यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु « Khabarhub

यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई(एएफपी) – यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा तीन दिनमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ ।

यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ ।

हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन् । यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो ।

बिहीबार र आइतबार भएका भिषण लडाइँमा सरकार समर्थित  २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ । तर विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन ।

यमनका सरकारी अधिकारीको भनाइमा बिहीबारदेखि हुथी विद्रोहीले उत्तर, दक्षिण र पश्चिम तर्फबाट मरिबमा भिषण आक्रमण गरिरहेका छन् । तर लडाकूहरु मरिबको भित्री तहमा प्रवेश गर्न पाएका छैनन् ।

मरिबलाई विद्रोहीको कब्जामा पुग्न नदिन सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।

एक जना सरकारी सैन्य अधिकारीले मरिब क्षेत्रमा दुबै तर्फबाट भिषण हमला भइरहेको र साउदी गठबन्धनका सेनाले हवाई आक्रमण गरिरहेको जानकारी दिए ।

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हात माथि पर्नेछ । तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय संघसंस्थाहरुले बताएका छन् ।

यमनका अन्य क्षेत्रमा जारी भिडन्तबाट बच्न धेरै मानिस मरिबमा बस्दै आएका छन् ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमनका मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेका छन् ।

संयुक्तराष्ट्र संघ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरुले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन् । यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ ।

मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरुले साउदी अरेबियाका कैयौं स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन् ।

यसै महिना यमनका लागि राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताएका छन् ।

यमन गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । राष्ट्रसंघले यस युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ । युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ३५ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग