तुफानले निम्त्याएको फिलिपिन्सको संकट | Khabarhub Khabarhub

तुफानले निम्त्याएको फिलिपिन्सको संकट



काठमाडौँ– फिलिपिन्समा बिहीबार आएको आँधीका कारण मर्नेको सङ्ख्या ३ सय ७५ नाघेको छ । १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको राय नामको सुपर तुफानसँगै भित्रिएको आँधीका कारण झण्डै ४ लाख नागरिकबीच भागदौड मच्चिएको थियो ।

आँधीबाट जोगिन उनीहरू घरतर्फ भाग्ने क्रममा थुप्रैले किचिएर ज्यान गुमाएका थिए । ५ सय जना अझ गम्भीर घाइते छन् भने ५६ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार टोलीमा रहनेहरूले  त्यहाँको अवस्था साँच्चै भयावह भएको बताएका छन् ।

हराएकाहरूको यकिन आँकडा प्राप्त हुँदासम्म यो अझ बढ्न सक्ने जनाइएको छ । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै आँकडा पाउन मुस्किल परेको छ । तुफानसँगै बाढी र पहिरोसमेत आउँदा धेरै जनाको ज्यान जान सक्ने खतरा समेत बढेको छ ।

फिलिपिन्स रेडक्रसका प्रमुख रिचर्ड गोर्डनका अनुसार न त त्यहाँ सञ्चारको सुविधा छ न त पिउने पानी नै छ ।

कतिपयले त त्यहाँको अवस्था दोस्रो विश्वयुद्धको समयमा बम खसालिएको ठाउँको भन्दा खराब रहेको बताएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ तथा रेडक्रस सोसाइटीले तत्कालका लागि राहतस्वरूप २० मिलियन स्विस फ्रान्क खर्च गर्ने जनाएको छ । गार्डनले बताए अनुसार रेडक्रसका कर्मचारीले तटीय क्षेत्रको अवस्था नरसंहारकारी भएको बताएका छन् ।

फिलिपिन्सको जीवन अहिले निकै कष्टकर बनेको छ ।

विवरणहरूका अनुसार त्यहाँका नागरिकले आफूसँग भएका सबै कुरा गुमाएका छन् । सम्पत्ति गुमाएका उनीहरू धेरैजना आफन्त पनि गुमाएको पीडामा छन् । यस समयमा उनीहरूलाई सहयोग गर्न स्वयंसेवक समूह सक्रियपूर्वक लागिरहेका छन् ।

प्रभावित क्षेत्रमा हजारौँको सङ्ख्यामा सैन्य समूह, अन्य सुरक्षा निकाय र दमकल कर्मचारी तैनाथ गरिएका छन् । मिलिटरी एयर क्राफ्ट र जहाजमार्फत खाद्यान्न लगिएको छ ।

यसैबीच फिलिपिन्सका  राष्ट्रपति रोड्रिगो डुटरेटले आँधी प्रभावित क्षेत्रमा हवाई निरीक्षण गरेका छन् । उनका सुरक्षा कर्मचारीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोहरूमा सियारगाओ, डिनागाट र मिन्डनाओको दयनीय अवस्था देख्न सकिन्छ ।

डिनागाट टापुका गभर्नर आर्लेन बगाओले अहिले सबै भू–भागमा भत्किएर जमिनमा मिसिएको कुरा फेसबुक स्ट्याटसमा उल्लेख गरेकी छिन् । माछा व्यवसायमा संलग्नहरूको डुङ्गा र जमिन नै विनाश भएको पनि बताइएको छ ।

त्यहाँको सर्वाधिक परिचित सञ्चारमाध्यम रेपलरमा जनाइए अनुसार त्यहाँका सबै बासिन्दाले  घर, भित्ता, छाना र खानेकुरा गुमाइसकेका कारण सहयोगको भरमा जिन्दगी बचाउनुपर्ने बाध्यतामा परेको पनि गभर्नरले उल्लेख गरेकी छिन् ।

यो प्रान्तमा भएको अवस्था र क्षति सम्झन पनि कठिन हुने खालको रहेको प्रतिक्रिया गभर्नरको छ ।

त्यसो त फिलिपिन्सको यो सबैभन्दा ठूलो र डरलाग्दो आँधी भने होइन । यसभन्दा अघि सन् २०१३ मा  हाइयान नामको तुफानसँगै आएको आँधीका कारण झण्डै ६ हजार जनाको ज्यान गएको थियो । फिलिपिन्समा  प्रत्येक वर्ष औसतमा २० वटा आँधी र तुफान आउने गरेको छ ।

जुलाई र अक्टोबरबीचको यो चक्रपछि फिलिपिन्समा अहिले यो अनुमान गरिएभन्दा फरक समयमा आएको आँधी हो ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले तापक्रममा वृद्धि भएका कारण घातक र डरलाग्दो आँधी र तुफानको क्रम अझ बढ्न सक्ने चेतावनी दिएका छन् ।

फिलिपिन्समा अझै आँधी आउन सक्ने सम्भावनाका कारण धेरै जना चिन्तामा छन् । कम उचाइको तटीय क्षेत्रका बासिन्दालाई मौसमविद्हरूले सचेत गराउने काम गरिरहेका छन् । मौसमविद् क्रिस्टोफर पेरेजले ठूलो वर्षा हुने र  रुखहरू ढल्ने लगायत अझ क्षतिको सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

राय नामको यो तुफान चीनबाट फिलिपिन्स हुँदै भियतनामतर्फ जाँदा कमजोर भएको  अनुमान गरिएको छ ।

के हो तुफान ?

तुफानलाई अर्को भाषामा हरीकन तथा साइक्लोन पनि भन्ने गरिन्छ । यसको आगमनसँगै आँधी, हुरी र बाढी एकैपटक आउने सम्भावना हुन्छ । यसरी तुफानको प्रभावमा पर्ने देशमा फिलिपिन्स मात्र होइन, समुद्री तटमा रहेका अन्य देश पनि छन् । अमेरिकामा सन् १८५१  देखि प्रत्येक वर्ष यस किसिमको तुफान आउने गरेको छ ।

उष्णक तटबन्धीय क्षेत्र, भूमध्य रेखाका आसपासका क्षेत्रका साथै प्रशान्त महासागरका उत्तर पश्चिम क्षेत्र यस किसिमको हुरी र तुफानको अत्यधिक जोखिममा छन् । दक्षिण महासागर र हिन्द महासागरको क्षेत्रमा यस किसिमका तुफान चक्रीय रूपमा रहेका छन् । विश्वमा बर्सेनी ४० देखि ५० पटक यस्ता हुरी तुफानको रूपमा परिणत हुन्छन् ।

वैज्ञानिकहरूले जनाएअनुसार सन् १९७० देखि यता तुफानको शक्तिमा ७० देखि ८० प्रतिशतले वृद्धि भएको छ । वातावरणमा बढेको तापक्रमको कारण विगतमा भइरहेको सन्तुलनमा गडबडी आएर यसरी तुफानको शक्ति बढेको हो । अन्य सामान्य आँधीको गति भने ३० प्रतिशत बढेको छ । जलवायु परिवर्तनकै कारण तुफानका कारण धेरै वर्षा हुने र बढी आउने गरेको छ । यसले जनजीवन अझ बढी कठिन बन्दै गएको छ ।

फिलिपिन्सकै हकमा यस खालको तुफानले बारम्बार क्षति गरेको छ । कतिसम्म भने राहतका लागि त्यहाँ पुग्नेहरू पनि आत्तिएर फर्केका छन् । राहत बाँड्न गएको समयमा धेरैजना घरबाट बाहिर निस्कनै डराएर राहत नपाएका घटना पनि छन् ।

सन् २०१२ मा यसै किसिमको तुफानले फिलिपिन्सको जनजीवन तहसनहस बनाउँदा राष्ट्रसङ्घको सहयोगी दस्ता पुगेको थियो । ‘बोफा तुफान’ले दुख दिएको समयमा राहत समूह फर्किसकेपछि बालकहरू सडकमा मागेर बसेका थिए ।

यसअघि पनि तुफानले निम्त्याएको थियो संकट

इतिहासमा थुप्रै यस्ता तुफान छन्, जसलाई मानिसले वर्षौँसम्म सम्झने गरेका छन् । ८ अक्टोबर १८८१ मा हाइपहोङ नामको तुफान देखिएको थियो । नरसंहारकारी यो तुफानले भियतनाममा झण्डै ३ लाख जनाको ज्यान लिएको थियो ।

नीना नामको तुफान सन् १९७५ को जुलाई ३० मा चीनमा देखिएको हो । यो तुफानमा आँधीभन्दा बढी बाढीको प्रभाव थियो । यसले लहर र बाँधहरू धेरै भत्काएको थियो । यस तुफानले २ लाख २९ हजार जनाको लिएको बताइन्छ ।

यस्तै सन् २०१३ को फिलिपिन्समा देखिएको हाइयान नै अहिलेसम्मको सबैभन्दा घातक तुफान हो । यसलाई क्याटोगोरी फाइभको तुफान पनि भन्ने गरिएको थियो । यसको गति ३१५ किलोमिटर प्रति घण्टा थियो ।

सन् १९५९ को २० सेप्टेम्बरमा सुरु भएको भेरा तुफान पनि क्याटोगोरी फाइभ अन्तरगतकै हो । एकैपटक भीषण वर्षा, बाढी र हुरीसहित जनजीवनलाई तहसनहस बनाउने गरी सो तुफान आएको थियो । जापानमा प्रभाव पारेको यो तुफानले १५ लाख जनालाई घरबार विहीन बनाएको थियो भने ५ हजार जनाको ज्यान लिएको थियो ।

सन् १९५८ को सेप्टेम्बर २० मा इदा नामको तुफानले ठूलो धनजनको क्षति गरेको थियो । यसले जापानका २ हजार १ सय १८ घर भत्काएको थियो । थुप्रै सडक पनि पुनर्निर्माण गर्नैपर्ने अवस्था सिर्जना गरेको थियो । सो तुफानले १ हजार २ सय ६९ जनाको ज्यान लिएको थियो भने १२ हजारलाई घरबारविहीन बनाएको थियो ।

सन् १९५९ मै जापान र दक्षिण कोरियामा देखिएको सहारा तुफानले ८ सय ४० जनाको ज्यान लिएको थियो । यसले धेरै कृषि बाली नोक्सान गरेको थियो । यसको दुई वर्षपछि मात्र जापान र ग्वामको सीमा क्षेत्रमा नेन्सी नामको तुफान आएको थियो । लामो समय रहेको यो तुफानले १ सय ९१ जनाको ज्यान लिएको थियो ।

त्यस्तै सन् १९६२ मा हङकङमा आएको वान्डा तुफानले पनि जनजीवनलाई त्यत्तिकै असहज बनाएको थियो । यसले २ हजार डुङ्गा बगाएको थियो भने ७२ हजार नागरिकलाई घरबारविहीन बनाएको थियो । यसै तुफानका कारण १ सय ३० जनाको ज्यान गएको थियो ।

प्रकृतिको देन र संहारको कुनै सीमा नै हुन सक्दैन । मानिसको काम केवल सचेतना अपनाउने मात्र हो । पछिल्लो वर्ष जलवायु परिवर्तनका कारण थुप्रै प्राकृतिक विपत्ति देखिए । हाम्रो बेवास्ताका कारण यस्ता थुप्रै सङ्कट हामीले झेल्नुपर्ने अवस्था निकट भविष्यमा आउन सक्ने देखिएको छ ।

–एजेन्सीहरुको सहयोगमा

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ४६ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप