पैसा पाउन आन्दोलन गर्नुपरेपछि किसानहरू घटाउँदैछन् उखु उत्पादन « Khabarhub

पैसा पाउन आन्दोलन गर्नुपरेपछि किसानहरू घटाउँदैछन् उखु उत्पादन



काठमाडौँ– सर्लाहीका किसान हुन् हरिश्याम राय । उनी उखुखेती गर्छन् । मौसम अनुसारका अरू बाली पनि लगउँछन् तर उनको मुख्य खेती र आम्दानीको स्रोत उखु हो । उनी मुख्य खेती उखुमै सन्तुष्ट छैनन् । उखु राम्रो नभएर होइन, चिनी उद्योगले उखु किनेको पैसा नतिरेर ।

हरिश्यामले उखुखेती गरेको आठ वर्ष भयो । सुरुमा उनले १८ विघा जमिनमा उखु लगाएका थिए । उद्योगले समयमै भुक्तानी दिने हो भने आम्दानी सन्तोषजनक नै हुन्छ तर सोचेजस्तो भएन ।

उनले उखुखेती घटाउँदै लगे । यस वर्ष ५ बिघामा मात्रै लगाएका छन् । ‘उखुको पैसा समयमा पाइँदैन,’ उनी भन्छन्, ‘आम्दानीको अर्को विकल्प छैन, हातमुख जोड्न पनि धौधौ परिसक्यो ।’

उनका अनुसार दुई वटा मिलबाट उनले ९ लाख रुपैयाँ पाउन बाँकी छ ।

‘अन्नपूर्ण सुगर मिलले ७ लाख दिन बाँकी छ, ३ वर्षदेखिको बाँकी हो,’ हरिश्यामले भने, ‘महालक्ष्मी सुगर मिलले २ लाख रुपैयाँ दिन बाँकी छ ।’ हरिश्याम जस्ता किसान धेरै छन् । उखुखेती गर्ने धेरै किसानको अवस्था मिल्दोजुल्दो छ ।

अधिकांश किसानले १० हजारदेखि २ लाख रुपैयाँसम्म पाउन बाँकी छ । चिनी मिलले काम चलाउँदै गर्नू भनेर थोरै थोरै रकम दिने गरेको अर्का किसान राजेश यादवको भनाइ छ । राजेशले ८ विघामा उखुखेती गर्दै आएका छन्, हालसम्म ५ लाख रुपैयाँ पाउन बाँकी छ ।

‘धन्न ! गत वर्ष इन्दु शंकर मिलले उखु लग्यो र समयमै पैसा दियो नत्र वर्षभरि खर्च चलाउन पनि ऋण खोज्नुपर्ने थियो ?’ चिनी मिलले किसानलाई समयमै उखुको रकम भुक्तानी नगर्दा किसानमा खेती लगाउने जाँगर घट्दै गएको राजेशको भनाइ छ ।

‘कतिपय किसानले विगतको रकम माया मारिसकेका छन्,’ उनले भने, ‘मिलले पनि तिमीले यति पाउनु छ भनेर किसानलाई हिसाब दिँदैनन् ।’ समयमा पैसा नपाउने भएपछि र हिसाब पनि हराउँदै जान थालेपछि किसानहरूले उखुखेती घटाउन थालेको राजेशले बताए ।

‘धेरै किसानले उखु उत्पादन घटाएका छन्, मैले पनि घटाएँ,’ उनी भन्छन्, ‘मिललाई उधारोमा दिनुपर्छ, पैसा कहिले आउँछ थाहा हुँदैन, साहुले हामीलाई पर्खिंदैन ।’ किसानहरूले आफ्नो उत्पादनको बक्यौता रकम पाउन आन्दोलन गर्नुपरेको छ, आन्दोलनले केही रकम उठे पनि सबै भुक्तानी भएको छैन । राजेशका अनुसार यसपालि पनि आन्दोलनको तयारी थियो तर लकडाउनले रोकियो ।

उखु उत्पादक किसनाहरूले ठूला चाडपर्व आउँदा चिनी मिलबाट पैसा पाउने अपेक्षा राख्छन् तर पाउन सकेका छैनन् । हरिश्याम भन्छन्, ‘चाडपर्वमा पाइन्छ कि भन्ने आश हुन्छ तर पाइँदैन ।’

सर्लाहीका उखु उत्पादक किसानले २०७६ पुसमा २१ दिनसम्म आन्दोलन गरेका थिए । जिल्लामा शुरु भएको आन्दोलन पछि राजधानीमा काठमाडौँमा केन्द्रित भएको थियो । बक्यौता रकम नपाएसम्म आन्दोलन नरोक्ने अडान राखेपछि किसानहरूका माग सम्बोधनका लागि सरकार र चिनी उद्योगबीच पाँच बुँदे सहमति भएको थियो ।

सहमतिमा चिनी उद्योगबाट सोही वर्षको माघ ७ गतेसम्ममा सबै रकम तिर्ने भनिएको थियो तर किसानहरूले अझै पनि पूरै रकम पाउन सकेका छैनन् ।

साढे ११ करोड बाँकी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त जानकारीअनुसार चिनी उद्योगहरूले २०७८ असार मसान्तसम्म ११ करोड ५६ लाख ४६ हजार रुपैयाँ किसानलाई तिर्न बाँकी छ ।

मन्त्रालयका अनुसार २०७६ सालसम्ममा १ अर्ब ४० करोड तिर्न बाँकी थियो । मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका उपसचिव प्रेमप्रसाद लुइँटेलका अनुसार मन्त्रालयको पहलमा २०७७ मा आइपुग्दा ६५ करोडमा आयो, २०७८ मा ११ करोड बाँकीमा झरेको छ, यो पनि छिट्टै भुक्तानी हुने अपेक्षा छ ।

मन्त्रालयको विवरणअनुसार लुम्बिनी चिनी उद्योग, सुनवल र सुस्ता पूर्व नवलपरासीले किसानलाई २४ लाख ९२ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ । इन्दिरा सुगर एन्ड एग्रोले १ करोड ६ लाख ५९ हजार, अन्नपूर्ण सुगर मिलले अनुमानित ६ करोड र श्रीराम सुगर मिल्सले ३ करोड १२ लाख ९ हजार रुपैयाँ तिर्न छ ।

महालक्ष्मी सुगर्सले गत आर्थिक वर्षको अन्तिमसम्ममा बक्यौता भुक्तानी गरिसकेको छ । किसानहरूलाई भने मन्त्रालयको तथ्यांकमा पूर्ण विश्वास छैन । कति त हिसाब नै हराइसकेको राजेशको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ३ : ५१ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो