नवलपुरमा जंगल सफारी र होमस्टेपछि प्याराग्लाइडिङको सम्भावना बढ्यो | Khabarhub Khabarhub

नवलपुरमा जंगल सफारी र होमस्टेपछि प्याराग्लाइडिङको सम्भावना बढ्यो

बालुवाडाँडामा प्याराग्लाइडिङ परीक्षणपछि युवाहरु उत्साहित



नवलपुर– पोखराको सराङकोटमा लामो समयदेखि व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान हुँदै आएको छ ।

जसले पर्यटन व्यवसायलाई प्रवर्द्धन गरेको छ । हावाको बहावको असन्तुलनले गर्दा कतिपय ठाउँमा प्याराग्लाइडिङ दुर्घटना पनि भएका छन् ।

प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि उडान भर्ने ठाउँ र अवतरण गर्ने ठाउँ उपयुक्त हुनुपर्ने प्याराग्लाइडिङ व्यवसायीहरु बताउँछन् ।

प्याराग्लाइडिङको सम्भाव्यता खोज्दै एकसाताअघि पोखरामा रहेको क्लाउड बेस प्याराग्लाइडिङ्ग प्रा.लि र पिस हिमालयन प्याराग्लाइडिङ्ग प्रालिका सञ्चालकहरु गण्डकी प्रदेशकै दक्षिणी जिल्ला पूर्वी नवलपरासी आइपुगे ।

नवलपरासीपूर्व कावासोती नगरपालिकाको पहाडी गाउँ कुमसोत र बालुवाडाँडाको छनोट गरी उडान परीक्षण गर्न अनुमति लिएका थिए ।

पाँच दिनसम्मको परीक्षणपछि बालुवाडाँडाबाट व्यावसायिक रुपमा नै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उनीहरुले निष्कर्ष निकालेका छन् ।

परीक्षणका क्रममा कावासोती नगरपालिका १ का युवाहरुले साथ दिएका थिए । यो ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिएमा पर्यटन प्रवद्धन गर्न सकिने भन्दै आफूहरुले साथ दिएको स्थानीय बिमल रानाले बताए ।

प्याराग्लाइडिङ्गका लागि  सम्भावना बोकेको तथा प्राकृतिक र प्राविधिक रूपमा समेत यो ठाउँ उपयुक्त स्थान भएको पाँच दिनसम्मको परीक्षणपछि प्याराग्लाइडिङ्गका क्याप्टेन पाइलट हरि पहारीले बताए ।

बालुवाडाँडाबाट प्यराग्लाइडिङ उडान गरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको पोखरीताल तथा केरुङ्गेखोलाको किनारमा अवतरण गराइएको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी, कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुन, उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय युवा तथा पत्रकारहरुले पनि परीक्षण उडानमा सहभागिता जनाए ।

पहिलो पटक आफ्नै गाउँठाउँबाट प्याराग्लाइडिङ उडान गरी नवलपुरको मनोरम दृष्यालोकन गर्न पाउँदा आफूलाई निकै खुशी लागेको स्थानीय पत्रकार तीर्थ डुम्रेले बताए ।

प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि स्थानीय युवाहरु उत्साहित देखिएका छन् । कावासोती नगरपालिका १ स्थित बालुवाडाँडा समुन्द्र सतहदेखि ९ सय मिटर उचाइमा छ । यो ठाउँबाट गरिएको प्याराग्लाइडिङ्ग परीक्षण सफल भएकाले नियमित सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने बालुवाडाँडा पर्यटन युवा सञ्जालका अध्यक्ष उमेश रानाले बताए ।

व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडानको सम्भाव्यता रहे पनि प्रशासनिक कार्यहरु मिलाउनुपर्ने भएकाले त्यस विषयमा अन्य प्रक्रिया बाँकी नै रहेको उनले बताए ।

अवतरण गर्ने हात्तीखोर क्षेत्रमा नेपाली सेनाको ब्यारेकसमेत रहेकाले त्यसबारेमा पनि प्रशासनिक जटिलताहरु टुंग्ग्याउनुपर्ने रानाले बताए ।

नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर स्थानीय युवाहरूले पर्यटकीय गतिविधि बढाउन नवलपुरको डाँडाबाट प्याराग्लाइडिङ्ग उडान परीक्षण गरेका थिए । यसको सफल परीक्षणपछि नवलपुरलाई पर्यटकीय हबको रूपमा विकास गर्ने सोंच युवाहरुको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा भएको जंगल सफारी तथा नारायणी नदी किनारका सञ्चालन गरिएका होमस्टेहरुले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै आएकोमा प्याराग्लाइडिङको अर्को सम्भावना देखिएको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ०१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड