केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप « Khabarhub

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले जानकारी दिए । नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उनको भनाइ छ ।

तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् । हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् । उक्त जेलमा १६ नाबालकसमेत छन् । कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए ।

काठमाडौँको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा छ ।

कूल ३० शय्या क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । बयालीस रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रीय कारागारमा एक हजार ७८४ कैदी र एक हजार ४३१ बन्दी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई/दुई कारागार छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रसमेत सञ्चालनमा छन् ।

हाल देशभर झण्डै ३० हजार कैदीबन्दी छन् । देशभर कारागारको क्षमता भने १६ हजार मात्र हो । पछिल्लो समय देशभर कैदीबन्दीको सङ्ख्या बढेसँगै सरकार नुवाकोट र बाँकेमा कारागार निर्माणमा जुटेको छ । दश हजार कैदीबन्दी राख्ने क्षमताका साथ निर्माण गर्न लागिएको नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गा लिएर कारागार निर्माणको काम अगाडि बढाइएको छ । नुवाकोटमा सात हजार ५०० र बाँकेमा तीन हजार कैदीबन्दी राख्न मिल्ने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सरकारले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा निर्माण हुँदै गरेको कारागारमा सार्ने गरी गृहकार्यसमेत सुरु गरेको छ । केन्द्रीय कारागारका जेलर अधिकारीले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोट स्थानान्तरण गर्नका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रमुख जिल्ला अधिकारी नुवाकोट र सुरक्षा निकायका प्रतिनिधि भवन निर्माणबारे अध्ययन, अवलोकन गरेर काठमाडौँ फर्किसकेको बताउनुभयो ।

सम्भाव्यता अध्ययनका क्रममा चाँडै कारागार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको उनको भनाइ थियो । केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा स्थानान्तरण गरेसँगै उक्त स्थानलाई ‘म्युजियम’ बनाउने सरकारले लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १० : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक