तमोरको सुसेलीका अठार भाका | Khabarhub Khabarhub

तमोरको सुसेलीका अठार भाका


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘पचासमाथि पनि पाँच भएँ, आजसम्म साहित्यका नाममा केही प्रकाशन भएन । साहित्यिक कृति धेरै पढेँ तर लेखिनँ, लेखेको पनि छपाइनँ, किनभने पाठकको मन छुने गरी लेख्नै सकिनँ भन्ने लागिरह्यो ।’

लक्ष्मीकिशोर सुवेदीलाई आफ्नो साहित्य लेखनबारे यस्तो लाग्दो रहेछ । डेढ वर्षअघि कोरोना भाइरसले घर बस्ने फुर्सद दिएपछि उनले आफूले लेखेका तर नछापिएका कथाका पाण्डुलिपि हेरेछन् । फुर्सदको मौका पारेर तिनलाई केही परिमार्जन गर्दै कम्प्युटरमा उतारेछन् । अरू केही कथा थपछेन् ।

यति गर्दा पनि उनलाई आफ्नो लेखनप्रति आत्मविश्वास भएको थिएन तर आफ्नो कुरा केही साथीलाई सुनाए, पढ्न दिए । कुरा सुन्ने र पढ्नेले हौसला दिए । यही हौसलाको परिणाम हो कथा सङ्ग्रह ‘तमोरको सुसेली’ ।

कथा सङ्ग्रह सार्वजनिक गर्न शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा अध्यक्षभन्दा ठिक अघिको वक्ताका रूपमा लक्ष्मीकिशोरले आफ्नो मनको वह पोखे । जीवनको करिब दुई तिहाई उमेर बितेपछि केही प्रियजनको हौसलाले मात्रै कथाकृति प्रकाशन गर्न सकेको बताए ।

नेपाली कथा विधाका नवप्रवेशी लक्ष्मीकिशोर सुवेदीको पहिलो कथाकृति सार्वजनिक हुँदै थियो । कृतिमा टिप्पणी गर्न निम्त्याइएकाहरूलाई उनको उमेरको भेउ नहुने कुरै भएन । उनले व्यक्तिगत कुराकानीमा धनकुटेली भाकामा भनेका पनि थिए होलान्– हाओ ! बुढेसकालमा एउटा कथा सङ्ग्रह निकाल्दैछु ।

वक्ताहरूले लक्ष्मीकिशाेरकाे त्यो मनोभावलाई पनि आफ्नो मन्तव्यको एक अंश बनाए । लेखक कहिल्यै बुढो हुँदैन, साहित्य लेख्ने खास उमेर हुँदैन भन्ने उनीहरूको साझा धारणा प्रकट भयो ।

प्रसिद्ध काथाकार महेशविक्रम शाहका विचारमा नेपाली साहित्यमा लक्ष्मीकिशोरको प्रवेश साहित्यकारहरूका लागि विशिष्ट दिन हो । उनले भने, ‘नयाँ कृतिमार्फत नयाँ सहित्यकारको प्रवेश हुनु खुसीको कुरा हो, गौरवको कुरा हो ।’ उनले साहित्यकारका रूपमा न्वारान भएर साहित्यकार लक्ष्मीकिशोर सुवेदीको अवतरण भएको बताए ।

महेशका अनुसार लेखकहरू दुई किसिमले साहित्यकार बन्छन् । एक, लेख्दालेख्दै अनुभवी भएर; दुई अनुभवले खारिँदै गएपछि लेखेर । उनको विचारमा लक्ष्मीकिशोर दोस्रो किसिमका लेखक हुन्, त्यसैले उमेरको हिसाबले केही ढिलो ठानिने गरी उनको कृति प्रकाशित भएको हो ।

महेशले पाण्डुलिपि नै मिहिन ढङ्गले पढेर लक्ष्मीकिशोलाई सुझाब दिएका हुन् । उनका अनुसार लक्ष्मीकिशोरको लेखन परिस्कृत छ, कथाहरू साधारण लाग्ने सामाजिक विषयहरूमा सरल तरिकाले लेखिएका छन् । सामान्य ठानिने विषयमा लेख्न कठिन हुन्छ किनभने प्रत्येक भोक्ताले औँला उठाउने सामर्थ्य राख्छ ।

प्रसिद्ध नाटककार अशेष मल्लका विचारका कथा साहित्यमा लक्ष्मीकिशोरको आगमन निकै खुसीको कुरा हो । लेखनमा अभिव्यक्तिको कला, सिल्प, शैली र सौन्दर्य हुनुपर्छ । लक्ष्मीकिशोरका कथामा अभिव्यक्तिका यी गुणहरू छन् । यस्तो गुणवत्ता भएका सिर्जनाले मात्रै पाठकको मन छुन्छ । पाठकको मन छोएपछि व्यक्ति लेखक र साहित्यकार बन्छ । लक्ष्मीकिशोरका कथामा अभिव्यक्तिको पहिचान पनि छ । लेखकीय पहिचानले साहित्यकारलाई साँच्चैको साहित्यकार बनाउँछ ।

अशेषका अनुसार लक्ष्मीकिशोरका कथामा मानव मनोविज्ञानको सूक्ष्म विश्लेषण छ । आञ्चलिकता छ र तमोरको सुसेली मन छुने गरी सुनिएको छ । अशेषले शहर छाडेर गाउँ घुम्न र तमोरको किनार हिँडेर कथा खोज्न लक्ष्मीकिशोरलाई सुझाब दिए । उनले लक्ष्मीकिशोरका कथाहरू पढेर आफूलाई आफ्नो वाल्यावस्था र किशोरावस्थाको धनकुटा स्मरण भएको बताए ।

नेपाल सरकारका सचिव, साहित्यकार खगराज बरालले कृतिभित्रका अनेक पक्षहरू केलाउँदै लक्ष्मीकिशोरको लेखनकलाको सराहना गरे । उनका विचार लक्ष्मीकिशोरको लेखनशैली आकर्षक छ, अभिव्यक्ति कला सशक्त छ, यौन मनोविज्ञान छ, खारिएका संवादहरू छन्, धेरै ठाउँमा दार्शनिक पाराको अभिव्यक्ति छ र भरपूर आञ्चलिकता छ ।

समारोहका अध्यक्षका रूपमा साहित्यकार भुवनहरि सिग्देलले लक्ष्मीकिशोरलाई ढल्कँदो उमेर बिर्सेर साहित्य सिर्जनामा लाग्न सुझाब दिए । लक्ष्मीकिशोरको लेखनशैलीबाट आफूलाई ईर्ष्या लागेको पनि उनले बताए । अशेषले झैँ उनले पनि पूर्वी पहाडका गाउँहरू घुमेर त्यहाँको नालीबेली लेख्न सुझाए ।

अर्का लेखक तथा विश्लेषक अरुणकुमार सुवेदीले लक्ष्मीकिशोरका कथाकृतिमा आञ्चलिकता र लेखनकलाको भरपूर स्वाद लिएको बताए ।

‘तमोरको सुसेली’ लक्ष्मीकिशोरको पहिलो कथा सङ्ग्रह हो । ‘शिखा बुक्स’ ले प्रकाशन गरेको यस कृतिमा अठार वटा कथा समेटिएका छन् । सङ्ग्रहको पहिलो कथा कृतिको शीर्षक कथा हो । यी अठार कथामा अठारै स्वाद र भाकाहरू छन् ।

समान्यतया सबै कथाले पाठकलाई तानेको तान्यै अगाडि लैजाने सामर्थ्य राख्छन् । लक्ष्मीकिशोरले आफ्नो मन्तव्यमा लेखेका छन्– मेरो हकमा यी कथाको पहिलो अनुच्छेद पढ्दा त्यसले तपाईंलाई दोस्रो अनुच्छेदतर्फ तान्यो भने मेरो प्रयत्न सफल भएको मान्नेछु ।

अवश्य, यस अर्थमा उनी सफल ठानिने निष्कर्ष समारोहका वक्ताहरूले सुनाए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : २८ बजे

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु  

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा