श्रमबजारमा श्रमिकले कोरानापछिको समयमा कसरी काम गर्छन् भन्ने प्रश्न अहिले विश्वभर नै अहम् बनेको छ ।
अनुसन्धानले श्रमिकहरू घरबाटै काम गर्न अभ्यस्त भएको देखाएको छ । कोरोना कालपछि पनि उनीहरूले यस्तै लचकताको अपेक्षा राखेको पाइएको छ ।
केही उद्योगहरूले ग्रामीण क्षेत्रबाट आफ्नो काम चालु गर्ने बताइसकेका छन् । केहीले मिश्रित प्रणाली अपनाउने जनाएका छन् । यसमा कामदारले केही दिन घरबाट र केही दिन कार्यालयबाट काम गर्नुपर्ने हुन्छ ।
यस्ता उद्योगहरू पनि छन् जो पहिलेकै जस्तो अवस्था होओस् भन्ने चाहन्छन् । उनीहरू आफ्ना सम्पूर्ण कामदार कार्यालयमै आएर काम गरून् भन्ने चाहन्छन् ।
‘म सबै कर्मचारी कार्यालयमै आएर काम गरेको हेर्न चाहन्छु,’ क्यूरियन उद्योगका सीईओ श्यान बिस्सेगलिया भन्छन्, ‘हामीले अहिले हाम्रा कर्मचारीमा हुने सिर्जनात्मकता गुमाइरहेका छौँ, सहकर्मीसँग सम्पर्कमा आउन अप्ठेरो महसुस पनि हुने गरेको छ । एक हदसम्म यो हामीबीचको सांस्कृतिक भिन्नताले पनि हुनसक्छ ।’
क्यूरियन एक उपभोक्ताले कस्ता किसिमका सामग्री खरिद गर्ने इच्छा राख्छ भन्ने जानकारी हासिल गर्ने अनुसन्धान संस्था हो जसको अमेरिकाभर करिब ३५० जना कामदार छन् । यीमध्ये करिब आधा कर्मचारी अनुसन्धानको काम गर्छन् भने आधाजतिले कार्यालयको काम गर्छन् । गएको वसन्तमा उनीहरूको अनुसन्धानको काम नै बन्द भयो । केही समयदेखि यो काम चालु छ । कामदारहरू पनि काममा फर्किन थालेका छन् ।
घरबाट काम गर्दा कर्मचारीलाई केही सहज र लचकता हुन्छ तर यसले युवा पुस्तालाई असर पुर्याएको छ । कार्यालय गएर काम गर्दा पाका सहकर्मीबाट जुनको सिकाइ हासिल गर्न सकिन्छ, त्यो घर बसेर हुँदैन ।
कार्यालयमा आएर काम गर्ने कर्मचारी भने गत एक वर्षदेखि घरबाटै काम गर्दै छन् । यसले गर्दा उत्पादकत्वमा वृद्धि त भएको छ तर बिस्सेगलियाका लागि यही समस्या भइदियो ।
‘उत्पादकत्व यति वृद्धि भएको छ कि रातको १० बजेदेखि बिहान १ बजेसम्म उपभोक्ताहरूको इमेल आउँछ’, उनी भन्छन्, ‘यसले गर्दा हाम्रो उद्योग नै धराशायी हुन्छ कि भन्ने चिन्ता थपिएको छ ।
अबको हाम्रो योजना जुलाई १ सम्म ५० प्रतिशत कामदारलाई कार्यालयबाटै काम गर्न लगाउने र अक्टोबर १ बाट शतप्रतिशत कामदारलाई कार्यालयमा बोलाउने हाम्रो उद्देश्य छ । केही कामदार अहिले नै कार्यालयबाट काम गर्न थालेका छन् ।
कम्पनीले भ्याक्सिनेसन दरका विषयमा आफूहरू सचेत रहेको बताएको छ । राष्ट्रियस्तरमा र आफ्नो कामदार दुवैको भ्याक्सिनेसनको दरका विषयमा कम्पनी सचेत रहेको उनीहरू बताउँछन् ।
बिस्सेगलिया भन्छन्, ‘हामीलाई के विश्वास छ भने यो दर राष्ट्रिय औसतभन्दा बढी नै हुनेछ ।’
हालैको अनुसन्धानले पनि ६५ प्रतिशत कामदार कार्यालयमै फर्किएर काम गर्ने इच्छा राखेको देखाएको छ तर यो तरल अवस्था सहज भने हुनेछैन ।
बिस्सेगलियाका अनुसार गएको यो एक वर्ष धेरै संवेदनशील रह्यो, यो सम्भवतः सबैभन्दा ठूलो परिवर्तन व्यवस्थापनमा गर्नुपर्ने हुनसक्छ । कामदारलाई कार्यालयमै फिर्ता बोलाएर काम गर्नुपर्ने अवस्था निकै अप्ठेरो र चुनौतीपूर्ण पनि हुनसक्छ ।
यस्तै, कार्यालयमा काम गर्ने अभिभावक घरबाट काम गर्दा सन्तानलाई समय दिन पनि पाउने भएकाले खुसी देखिन्छन् । त्यसैले उनीहरूले कार्यालय फर्किएर काम गर्नुलाई सहज नमान्न पनि सक्छन् ।
बिस्सेगलिया भन्छन्, ‘हामी यो कुराको सम्मान गछौँ । यो परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय कार्यालयको व्यवस्थापन समूहका लागि ठूलो चुनौती हो । यसलाई सही ढङ्गले व्यवस्थापन गर्नु अहिलेका लागि ठूलो परिवर्तन हुनेछ ।’
कम्पनीले लिने निर्णयका कारण आफूहरूले दक्ष कर्मचारी गुमाउनुपर्ने सम्भावना रहन्छ भन्ने विषयमा बिस्सेगलिया सचेत छन् ।
उनी भन्छन्, ‘हाम्रो क्षेत्र एक विशेष प्रकारको हो, हामी कुनै पनि कर्मचारी गुमाउन चाहँदैनौँ तर यसको रचनात्मकता, संस्कृति र सहजता फिर्ता ल्याउने प्रयास भने जोखिमपूर्ण छ ।’
जुन कामदारसँग महामारी शुरू हुनुपूर्व नै कार्यालयको काम गर्न घरमा छुट्टै स्थानको व्यवस्था थियो, उनीहरूले त्यसरी नै काम जारी राख्न सक्नेछन् । बिस्सेगलिया भन्छन्, ‘जुन कामदार हामीले पूरा समय कार्यालयमै रहेर काम गरून् भन्ने अपेक्षा राखेका थियौँ, उनीहरूले अक्टोबरबाट पूर्णतया कार्यालयबाट सुरक्षित हिसाबमा काम गर्ने छन् ।’
यो तरल अवस्थाबाट पार पाउन शुरूवाती चरणमा कार्मचारीहरूको समूह छुट्ट्यएर हप्ताको दुई पटक कार्यालयमै आएर काम गर्ने व्यवस्था मिलाइने ।
उदाहरणका लागि, वित्तीय र लेखा शाखामा काम गर्ने कर्मचारीहरू सोमबार र बुधबार कार्यालयमै आएर काम गर्नेछन् । यस्तै बजार व्यवस्थापन र तथ्यांक शाखामा काम गर्ने कर्मचारीले मङ्गलबार र बिहीबार कार्यालयबाट काम गर्नेछन् ।
यसका लागि कम्पनीले विशेष प्रकारको व्यवस्था गर्नेछ । कुनै पनि कर्मचारीको काम गर्ने स्थायी टेबल हुनेछैन । आवश्यक पर्दा उनीहरूले पहिलै नै त्यसको जोहो भने गर्न सक्नेछन् ।
सबै कर्मचारी कार्यालयमै आएर काम गर्दा उत्पादन सही मात्रामा हुने उनी विश्वास गर्छन् । कर्मचारीहरू एक आपसमा कुराकानी गर्दै काम गर्दा कार्यालय बाहिर रहेर काम गर्दा हुने उत्पादनमा फरक आउनेछ । भौतिकरूपमा कर्मचारीलाई कार्यालयमा उपस्थित गराएर काम गराउन भने जोखिमयुक्त हुन सक्छ ।
बेलायतको व्यापार कनेक्टिभिटी एवं कन्भ्रजेन्स समूहले केही कर्मचारीलाई कार्यालयमा बोलाएर पूरा समय काम गराउने योजना बनाएको छ ।
बजार व्यवस्थापनसँग जोडिएका कर्मचारीले कार्यालयबाटै काम गर्ने अपेक्षा गरिएको छ । यस्तै कार्यालयका अन्य विभागमा रहेर काम गर्नेहरू भने मिश्रित प्रणालीअनुसार कहिले घरबाट र कहिले कार्यालयबाट काम गराउने योजना रहेको बताउँछ ।
कन्भ्रजेन्स समूहका रणनीतिक निर्देशक फ्राङकी हेल भन्छन्, ‘एकअर्कासँगको संवादका माध्यमबाट अघि बढ्नु नै व्यापारको प्रमुख पाटो हो ।’
कम्पनीसँग सातै दिन, चौबीसै घण्टा काम गर्नुपर्ने कल सेन्टर छ । यसमा कार्यालय बाहिर रहेर काम गर्न अप्ठेरो हुनेगरेको छ । त्यसैले सबै कर्मचारीलाई कार्यालयमा नै बोलाएर एउटा स्थानबाट काम गर्दै हाल देखिएको समस्या समाधान गर्ने उसको योजना रहेको छ ।
सिकागोस्थित कानूनी फर्म स्कोनबर्ग फिङ्केल बिडरमैनका बेल ग्लेजरको कार्यालयमा केही महीना यता कर्मचारी कार्यालयबाट नै काम गर्न थालेका छन् । कर्मचारीहरू समूह बनाएर हप्तामा पालैपालो कार्यालय आउन थालेका छन् । लेखा शाखा र कार्यालय व्यवस्थापन शाखामा काम गर्ने कर्मचारी हप्तैभरि कार्यालय आउन थालेका छन् ।
‘हामी मित्रवतरूपमा सामूहिक काम गर्ने संस्था हौँ, त्यसैले हामी समूहमै काम गर्ने इच्छा राख्छौँ,’ कम्पनीका ५० जना कर्मचारीको व्यवस्थापन गरिरहेका एड्म ग्लेजर भन्छन्, ‘हाम्रा सबै सदस्य यहाँ उपस्थित भएपछि हामी उच्च क्षमताका साथ कार्य सम्पादन गर्न सक्छौँ ।’
कम्पनीले जुलाई १ बाट स्थानीय कानूनले दिएको अवस्थामा सबै कर्मचारीलाई कार्यालयबाट काम गर्न लगाउने योजना बनाएको छ । यसो गर्दा कम्पनीले स्थानीयस्तरमा कोभिड संक्रमण दर र राष्ट्रिय नीतिमा ध्यान दिनेछ ।
ग्लेजर भन्छन्, ‘सबैले संक्रमण दरलाई निरन्तर ध्यान दिँदै छन् । यदि संक्रमण दरमा केही परिर्वतन आयो अथवा गलत दिशातर्फ गयो भने हामी हाम्रो योजना बदल्ने विषयमा सोच्ने छौँ ।’
कार्यालय बाहिर ग्रामीण क्षेत्रमा रहेर काम गर्नुको आफ्नै फाइदा छ तर सहकार्यविना संवादहीनरूपमा काम गर्दा गुणस्तरमा समस्या देखिएको ग्लेजरको भनाइ छ ।
घरबाट काम गर्दा कर्मचारीलाई केही सहज र लचकता हुन्छ तर यसले युवा पुस्तालाई असर पुर्याएको छ । कार्यालय गएर काम गर्दा आफूभन्दा पाका सहकर्मीबाट जुन प्रकारको सिकाइ हासिल गर्न सकिन्छ, त्यो घर बसेर हुँदैन ।
ग्लेजर भन्छन्, ‘युवा पुस्तालाई कार्यालयमै गएर काम गर्नु धेरै फाइदा हुन्छ । उनीहरूले नयाँ कुरा सिक्ने अवसर प्राप्त गर्छन् ।’ अचानक केही घटनाक्रम विकसित भयो भने कर्मचारीलाई घरबाट काम गर्न सहज हुने उनको भनाइ छ ।
‘कार्यालय बाहिरबाट काम गर्ने सवालमा हामी धेरै लचक हुन्छौँ,’ ग्लेजर भन्छन्, ‘केही व्यक्तिलाई केही अवसरमा कार्यालय बाहिरैबाट काम गर्दा सहज हुनसक्ने कुरा हामी नकार्दैनौँ । केही कुरामा सम्झौता गर्दै हामी महामारीपूर्वकै अवस्थामा कार्यालय सञ्चालन गर्न चाहन्छौँ ।’
(कैथरिन वासेली सीएनएनमा विजनेस सम्बन्धी वरिष्ठ लेखक हुन् । १७ मे २०२१ मा सीएनएनमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया