उच्च आर्थिक तेजी भएका सम्पन्न देश र शहरलाई पछाडि छाड्दै तुर्कमेनिस्तानको राजधानी अस्गाबात विदेशी कामदारका लागि संसारकै महँगो शहर भएको छ ।
कन्सल्टेन्ट संस्था ‘मर्कर’ ले गरेको सर्वेक्षणमा मध्य एसियाको यो शहर सन् २०२१ मा सबैभन्दा महँगो ठहरिएको हो । दश लाख जनसंख्या भएको यो शहरपछि हङकङ, लेबनानको राजधानी बेरुत र जापानको राजधानी टोकियो महँगा मानिएका छन् ।
घर भाडा, यातायात र खाद्यान्नको मूल्यको आधारमा २०९ शहरहरू सूचीकृत गरिएका छन् । मर्करका अनुसार धेरै प्रयोगमा आउने दुई सयभन्दा बढी सामानका लागि कामदारले कति मूल्य तिर्ने गरेका छन् भनेर संसारभर नै अध्ययन गरिएको थियो ।
मर्करको महँगो १० वटाको सूचीमा रहेका अधिकांश शहरहरू आर्थिकरूपले अत्यन्त सबल देशका हुन् । अस्गाबात मात्र यस्तो शहर हो, जुन व्यवसायिक रूपले संसारको हब बनेको छैन ।
यो शहर महँगो हुनुको अर्थ यो होइन कि यहाँ आर्थिक तेजी छ, यो पनि होइन कि यहाँ सबै समृद्ध छन् । तेजी र समृद्धिमा अघि नरहे पनि तुर्कमेनिस्तानमा केही वर्षयताको मुद्रास्फीतिका कारण मूल्यमा वृद्धि भएको भयै छ । यसै कारण अस्गाबात सबैभन्दा महँगो शहर बनेको हो । एकतन्त्रीय शासन र ग्यास रिजर्भको व्यवसायमा आएको उथलपुथलका कारण तुर्कमेनिस्तानले लामो समय आर्थिक संकट बेहोरेको थियो । त्यहाँ अहिले पनि गरिबी निकै उच्च छ ।
पूर्वीसोभियत गणराज्य तुर्कमेनिस्तान को मुख्य आम्दानीको स्रोत प्राकृतिक ग्यास नै हो । त्यहीँबाट ग्यास आयात गर्ने रुसले कम मूल्यमा खरिद गर्न थालेपछि तुर्कमेनिस्तानमा संकट थपिएको हो । सन् २०१४ मा पेट्रोलियम पदार्थमा विश्वव्यापी मन्दीका कारण त्यहाँ मुद्रास्फीति बढेको हो ।
गत वर्ष ह्युमन राइट वाच (एचआरडब्ल्यु) ले कोरोना महामारीका कारण तुर्कमेनिस्तानमा खाद्यान्न अभावको समस्या झन् थपिएको जनाएको थियो । सन् २०१६ मै त्यहाँ खाद्यान्न अभाव हुन थालेको हो । धेरै पटक त त्यहाँका बासिन्दा पसलमा घण्टौँ लाइन लागेर फर्किने गरेका छन् ।
पछि सरकारले आर्थिक वृद्धिदर बढाउने नीति लिएको थियो । अहिले त्यहाँका राष्ट्रपति गुर्वांगुली बर्डीमुखादेव अस्गाबात संसारकै समृद्धमध्येको एक शहर हो धन्ने दाबी गर्छन् ।
त्यसो त तुर्कमेनिस्तान संसारमै असमानता भएको देशमध्येको पनि एक हो । अस्गाबातका धेरै स्थानमा खाद्यान्न समस्या छ । मानिसहरू पाउरोटी र पीठो खरिद गर्न पसलमा लाइन लागेको दृश्य सामान्य मानिन्छ ।
अस्गाबातमा मार्बलका ठूला घरहरू प्रशस्त छन् । ती घरका तस्बिर नै संसारका लागि तुर्कमेनिस्तान धनी देश हो भन्ने प्रोपोगान्डा मच्चाउन पर्याप्त छन् । विदेशी कम्पनीलाई लोभ्याउन यस्तै मार्बलवाला घरसहितको पोस्टर बनाएर प्रचार हुने गरेको छ । ऊर्जा व्यवसायीहरू त्यहाँ रहेको ग्यासमा आकर्षित हुने गरेका छन् । ग्यासको लोभले त्यहाँ पुग्ने विदेशीहरू खाद्यान्न, घर भाडा लगायतमा अत्यधिक खर्च गर्न बाध्य छन् ।
काजकिस्तान, इरान र मरुभूमिको छेउमा रहेको तुर्कमेनिस्तानमा १५ वर्ष एकतन्त्रीय शासन रहेको थियो । उत्तर कोरियासँगको सम्पर्कका कारण लामो समय एक एकतन्त्रीय शासन रहेको तुर्कमेनिस्तान २१ अक्टोबर १९९१ मा सोभियत संघबाट बाहिएको थियो ।
तानाशाह राष्ट्रपति स्पारमुराट नियाजोभले सन् १९९१ देखि २००६ सम्म शासन गरेका थिए । उनको अनुदारवादी शासनका कारण यो देश संसारमा आलोचित थियो । तुर्कमेनिस्तानमा ६० मिटर चौडाइ र ३० मिटर गहिराइको ग्यास क्रिएटर छ । सन् १९७१ मा सोभियत इन्जिनियरले केही वर्षमात्रै चल्ने भनेका भए पनि ग्यास भण्डार सकिएको छैन ।
त्यहाँ पर्यटक आकर्षित गर्ने ऐतिहासिक स्थानहरू पनि छन् । दक्षिण–पूर्वमा अवस्थित मर्भ यस्तै एउटा शहर हो । मर्भमा कुनै समय मङ्गोलहरूले आक्रमण गरेका थिए । इतिहासकारहरूका अनुसार सो समय १० लाखभन्दा बढी व्यक्ति मारिएका थिए ।
संसारको सबैभन्दा सुख्खा मरुभूमि काराकमले त्यहाँको ७० प्रतिशत स्थान ओगटेको छ । सन् १९८३ को जुलाई ७ तुर्कमेनिस्तान मा अहिलेसम्मकै सबैभन्दा गर्मी दिन थियो । सो दिनको तापक्रम १२२ डिग्री फरेनहाइट अर्थात ५० डिग्री सेल्सियस थियो ।
सन् २०१४ मा त्यहाँ एक आश्चर्यजनक निर्णय भएको थियो । सरकारले सबै नागरिक उपचारका लागि राजधानी नै आउनुपर्ने नियम लगायो । अन्यत्रका स्वास्थ्य संस्था बन्द भए, १५ हजार स्वास्थ्यकर्मी एकै पटक बेरोजगार भए ।
भूपरिवेष्टित देश तुर्कमेनिस्तानका सामाजिक र राजनीतिक विषयबाहेक अन्य केही आश्चर्यजनक पाटा पनि छन् । त्यहाँ इसापूर्व ५ हजारदेखि ४ हजार १०० को बीचमा मानव बस्ती बसेको अनुमान गरिएको छ ।
त्यहाँका सलल्ल मिलेका सडक धेरै पहिले बनेका हुन् । यस देशमा ४ हजार वर्ष अघिको मानव अस्तित्व फेला परेको जनाइएको छ । मर्भ पार्क ऐतिहासिक र सांस्कृतिक रूपमा एकदमै परिचित छ ।
त्यहाँ इसापूर्वको चौथो शताब्दीमा चर्चित शासक अलेक्जेन्डरको शासन थियो । त्यहाँको कार्पेट संसारप्रशिद्ध छ । त्यस देशमा सन् १८८१ मा रुसको शासन शुरू भएको थियो । सन् १९२१ मा यो सोभियत संघको एउटा राज्यको रूपमा थियो । शुरूमा सार्वभौमिकता आफूसँगै राखेर सोभियत संघको सदस्य भएको यो देश सन् १९२५ मा पूर्णकालीन रूपमा सोभियत संघको सदस्य भयो । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएर एक भिन्न सार्वभौम देश बनेको हो ।
‘तुर्केमान’ को अर्थ मानिस र ‘स्तान’ को अर्थ देश हो । यी दुई शब्दबाट तुर्कमेनिस्तान बनेको हो । सन् १९७१ मा जङ्गली जनवार मार्न बनाइएको ग्यास चिम्नीमा अहिले पनि आगो बलिरहेको छ । सो चिम्नी केही सातामात्र बल्ने अनुमान थियो ।
तुर्कमेनिस्तानमा कुनै समय कहालीलाग्दो प्राकृतिक प्रकोप पनि देखिएको थियो । सन् १९४८ मा भूकम्पले त्यहाँको जनजीवन क्षतविक्षत भएको थियो । भूकम्पले १ लाख १० हजार जनाको ज्यान गएको थियो ।
सेतो मार्बलले बनेका घरले त्यहाँ धेरैलाई आकर्षित गर्छ । सार्वजनिक स्थानमा सबैभन्दा धेरै पोखरी भएको देश पनि यही हो । तुर्कमेनिस्तान खरबुजाका लागि प्रसिद्ध छ । त्यहाँ अगस्टको दोस्रो आइतबार खर्बुजा दिवस मनाइन्छ र सार्वजनिक बिदा हुन्छ ।
अहिले पुरानो तानाशाही सत्ता छैन तर धेरै स्थानमा राष्ट्रपति र उनका निकटस्थको पकड छ । शक्ति पृथकीकरणको सिद्धान्त छैन । प्रेस स्वतन्त्रताको सवालमा संसारको तेस्रो खराब मुलुक धेरै तुर्कमेनिस्तान नै मानिन्छ । उत्तर कोरिया र इरिट्रिया पछि प्रेस स्वतन्त्रतामा संकुचन भएको देश यही हो । तुर्कमेनिस्तानका अति अनुदार शासक नियाजोभ आफूलाई तुर्कमेनिस्तानको बाबु भन्थे ।
कारमा गीत सुन्न र दाह्रीकपाल पाल्न प्रतिबन्ध लगाउने ती शासकले ‘रुहनामा’ नामको किताब लेखेका थिए । विद्यालयहरूमा कुरानसँगै त्यो किताब पनि पढाइन्थ्यो । सन् २००७ मा राष्ट्रपति भएका बडीमुखादेभ आफूलाई बलिष्ठ मान्छेका रूपमा देखाउने चाहना राख्छन् । थुप्रै नकारात्मकताको विपरीत यहाँको सकारात्मक पाटो के रहेको छ भने यो संसारको शक्ति संघर्षमा असंलग्न रहेको छ ।
महँगो सहरको सूचीमा सन् २०२१ मा फड्को मार्दै बेरुत तेस्रो स्थानमा पुगेको छ । मर्करले यो बरियतामा विभिन्न कुराले प्रभाव पारेको जनाएको छ । पछिल्लो समयका राजनीतिक घटनाक्रमले बेरुतको अर्थतन्त्रमा पारेको प्रभाव नै प्रमुख कारण भएको जनाइएको छ ।
कोभिड–१९ को महामारी तथा बेरुत बन्दरगाहको चहलपहलका कारण लेबनानमा पनि मुद्रास्फिीति देखियो । यसै कारण बेरुत महँगो शहरको सूचीमा परेको हो ।
दश महँगा सहरमा स्वीट्जरल्यान्डका मात्र तीन वटा शहर छन् । जुरिच पाँचौँ स्थानमा छ । व्यापारमा परिचित सिङ्गापुर सातौँ स्थानमा छ । सर्भे गरिएका मध्ये किर्गिस्तानको बिस्केक सस्तो शहरमा रहेको छ ।
मुख्य आम्दानीको स्रोत कृषि रहेको र धेरै वस्तु आफैँ उत्पादन गर्ने भएकाले बिस्केक सस्तो शहर भएको हो । कटन, सुर्ती, र मासु त्यहाँका प्रमुख उत्पादन हुन् । सुर्तीजन्य पदार्थ र कटन किर्गिस्तानले धेरै देशमा निर्यात गर्ने गरेको छ । सुन, पारो र युरेनियम निर्यातले किर्गिस्तानको जीवन सहज भएको छ ।
रेमिटेन्स पनि किर्गिस्तानको आम्दानीको स्रोत हो । बजार व्यवस्थापन तथा भूमिसुधारको कार्यक्रमले त्यहाँको आर्थिक अवस्थामा सुधार भएको हो । आर्थिक सूचकांकमा किर्गिस्तान अहिले संसारको ७०औँ देश हो ।
सँगै रहेका दुई पूर्वसोभियत गणराज्य तुर्कमेनिस्तान र किर्गिस्तानको अहिलेको अवस्था एकदमै फरक छ । एउटाका नागरिक सहज जीवन बताइरहेका छन् । अर्कोका नागरिक विनातेजीको महँगीको मारमा छन् । अझ आर्थिक असमानताका कारण तुर्कमेनिस्तान को जनजीवन कठिन बन्दै गएको छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया