झापा- वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गरेको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ ।
प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए ।
एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।
हाल १६ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा माछा, कुखुरा र बाख्रापालन भइरहेको छ । आगामी दिनमा १० कठ्ठा जमिन लिजमा थपेर व्यवसाय विस्तार गर्ने उनको योजना छ ।
आगामी दिनमा कुखुराको दाना उत्पादनलाई समेत प्राथमिकतामा राखिएको उनले बताए माछा र कुखुरा किन्न स्थानीयवासी फार्ममै आइपुग्ने गरेका छन् ।
“स्वदेश फर्केर यही विधिबाट माछा पाल्ने सोचेको थिएँ”, उनले भने, “अहिले दाजुसँग मिलेर फार्म दर्ता गरी माछा र कुखुरा पाल्दैछौँ ।”
तीन वर्ष मलेशियामा बिताउँदा उनले इन्डोनेशियाली प्रविधिमा आधारित माछापालनलाई नजिकबाट नियालेको बताए ।
यो प्रविधिअनुसार माछा पाल्नका लागि जमिनमा पोखरी खन्नु पर्दैन । जमिनमाथि नै प्लास्टिकको भकारीमा पानी भरिन्छ र माछाका भुरा छाडिन्छ ।
यसरी भकारीमा एकपल्ट भरिएको पानी माछा हुर्किन्जेलसम्म काम लाग्छ । माछालाई सास फेर्न सहज होस् भनेर पानीमा अक्सिजनको मात्रा बढाउन मेशिन जडान गरिन्छ । माछाको आहार त्यही भकारीमा हालिन्छ ।
सुनिललाई यो व्यवासायमा दाजु दीपक शिवाकोटीको दर्बिलो साथ छ । दीपक पनि सशस्त्र प्रहरीमा सात वर्षको जागिर छाडेर माछापालन व्यवसायमा लागेका हुन् ।
शिवाकोटी दाजु–भाइले जमिनमाथि भकारी राखेर माछा पाल्ने आधुनिक र वैज्ञानिक कृषि प्रणालीलाई भित्र्याएकोमा स्थानीयवासी हर्षित छन् ।
यसअघि जमिनमुनि पानी जमाएर प्राकृतिक वा कृत्रिम पोखरीमा माछा पालिएको मात्र देखिएको स्थानीय पत्रकार डम्बर बरालले बताए ।
उनले भने, “विदेशमा बस्दा उहाँले प्रविधि सिकेर आफ्नो देशमा भित्र्याउनुभएको छ, यो ज्यादै खुशीको विषय हो ।”
एउटै थलोबाट माछा, कुखुरा र बाख्रा पाल्ने आफूहरुको योजना रहेको दीपकले बताए । यो व्यवसायमा हालसम्म रु ६० लाख लगानी भइसकेको र आगामी दिनमा थप रु ६० लाख लगानी हुने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया