२५ सय ६५औँ बुद्ध जयन्ती मनाइँदै | Khabarhub Khabarhub

२५ सय ६५औँ बुद्ध जयन्ती मनाइँदै


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप आज २५६५औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ ।

बौद्ध क्षेत्रका सङ्घ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिका वडा नं. –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध घ्याङ गुठीलगायत संस्थाले सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ ।

समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउँछन् । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रासहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५ सय ६५ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्किएका थिए ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।

दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

वि.सं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ७ : १० बजे

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए

काठमाडौं– अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा ४०

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि, २५ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं– जलवायु जोखिमको अवस्थालाई मध्यनजर गर्दै नेपालमा आजदेखि अन्तर्राष्ट्रिय संवाद

लैङ्गिक हिंसाविरुद्ध प्रतिकार्य आयोजना शुभारम्भ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स,

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका