बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै | Khabarhub Khabarhub

बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आज (बुधबार) र भोलि (बिहीबार) विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।

यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताए। लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ । सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भने ।

ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।

वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने पर्यटकीय लेक घुम्टे प्राकृतिक, धार्मिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

त्यहाँको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्षमा गुराँस उत्सवसमेत आयोजना हुँदै आएको छ । रङ्गीचङ्गी गुराँसले वसन्त याममा घुम्टेको सौन्दर्य अझ बढी खुल्छ । घुम्टेबाट मनोरम भू–बनोट, हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । पदयात्राका सौखिनका लागि पनि घुम्टे उपयुक्त मानिन्छ ।

चारैतिरबाट घुम्टे चढ्न व्यवस्थित पदमार्ग बनेका छन् । गलकोट–५ टेउवासम्म सडकमार्फत पुगेपछि त्यहाँबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे पुगिन्छ । वडा नं. ७ मल्म, १० पाण्डवखानीको सिद्धथान र ताराखोला गाउँपालिका हुँदै पनि घुम्टे चढ्न सकिन्छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टलाई जोड्ने सडकमार्ग पनि निर्माणाधीन छ ।

टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन चार वर्षअघि काम थालिएको थियो । सडकदेखि अन्य पर्यटकीय पूर्वाधारमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहको लगानी छ । घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न केन्द्रको अगुवाईमा स्थानीयवासी कस्सिएका छन् ।

पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । घुम्टेको विकास र प्रवद्र्धनमा सरकारी चासो पनि बढ्दो छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५९ बजे

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।