आदर्शका बा « Khabarhub

आदर्शका बा



प्रिय आदर्श,
यो कुरा लेख्दै गर्दा हात कापिरहेको छ, मुटुको धड्कन त्यस्तै तेज भएको छ । तिमी आफ्ना बुबा ‘बचाइदेऊ’ भनेर रुँदै पुकारा गर्दै थियौ, कराउदै थियौ, हात जोड्दै थियौ ।

हामी भने मुकदर्शक बनेर टुलुटुलु हेर्न बाध्य थियौँ । हामीले तिमीलाई सहानुभूतिबाहेक केही दिन सकेनौँ । मलाई थाहा थियो, त्यो सहानुभूतिले तिमीलाई परेको शोक अलिकति पनि कम गर्न सक्दैन थियो । आज धेरैले तिमीले भोगेको अप्रिय घटनामा श्रद्धाञ्जलिमार्फत साथ दिएका छन् । तिमी र हामीलाई थाहा छ, यी साथहरू निकै छोटो समयमात्रै दृश्यमा रहनेछन् ।

आफूलाई निकै ‘क्रान्तिकारी’ ठानेर धेरैले सरकारलाई गाली गरेको सुनेँ, देखेँ तर यस्ता क्रान्तिकारीहरू पनि निकै छोटो समयमात्रै दृश्यमा रहने गरेका छन् ।

आदर्श ! जब तिम्रा लागि उठेका आवाजहरू पनि क्षणिक छन् भन्ने सम्झन्छु तब मलाई झन् पीडा हुन्छ । अझ पीडा त त्यति बेला हुन्छ जब क्रान्तिकारी भनिएका गुञ्जनहरू हावाको बेगसँगै विलीन, केही चाहिँ सत्ताको वेगसँगै विलीन हुन्छन् ।

हामी यस्तो समाजमा बस्छौ जहाँ आज तिम्रालागि क्रान्तिकारी भएका ‘किबोर्ड योद्धाहरू’ सन्तमानव गोविन्द केसीलाई पगाल भन्थे । निःस्वार्थ भावका साथ देशको स्वास्थ्य क्षेत्र बलियो बनाउन उद्यत रहेका ती सन्त डाक्टरलाई तथानाम गालिगलौज गर्थे । अहिले हामी गुज्रिनुपरेको अवस्था त्यही अपमानको उपज हो, त्यही बेवास्ताको परिणाम हो ।

हामीले मुलुकको स्वास्थ्य क्षेत्रलाई कहिल्यै संवेदनशील भएर महत्वका साथ हेरेनौँ । आज तिमीले त्यसैको परिणाम भोग्न परेको हो । अस्ति अर्कोले भोग्यो । भोलि मैले पनि त्यही परिणाम भोग्नुपर्ने छ । हामी धेरैले यस्तै भोग्नु पर्नेछ ।

आदर्श ! तिम्रो बुबाको रोग र हाम्रा ‘प्रधानमन्त्री बा’ को उस्तै उस्तै हो । फरक यति तिम्रो बा उपचारको भेदभावमा परे, हाम्रा प्रधानमन्त्री बालाई बीस जनाभन्दा धेरै डाक्टरहरूले निको बनाए । प्रधानमन्त्री बाले देशविदेश सबैतिर उपचार पाए । तिम्रा बाले एक ठाउँमा पनि पाएनन् ।

आदर्श ! लोकतन्त्रमा पनि मानिसहरूबीच दर्जा पैदा हुँदो रहेछ । हामी त लोकतन्त्र जनताको शासन हो भनेर लडेका थियौँ । पुराना शासकलाई हरायौँ र हामीले नयाँ नेतृत्व छान्यौँ । शायद हामीले गलत गर्‍यौँ र भावनाहीन नेतृत्व चुन्यौँ ।

त्यही नेतृत्वले हाम्रो छनोट गलत सावित गरिदियो । हामीलाई समावेशिता भनिएको थियो । पत्याएका थियौँ तर आज फेरि उही पुरानै प्रवृत्तिको भेदभावको शिकार भयौँ ।

प्रधानमन्त्री बाले तिम्रा बा र अरू धेरै बाआमाहरूले मधेशमा निकालेको जुलुसलाई ‘माखे साङ्लो’ भने । तिम्राहाम्रा बाआमालाई प्रधानमन्त्रीले ‘माखा’ देखे । प्रधानमन्त्री बाले तिम्रा बालाई मान्छे देखेका भए तिम्रो बा आज हाम्रै माझमा हुने थिए । प्रधानमन्त्री बालाई त सत्ता टिकाउन मधेशीसँग गठबन्धन गर्नुछ ।

उनलाई आफू चौध वर्ष जेल बसेको कथा सुनाउनु छ, आफ्नो प्रतापको गाथा गाउनु छ । तिम्रा बाको जीवनका संघर्षको कथा उनले सुन्नु छैन । प्रधानमन्त्री बाको कथा हामीले सुन्नु छ ।

आदर्श ! तिम्रा बाको कथाव्यथा समस्त मधेशको कथाव्यथा हो । तिमी आज प्रतिनिधिको रूपमा देखियौ तर हाम्रो देशको सामाजिक अवस्थाको प्रवृत्ति यही हो । प्रधानमन्त्री बाको संवेदनाले तिम्रा बाआमाको कथा सुन्दैन, व्यथा देख्दैन । प्रधानमन्त्रीको वातानुकूलित कोठाको भित्ताबाट मधेशको पीडा छिर्दैन ।

आदर्श ! किड्नी फेरेर बाँच्न त प्रधानमन्त्री नै हुनु पर्ने रहेछ !

यो विभेदबाट गुमाएका सबै बाआमा, दिदीबहिनी र दाजुभाइहरूलाई भावपूर्ण श्रद्दाञ्जलि !

उही तिम्रो साथी ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : ४० बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व