गाउँगाउँमा विकास : रोकिएनन् बसाइँसराइ « Khabarhub

गाउँगाउँमा विकास : रोकिएनन् बसाइँसराइ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका–११ रायडाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे ।

यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले कुनै न कुनै रुपमा एक/दुई बसाइँसराइका सामान बोक्ने काम पाए । जिल्लाको दक्षिण क्षेत्रमा चल्ने मात्रै झण्डै १५० भन्दा धेरै साना सवारीका साधन छन् ।

मध्यपहाडी जिल्ला बागलुङबाट सुविधा र रोजगारीको खोजीमा तराई र शहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम चलिरहेको छ । यातायात व्यवसायीले रिजर्भमा गाडी गुडाएको आँकडा मात्रै हेर्ने हो भने वर्षमा सयौँ परिवार बसाईसराई गर्ने गरेको पुष्टि हुन्छ ।

बसाइँसराइ चुलिँदा गाउँघर खाली हुँदै गएका छन् । राज्यको पुनःसंरचना भएर स्थानीय तह गठन भएपछि गाउँगाउँमा पुगेका सिंहदरबारले पहाडी जिल्लामा यातायात, स्वास्थ्य, सञ्चार, शिक्षा र विद्युत्लगायतका पूर्वाधार तयार गरी विकासले फड्को मार्दै गए पनि बसाइँसराइ भने झनै बढ्दै गएको छ ।

सबै वडामा पुगेका मोटरबाटो बसाइँसराइका लागि सामान ओसार्नका बनाइएको जस्तो देखिएको छ ।

सडकसञ्जाल गाउँभरि पुग्दा बस्ती भने रित्तो बन्दै गएका छन् । बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिका जस्ता केही सुगम स्थानीय तहमा सो समस्या बढी छ । तीन वर्षयता बागलुङ–११ रायडाँडाको ओखले, रामतोला, मौरीभीरलगायतका स्थानमा सडकले छोएको छ ।

सदरमुकाम आउजाउ गर्न सहज पनि भएको छ । तर बसाइँसराइ भने रोकिएको छैन । वडाभित्रै तीन घण्टा लाग्ने बाटो ४० मिनेटमा छोटिएका छन् । गाउँमा विकास पुग्दा बस्तीको बसाइँसराइ आधा बढी भइसकेको छ ।

वर्षौंदेखिको सास्तीले हैरान भएका सहज वातावरण पाएपछि धमाधम चितवन, पूर्वी नवलपरासी र सदरमुकाममा बसाई सरेको रायडाँडाका सामाजिक अगुवा रत्नाखर गौतमले बताए ।

‘विकास नआउञ्जेल मानिस बस्थे, विकास आयो, सबै विस्थापित भए’, उनले भने, ‘अब त गाउँको बैठक राख्नुपर्दा सदरमुकाम र चितवनमा बस्नुपर्ने भइसक्यो ।’

बसाइँसराइले गाउँका खेतबारी बाँझएको उनले बताए । तीन वर्षमा यहाँझण्डै रु तीन करोड खर्चेर सडक सञ्जाल बनाइएको हो ।

वडाकै पहलमा आफ्रे सल्यान, तल्लो रामतोला, इकिनधारा, सिकादिप, गिलारलगायतका बस्तीमा सडक पुगेको हो । स्तरोन्नतिका लागि घुम्तीमा ढलान गर्ने कामसमेत भइसकेको छ ।

अहिले यहाँबाट दैनिक चार वटा जीप सदरमुकाम आउजाउ गर्छन् । खानेपानी, सिँचाइ, स्वास्थ्यचौकी, विद्यालय र अन्य पूर्वाधारसमेतमा तीन वर्षमा यहाँ १० करोड बढी लगानी भइसकेको छ ।

जैमिनी –९ पैञ्युथन्थापको लाम्सु गाउँ खाली भयो । पछिल्लो चार वर्षयता यहाँका दर्जन बढी परिवार बसाइँसराइ गरेर ठूला शहर र तराईका जिल्लामा पुगेका छन् । लम्सु गाउँमा नजिकै स्वास्थ्यचौकी छ, प्राथमिक तहको विद्यालयको लागि दश मिनेटको बाटोसमेत छैन ।

सडक सञ्जालले गाउँ घेरेको छ । स्थानीय उत्पादन गरेर गाउँभरि विद्युत् पुर्‍याइएको छ । सलक्क बसेको फाँट, खेतीपातीसमेत राम्रो हुने भए पनि स्थानीयवासीले भने घर खाली छोडेर हिँडिरहेका छन् । युवा पुस्ता रोजगारीको लागि बाहिर जाने भएकाले गाउँमा अहिले वृद्धवृद्धा मात्र छन् ।

जिल्लाको साविक पैञ्यू थन्थाप, राङखानी, दमेक, विनमारे, गाविस (हाल जैमिनी नगरपालिका) का अधिकांश घर खाली छन् । जैमिनीका प्रमुख इन्द्रराज पौडेलले गाउँका मानिसमा शहरीया मानसिकता बढ्दै जाँदा बसाइन्सराइले भयावह रूप लिएको बताए ।

बसाइँसराइ रोक्नकै लागि स्थानीय सरकारले ल्याएका कार्यक्रममा समेत सर्वसाधारणको चासो कम छ । ‘हामीले बाँझो जग्गा नरहोस् र रोजगारी सिर्जना होस् भनेर कृषि तथा पशुपालन कार्यक्रम ल्याएका छौँ’, जैमिनीका कृषि प्राविधिक कृष्णप्रसाद ढकालले भने ‘समूहमा ठूलो मात्रामा खेति गर्ने योजना ल्याएको भए पनि प्रक्रिया पूरा गरेर आउन युवा पुस्ताले झण्झट मान्ने गरेका छन् ।’

जैमिनीले बसाईसराइ रोक्न युवालाई कृषि, पर्यटन र पशुपालनमा व्यावसायिक योजना ल्याएको छ । कृषिमा यान्त्रिकीकरण पनि भइरहेको छ । युवामा जागीरे मानसिकता बढी देखियो । विदेश, काठमाडौँ वा तराई भन्ने मात्र सोचाइ विकास भयो ।

गाउँमै केही गरौँ गर्नुपर्छ भन्ने बुझ्न सकेनन्, जसले गर्दा नगरपालिकाको जनसङ्ख्या नै घट्ने क्रम शुरू भयो, मानिसले गाउँ छाडेका छन् । जिल्ला सबैभन्दा बढी बसाइँसराइ हुने नेपालको १० जिल्लाभित्र परेको तथ्याङ्क पाइन्छ ।

जैमिनीमाबाट प्रत्येक दिन दैनिक दुई जना स्थायीरूपमै तराईका जिल्लामा बसाइँसराइ गर्ने गरेको तथ्यङ्क वडा कार्यालयबाट आउने गरेको नगर प्रमुख पौडेल बताए । जैमिनीकामा उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, जैमिनी बरेङ जोड्ने सडक कालोपत्र हुँदैछ ।

विद्यालय सुधार भएका छन् । स्वास्थ्यको पहुँच सबै वडामा छ । आधारभूत तहका खानेपानी सबैका घरमा पुग्दासमेत बसाइँसराइ झनै तीव्र छ । आर्थिकरुपमा मध्यमस्तरका परिवारको बसाइँसराइ धेरै रहेको पाइन्छ । बसाइँसराइको दर उच्च रहेको भए पनि के कति छोडेर गए भन्ने तथ्याङ्क भने छैन ।

घर छाडेकाले बसाइँसराइ भने लगेका छैनन् । ‘छिटफुटले बसाइँसराइ लगे पनि गाउँको जग्गा बेचेका छैनन्’, रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘युवालाई गाउँ फर्काउने योजना बनाउँदैछु ।’

दुःख छउञ्जेल बसेका मानिस विकास आउँदा विस्थापित हुनु दुःखद् भएको उनले बताए ।

अन्तर जिल्ला बसाइँसराइका अलावा पालिका मुकाम बनेका ठाउँमा गाउँ छोडर बसोबासका लागि आउनेको सङ्ख्यासमेत उत्तिकै छ । ढोरपाटनको बुर्तिबाङ बजार, जैमिनीको कुश्मीशेरा बजार, गलकोट गलकोट बजार र बडिगाडको खौलारा बजार अहिले भरिभराउ भएका छन् ।

बसाइँसराइका कारणको खोजी र निरुपणका लागि स्थानीय तहले पहल गरिरहेको भए पनि दिगो व्यवस्थापन हुन नसक्दा समस्या आइरहेको बताईन्छ । पछिल्लो पटक जिल्लामा बाढी पहिरोका कारणले समेत बिस्थापित भएर बसाई सर्नेको सङ्ख्या ठुलो छ ।

जिल्लाको जैमिनी–१ कुश्मीशेराको टुनिबोटबाट मात्रै यस वर्ष आठ परिवार पहिरोका कारण बसाई सरेका छन् भने निसीखोला गाउँपालिकाको हुल्दीलगायतका ठाउँमा बगिरहने पहिरोले दर्जनौँ परिवार बसाई सरेका छन् । अहिले स्थानीय तहको सक्रियतामा सडक राम्रा भएका छन् ।

विद्युत्, खानेपानी, शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा समेत केही सुनौला किरण देखिएका भए पनि अवसरलाई पछ्याउनेको सङ्ख्या कमै रहेको काठेखोला–७ का अध्यक्ष प्रेम लामिछाने बताए । रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : २६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्