राजनीति

यी तीन विषयमा केन्द्रित हुनेछ माओवादीको राष्ट्रिय सम्मेलन

By खबरहब

December 24, 2021

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ।

पर्सी आइतबार सुरु हुने राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिम विधान–२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो ।

माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची हुनेछ।

अध्यक्ष दाहालले प्रतिवेदनमार्फत माओवादीबाट अलग भएका नेताहरूलाई पार्टीमा फर्कन आग्रह गर्ने तयारी गरेका छन् । दाहालले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख समृद्धिको कार्यनीति अगाडि सार्दै छन्।

यस्तै सम्मेलनले अन्तरिम विधान–२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ। अन्तरिम विधानमा राष्ट्रिय महाधिवेशनसम्मका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समितिको परिकल्पना गरिएको छ।

करिब एक सय सदस्यीय पोलिटब्युरो सदस्य र करिब ३५ सदस्यीय स्थायी समिति रहने व्यवस्था छ। माओवादीमा यसपटक केन्द्रिय पदाधिकारी चयन पेचिलो हुने देखिएको छ । यद्यपी सहमतिबाटै पदाधिकारी चयन हुने स्थायी कमिटी सदस्य देव गुरुङ दाबी गर्छन् ।

उनले सहमतिबाटै कम्युनिष्ट पार्टीको अभ्यास अनुसार नेतृत्व र पदाधिकारी छानिने बताए । राष्ट्रिय सम्मेलनमा माओवादी नेता कार्यकर्ताको जीवनशैली सुधार्ने विषयदेखि कुनै समय पहिलो पार्टी बनेको माओवादी किन तेस्रो स्थानमा खुम्चियो भन्ने विषयमा पनि समिक्षा हुने उनले बताए ।