काठमाडौँ– समय समयमा राजधानी उपत्यकाका सडक किनाराहरूमा फोहोरका डङ्गुर देखिने गर्छ । खासगरी वर्षातको समयमा यस्तो समस्या बढी देखिन्छ । झरी पर्न थालेपछि काठमाडौँ शहरमा फोहोर बढ्न थाल्छ ।
केही दिनदेखि काठमाडौँको फोहोर नियमितरूपमा उठ्न सकेको छैन । काठमाडौँवासीका लागि यो समस्या नयाँ होइन । काठमाडौँको फोहोरको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगर यो समस्याबाट आजित छ । यसको मुख्य कारण हो काठमाडौँ–सिसडोल सडकको दुरवस्था ।
केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको महानगरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।
महानगरपालिकाले २०६२ सालदेखि उपत्यकाको फोहोर नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा थुपार्दै आएको छ । त्यति बेला अस्थायीरूपमा तीन वर्षको भनिएको थियो ।
काठमाडौँ उपत्यकामा दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गर्ने गरिएको छ ।
तीन वर्षका लागि तयार पारिएको अस्थायी ल्यान्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहोर थुपारेको १७ वर्ष भयो । अहिले सिसडोलमा फोहोरको पहाड नै बनेको छ ।
सिसडोलमा फोहोर व्यवस्थापनको १४ वर्षपछि, २०७६ सालमा, शहरी विकास मन्त्रालयले सिसडोल नजिकै बन्चरे डाँडामा ल्यान्डफिल साइट निर्माणको शिलान्यास भएको थियो । ठेकेदारको ढिलासुस्तीले काम लम्बिँदै गएको श्रेष्ठको भनाइ छ ।
बञ्चरे डाँडा २० वर्षलाई
२०५१ सालमा सरकारले नुवाकोटको ककनी र धादिङको धुनिबेँसी बीचमा रहेको कुडुले अर्थात बञ्चरे डाँडालाई दीर्घकालीन ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । निर्णय भयो तर काम अघि बढ्न सकेन ।
बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ‘लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी’ सँग शहरी विकास मन्त्रालयले ठेक्का सम्झौता ग¥यो । हाल दुई चरणमा काम भइरहेको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले बताए ।
उनले भने, ‘पहिलो चरणको काम ५५ प्रतिशत सम्पन्न भइसकेको छ फोहोरबाट निस्केको लेदो पानी (लिचेड) को व्यवस्थापन बाँकी छ, करिब २ महिनापछि फोहोर राख्न सकिन्छ ।’ उनका अनुसार दोस्रो चरणअन्तर्गत पर्खाल निर्माण काम भइरहेको छ ।
बन्चरे डाँडामा फोहोर राख्न थालेपछि कम्तीमा २० वर्षका लागि ढुक्क हुने उनको भनाइ छ । सम्झौता भएअनुरूप निर्माण कम्पनीले काम पूरा नगरेपछि एक वर्षको समय थप गरिएको थियो ।
फोहोर व्यवस्थापनको अर्को समस्या हो पहुँचमार्ग । काठमाडौँबाट सिसडोल २६ किलोमिटर टाढा छ । सिसडोलबाट बन्चरे डाँडा २ किलोमिटर टाढा छ ।
कुल २८ किलोमिटर सडकको अवस्था नाजुक छ । पानी परेको समयमा सडक अवरुद्ध हुन्छ । सडक विभागलाई पटकपटक अनुरोध गरे पनि मर्मत हुन नसकेको महानगरका अधिकारीको भनाइ छ ।
स्रोतमै फोहोर वर्गीकरण अनिवार्य
काठमाडौँमा उत्पादित फोहोर सिसडोलभन्दा फरक तरिकाले बन्चरे डाँडामा विर्सजन गर्ने महानगरको तयारी छ ।
‘अहिले मानिसहरूले फोहोरको गाडी आयो भन्दै सबै खालको फोहोर एकै ठाउँमा फ्याँक्ने गर्छन्, त्यो प्रणालीमा सुधार गरिन्छ,’ वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर स्रोतमा नै फोहोर छुट्याउछौँ ।’
अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापनका लागि छुट्टै उपकरण खरिद गर्ने तयारी रहेको उनले बताए । प्लास्टिकको झोला प्रयोग बन्द हुनेछ ।
स्रोतमा छुट्याइएको जैविक फोहोरबाट कम्पोष्ट मल बनाउने र जलाउन मिल्ने फोहोर स्थानीय स्तरमै जलाउने व्यवस्था हुने श्रेष्ठले बताए । यसो भयो भने ल्यान्डफिल साइटको आयु लामो हुने उनको भनाइ छ ।
एउटा मेसिन पत्रु, अर्को ल्याउने तयारी
कुनै समय निकै चर्चामा रह्यो फोहोरबाट बिजुली निकाल्ने कुरा । काठमाडौँमा उत्पादन हुने फोहोरबाट बिजुली उत्पादन गर्न ‘एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन’ परियोजनाअन्तर्गत महानगरले प्रक्रिया अघि बढायो । यस परियोजनामा महानगरको युरोपेली युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत साझेदारीमा १ करोड ८६ लाख रुपैयाँ खर्च भएको थियो ।
राजधानीमा उत्पादित फोहोरबाट बिजुली उत्पादन गर्न २०७३ सालमा नमुना परियोजनाका शुरू गरिएको थियो । प्लान्ट सञ्चालनमा आएको केही महिनामै मिसिन बिग्रियो । अहिले मेसिनले टेकुमा यसै रहेको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्य फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधिको मेसिन ल्याउने तयारीमा छन् । लगानी गरेर उपकरण किन्ने तर उचित मर्ममसम्भार गरेर प्रयोग गर्न नसक्ने हो भने उपकरण ल्याएर मात्रै काम हुन्छ र ?
यस विषयमा वातावरण विभागका प्रमुख श्रेष्ठ भन्छन्, ‘बायोमिथानेसन प्लान्ट बिग्रिएको लामो समय भयो अब चल्दैन, नयाँ प्रविधिको मेसिन ल्याउन महानगर लागिपरेको छ चालु आर्थिक वर्षमा ल्याउने गरी तयारी भइरहेको छ ।’
महानगर प्रमुख शाक्यले चुनावी घोषणापत्रमा काठमाडौँको फोहोरमैला व्यवस्थापनलाई उच्च प्राथमिकता दिएका थिए । उनी आफ्नो कार्यकालमा बन्चरे डाँडा ल्यान्डफिल साइट तयार गरेर फोहोर व्यवस्थापन गर्न र बायोमिथानेसन मेसिनमार्फत फोहोरबाट विद्युत उत्पादन गर्न चाहन्छन् ।
तस्वीर सौजन्य : का.म.पा. वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठबाट ।
प्रतिक्रिया