प्रदेश २ : मन्त्रालय सरुवा गर्छ तर डाक्टर जाँदैनन् | Khabarhub Khabarhub

प्रदेश २ : मन्त्रालय सरुवा गर्छ तर डाक्टर जाँदैनन्

दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहीन



जनकपुरधाम– महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाइ भयो । दक्ष चिकित्सक नहुँदा भेन्टिलेटर यसै थन्क्याइएको थियो । बिरामीहरूले उपचार पाउन सकेका थिएनन् ।

वैशाख २७ गते प्रदेश सरकारले डा. शैलेन्द्र कुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय गर्‍यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एनेस्थेसिस्ट डा. यादवलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयले तत्काल अर्को व्यवस्था नभएसम्म जलेश्वर अस्पतालमा काजमा खटाएको भन्ने पत्र पठायो ।

मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवले वैशाख २६ गते नै काज सरुवाको पत्र पठाए पनि डा. यादव अहिलेसम्म अस्पताल गएका छैनन् । जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले उनी आइनपुगेको जानकारी दिए ।

वैशाख २८ गते सामाजिक विकास मन्त्रालयले फेरि दुई जना चिकित्सकलाई जलेश्वर अस्पतालमा काजमा खटाउने निर्णय गर्‍यो । प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा. रवि प्रधान र मेडिकल अधिकृत डा. सन्तकुमार यादवलाई जलेश्वर पठाउने निर्णय भए पनि उनीहरूले वास्ता गरेनन् ।

मन्त्रालयका अनुसार जलेश्वर विकास समितिका अध्यक्षले अस्पतालका बिरामीहरू जोखिममा रहेको जानकारी गराउँदै एक वर्षअघिदेखि नै चिकित्सक पठाउन आग्रह गरिरहेका थिए । नयाँ भेरिएन्टसहित कोरोना भाइरसको दोस्रो लहर शुरू हुँदा पनि चकित्सक नआएको भन्दै पाण्डेले जेठ ५ गतेदेखि अमरण अनशन बस्ने घोषणा गरेका थिए ।

पाण्डेले मन्त्रालयको आश्वासन पाएपछि अनशन स्थगित गरेको कुरा आफ्नो फेसबुकमार्फत जनाएका छन् । मन्त्रालयले उनलाई छिटै चिकित्सक पठाउने आश्वासन दिएको छ ।

चिकित्सक अभाव हुँदा अस्पतालमा भर्ना भएका कोभिडका बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा पाँच वटा भेन्टिलेटर छन् तर दक्ष जनशक्ति अभावमा प्रयोगविहीन छन् । भेन्टिलेटर चाहिने त्यहाँका बिरामीलाई भने अर्को अस्पताल पठाउने गरिएको छ ।

अस्पतालले भर्ना लिनै छोडे

प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजन अभाव रहेको भन्दै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्री अस्पताल लगायत कतिपय निजी अस्पतालले भर्ना लिन छाडेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन अभावका कारण कोरोना संक्रमित बिरामीको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको बताए ।

‘कोभिड अस्पतालमा ६५ जना बिरामी छन्, सबै संक्रमितलाई अक्सिजनसहितको उपचार गर्नुपरेको छ,’ उनले भने, ‘अक्सिजन आपूर्तिमा समस्या भएपछि उपचार गर्न नसकिने भयो ।’

गजेन्द्रनारायण सिंह अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । सुनसरीको दुहबीस्थित डिपोले अक्सिजन नदिँदा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले बताए ।

अस्पतालहरूले संक्रमितका आफन्तहरूलाई अक्सिजनको व्यवस्था आफैँ गर्नू भन्ने गरेका छन् ।

निजी अस्पताल संघ, धनुषाका अध्यक्ष एवं काव्या हस्पिटलका सञ्चालक डा. सुधांशु सिंहले जनकपुरधाममा करिब १५ वटा अस्पतालले कोरोना बिरामीको उपचार गर्दै आएको बताए । अक्सिजन अभावमा अब ती अस्पतालले बिरामीको उपचार गर्न नसक्ने अवस्था आएको उनले बताए ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले काज सरुवा गरिएका डाक्टरहरू प्रादेशिक अस्पतालमा पनि नआएको बताए । उनीहरूसँग सम्पर्क गर्ने खबरहबको प्रयास सफल भएन ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २१ बजे

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमला गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न