आदर्शका बा | Khabarhub Khabarhub

आदर्शका बा



प्रिय आदर्श,
यो कुरा लेख्दै गर्दा हात कापिरहेको छ, मुटुको धड्कन त्यस्तै तेज भएको छ । तिमी आफ्ना बुबा ‘बचाइदेऊ’ भनेर रुँदै पुकारा गर्दै थियौ, कराउदै थियौ, हात जोड्दै थियौ ।

हामी भने मुकदर्शक बनेर टुलुटुलु हेर्न बाध्य थियौँ । हामीले तिमीलाई सहानुभूतिबाहेक केही दिन सकेनौँ । मलाई थाहा थियो, त्यो सहानुभूतिले तिमीलाई परेको शोक अलिकति पनि कम गर्न सक्दैन थियो । आज धेरैले तिमीले भोगेको अप्रिय घटनामा श्रद्धाञ्जलिमार्फत साथ दिएका छन् । तिमी र हामीलाई थाहा छ, यी साथहरू निकै छोटो समयमात्रै दृश्यमा रहनेछन् ।

आफूलाई निकै ‘क्रान्तिकारी’ ठानेर धेरैले सरकारलाई गाली गरेको सुनेँ, देखेँ तर यस्ता क्रान्तिकारीहरू पनि निकै छोटो समयमात्रै दृश्यमा रहने गरेका छन् ।

आदर्श ! जब तिम्रा लागि उठेका आवाजहरू पनि क्षणिक छन् भन्ने सम्झन्छु तब मलाई झन् पीडा हुन्छ । अझ पीडा त त्यति बेला हुन्छ जब क्रान्तिकारी भनिएका गुञ्जनहरू हावाको बेगसँगै विलीन, केही चाहिँ सत्ताको वेगसँगै विलीन हुन्छन् ।

हामी यस्तो समाजमा बस्छौ जहाँ आज तिम्रालागि क्रान्तिकारी भएका ‘किबोर्ड योद्धाहरू’ सन्तमानव गोविन्द केसीलाई पगाल भन्थे । निःस्वार्थ भावका साथ देशको स्वास्थ्य क्षेत्र बलियो बनाउन उद्यत रहेका ती सन्त डाक्टरलाई तथानाम गालिगलौज गर्थे । अहिले हामी गुज्रिनुपरेको अवस्था त्यही अपमानको उपज हो, त्यही बेवास्ताको परिणाम हो ।

हामीले मुलुकको स्वास्थ्य क्षेत्रलाई कहिल्यै संवेदनशील भएर महत्वका साथ हेरेनौँ । आज तिमीले त्यसैको परिणाम भोग्न परेको हो । अस्ति अर्कोले भोग्यो । भोलि मैले पनि त्यही परिणाम भोग्नुपर्ने छ । हामी धेरैले यस्तै भोग्नु पर्नेछ ।

आदर्श ! तिम्रो बुबाको रोग र हाम्रा ‘प्रधानमन्त्री बा’ को उस्तै उस्तै हो । फरक यति तिम्रो बा उपचारको भेदभावमा परे, हाम्रा प्रधानमन्त्री बालाई बीस जनाभन्दा धेरै डाक्टरहरूले निको बनाए । प्रधानमन्त्री बाले देशविदेश सबैतिर उपचार पाए । तिम्रा बाले एक ठाउँमा पनि पाएनन् ।

आदर्श ! लोकतन्त्रमा पनि मानिसहरूबीच दर्जा पैदा हुँदो रहेछ । हामी त लोकतन्त्र जनताको शासन हो भनेर लडेका थियौँ । पुराना शासकलाई हरायौँ र हामीले नयाँ नेतृत्व छान्यौँ । शायद हामीले गलत गर्‍यौँ र भावनाहीन नेतृत्व चुन्यौँ ।

त्यही नेतृत्वले हाम्रो छनोट गलत सावित गरिदियो । हामीलाई समावेशिता भनिएको थियो । पत्याएका थियौँ तर आज फेरि उही पुरानै प्रवृत्तिको भेदभावको शिकार भयौँ ।

प्रधानमन्त्री बाले तिम्रा बा र अरू धेरै बाआमाहरूले मधेशमा निकालेको जुलुसलाई ‘माखे साङ्लो’ भने । तिम्राहाम्रा बाआमालाई प्रधानमन्त्रीले ‘माखा’ देखे । प्रधानमन्त्री बाले तिम्रा बालाई मान्छे देखेका भए तिम्रो बा आज हाम्रै माझमा हुने थिए । प्रधानमन्त्री बालाई त सत्ता टिकाउन मधेशीसँग गठबन्धन गर्नुछ ।

उनलाई आफू चौध वर्ष जेल बसेको कथा सुनाउनु छ, आफ्नो प्रतापको गाथा गाउनु छ । तिम्रा बाको जीवनका संघर्षको कथा उनले सुन्नु छैन । प्रधानमन्त्री बाको कथा हामीले सुन्नु छ ।

आदर्श ! तिम्रा बाको कथाव्यथा समस्त मधेशको कथाव्यथा हो । तिमी आज प्रतिनिधिको रूपमा देखियौ तर हाम्रो देशको सामाजिक अवस्थाको प्रवृत्ति यही हो । प्रधानमन्त्री बाको संवेदनाले तिम्रा बाआमाको कथा सुन्दैन, व्यथा देख्दैन । प्रधानमन्त्रीको वातानुकूलित कोठाको भित्ताबाट मधेशको पीडा छिर्दैन ।

आदर्श ! किड्नी फेरेर बाँच्न त प्रधानमन्त्री नै हुनु पर्ने रहेछ !

यो विभेदबाट गुमाएका सबै बाआमा, दिदीबहिनी र दाजुभाइहरूलाई भावपूर्ण श्रद्दाञ्जलि !

उही तिम्रो साथी ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : ४० बजे

शीतलहर पीडितलाई सेनाको सहयोग

महोत्तरी– मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

काभ्रे– गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न

पाकिस्तानविरुद्ध अफ्रिकाको शानदार ब्याटिङ : एक दोहोरो र दुई शतकमा बन्यो ६१५ रन

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको दोस्रो टेस्टलाई पकडमा राखेको छ।

रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि

इपीएलः आर्सनल बराबरीमा रोकियो

काठमाडौं – हुँवा पेड्रोले गरेको पेनाल्टी गोलमा ब्रिङटनले आर्सनलसँगको खेलमा