धरहराको उद्घाटन गर्दा भएन कोरोनाको त्रास ? | Khabarhub Khabarhub

धरहराको उद्घाटन गर्दा भएन कोरोनाको त्रास ?



काठमाडौँ– कोरोना महामारीले तीव्र रुप लिदैं गएपछि गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्‍यो ।

सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा साँस्कृतिक क्रियाकलाप गर्नुपरेको खण्डमा जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी काम गर्न आदेश जारी गरेको थियो ।

तर आज एक प्रधानमन्त्री केपी शर्मा ओलीकै अगुवाइमा धरहरा उद्घाटन गर्दाको दृश्य हेर्ने हो भने नियम लागू गर्ने निकाय नै उल्लंघन गर्दै हिँडेको देखियो।

दृश्य हो शनिबार बिहान ११ बजेको । राजधानी काठमाडौँको सुनधारा क्षेत्र निकै व्यस्त देखिन्थ्यो ।
सडकका भित्तादेखि बिजुलीका पोलसम्म ‘पुनर्निर्मित ऐतिहासिक धराहराको समउद्घाटन’ लेखिएका पोस्टर टाँसिएको थियो ।

धराहराको टावर उद्घाटन गर्न मन्त्री, संसद र जनप्रतिनिधिमात्र होइन आँखाले देख्न सक्ने अवस्थासम्म सर्वसाधरण पनि सहभागी भएका थिए ।

भीडभाड निकै बाक्लो थियो । वरपर बाजाबजिरहेको थियो । साथमा नवनिर्मित धरहरा हेर्नेहरुको घुँइचो उत्तिकै थियो ।

खिचापोखरीतर्फबाट धरहरा प्रवेशद्वार बनाइएको थियो ।

गेटमा केही कर्मचारीहरुले मास्क र स्यानीटाइर वितरण र तापक्रम मापन गरिरहेका थिए ।

झट्ट हेर्दा व्यवस्थित देखिए पनि भित्र भने कसैले भौतिक दूरी कायम गरेको थिएन । मानिसहरु खचाखच नै थिए ।

उद्घाटनका लागि सजाइएको मञ्च भित्रमात्र होइन बाहिरको भिडलाई समेत कसैले व्यवस्थित गर्न सकेकै थिएन ।

भौतिक दूरी कायम गरिएको थिएन । भीडकै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको उद्घाटन गरे ।

पूर्वाधार निर्माणले गति लिएको उदाहरण हेरेका सर्वसाधारणले कोरोनाको कहरलाई बिर्सिएको झै देखिन्थ्यो । तर अहिले दैनिक २ हजारदेखि ३ हजारसम्म नयाँ संक्रमितहरु थपिरहेका छन् ।

अब सबैले आफैँलाई प्रश्न गर्ने बेला भएको छ कोरोनाको कहरको चर्चा मात्र गर्ने कि आफूले पालन गर्नुपर्ने नियम पालन गर्ने ?

नियावक निकायले पनि सोच्ने बेला आएको देखिन्छ ।

धरहरालाई सम्झिँदा…
नेपालीको आस्था र गरिमा बोकेको धराहरा वि.स. १८८२ मा महारानी ललित त्रिपुरा सुन्दरीको निर्देशनमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भका नामले पनि चिनिन्थ्यो ।

तर यो धरहरा तत्कालीन समाजको मात्र होइन । वर्तमान समाज र पुस्तामा समेत स्वाभिमानको प्रतीक बन्न सफल भयो ।

१९९० साल माघ २ गतेको भूकम्पले ११ तले धराहरालाई ९ तलामा सीमित गरिदियो । पछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा पुनर्निर्माण गराए ।

०७२ साल वैशाख १२ गतेको भूकम्पले पुनः धरहरा ढाल्यो । धरहराले पुरिएर ६० जनाले ज्यान गुमाए ।

केही समय धराहरा पुनर्निर्माण अन्योल बन्यो । ०७२ साल फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म बनाउछु’ अभियानको घोषणा गरे ।

हरेक नागरिकले धरहरा बनाउन सहयोग गर्न मिल्ने गरी धरहरा पुनर्निर्माण कोष स्थापना भयो ।

कोषमा देश तथा विदेशमा रहेका नेपाली तथा सहयोगीले जम्मा गरेको रकम २४ करोड भेला भयो ।

०७५ असोज १४ मा धरहरा पुनर्निर्माण गर्न कम्पनी जीआईईटीसी—रमन जेभीसँग सम्झौता भयो ।

३ अर्ब ४८ करोड रुपैयाँ लाग्ने धरहरा निर्माण गर्न कोषमा भएको रकमले नपुगे सरकारले व्यहोर्ने गरी ०७५ पुस १२ गते धरहरा पुनर्निर्माणको शिलान्यास भयो ।

सोही सम्झौता अनुसार बनेको धरहरा २०७८ वैशाख ११ गते उद्घाटन भयो ।

आफैँ उठेजस्तो लाग्यो : प्रधानमन्त्री

उद्घाटनपछि प्रधानमन्त्री लिफ्टमार्फत २२ तले धरहरा चढे ।

‘पुनर्निमित २२ तले धरहराको बालकुनीमा उभिएर काठमाडौँ नियालेँ’ उनले भने, ‘वरपरको दृश्य नियालिरहँदा आफैं बाउडिएर उठे जस्तो लाग्यो ।’

धरहरा ठडिएको ऐतिहासिक दिनको समझनामा उनले नेपालीलाई घरघरमा दिपावली मनाउन समेत अनुरोध गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४२ बजे

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी