ग्रामीण क्षेत्रमा सडक कालोपत्रे « Khabarhub

ग्रामीण क्षेत्रमा सडक कालोपत्रे


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् ।

विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन ।

बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकामबाहिर पहिलोपटक सडक कालोपत्रे भएको छ ।

रत्नेचौरमा सडक डिभिजन कार्यालय बागलुङले एक हजार ३०० मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले रु एक करोड ७३ लाखमा ठेक्का लिएको थियो ।

दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुण्डे खण्डमा सडक विस्तार, पर्खाल र नाली बनाउन रु एक करोड ६९ लाखमा अर्को ठेक्का लगाइएको छ । रत्नेचौर बेनी नगरपालिकाले परिकल्पना गरेको चक्रपथको प्रवेश विन्दु हो । यो सडक बेनीको वडा नं २ भकुण्डे र वडा नं ३ भकिम्लीका बासिन्दाले प्रयोग गर्छन् ।

यसैगरी मङ्गला गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा बाबियाचौर बजारमा सडक कालोपत्रे गरेको छ । गाउँपालिकाका इञ्जिनीयर सुजन पौडेलले रु एक करोड १३ लाखको लागतमा ६२० मिटर सडक कालोपत्रे गरिएको बताए ।

‘तीनदेखि चार मिटर चौडाइमा आक्सपाल्ट प्रविधिको कालोपत्रे बिछ्याइएको छ’, उनले भने, ‘गत वर्ष ठेक्का लगाए पनि लकडाउनले कार्यान्वयन हुन सकेको थिएन ।’ सोमरस निर्माण सेवाले ठेक्का लिएको थियो ।

दुई सयभन्दा बढी घरधुरी भएको बाबियाचौरमा यसअघि करिब रु ६० लाखको लागतमा ७२० मिटर पक्की नाली निर्माण भएको थियो ।

‘घरघरमा निजी धाराबाट खानेपानी वितरण गरिएको छ’, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले भने, ‘यस वर्ष बाँकी ठाउँमा नाली र सडक कालोपत्रे गर्न रु ५० लाख विनियोजन भएको छ ।’

सडक कालोपत्रे भएपछि सहज र सर्वसुलभरूपमा छिटो छरितो यात्रा गर्न पाउने बाबियाचौरका बलबहादुर कार्कीले बताए । बाबियाचौरका हर्क छन्त्यालले साँघुरा सडकमा हिउँदमा धुलो र बर्खामा हिलाम्मे भएर जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरेको बताए ।

पैँतालीस वडा रहेको म्याग्दीको गुर्जाबाहेक ४४ वडामा करिब ५०० किलोमिटर सडक निर्माण भएको छ । कच्ची सडकको स्तरोन्नति, नाली निर्माण र कालोपत्रेमा तीनै तहका सरकारले प्राथमिकता दिएका छन् ।

सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रे गर्न लागेका छन् ।

बेनी नगरपालिकाले बेनी–अर्थुङ्गे–घतान–पात्लेखेत सडक कालोपत्रे गर्न लागेको छ । म्याग्दीका विभिन्न खोलामा १० मोटरेबल पुल निर्माणाधीन छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : २० बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न