‘हाँडीगाउँको जात्रा’ स्वास्थ्य सुरक्षाका विधि अपनाएर मनाइयो « Khabarhub

‘हाँडीगाउँको जात्रा’ स्वास्थ्य सुरक्षाका विधि अपनाएर मनाइयो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा गत वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो । यस वर्ष भने महामारीको जोखिम कायमै रहे पनि सङ्क्रमणदर कम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उनले सुनाए । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्दी प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथै भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमेबाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए ।

मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो । मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ३५ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा