दिशा बदल्न सक्ने खुबी भएकै कारण इटाली सुरुवाती चरणदेखि धेरै खेलमा दबाबका साथ खेल्न सफल भएको थियो । सोही युरो कपमा केरिन डु ब्रायन र एन्जोलो कान्टेको प्रदर्शन पनि उत्कृष्ट  थियो ।

समग्रमा यस वर्ष सफलता र असफलताको सूची तयार गर्दा लामो हुन सक्छ । ओलम्पिक खेल पनि यसै वर्ष भएका कारण यस सूचीमा धेरै प्रभाव पार्ने पौडी र एथलेटिक्सका खेलाडी धेरै अटाउन सक्छन् ।

यी सबै स्टारका माझ राडुकानुको सफलता विशेष थियो । यो सफलता अनुमान गरिएभन्दा फरक थियो । शायद यो नै एउटा नयाँ अध्यायको सुरुवात पनि हो ।

–एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ०५ बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता