फोहोरसँग खेल्नु कहाँ सजिलो छ र ! रमाउनु पनि यसमै छ | Khabarhub Khabarhub

फोहोरसँग खेल्नु कहाँ सजिलो छ र ! रमाउनु पनि यसमै छ



काठमाडौँ– मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा पनि समस्या हुन थाल्छ ।

पानी परेपछि नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा फोहोर पुर्‍याउन कठिन हुन्छ । यता काठमाडौँका सडकमा जताततै फोहोरको डङ्गुर लाग्न थाल्छ ।

शहरमा थुप्रिएको फोहोर सकेसम्म समयमै व्यवस्थापन गर्न लागि पर्छन् फोहोर व्यवस्थापनमा खटिने कर्मचारीहरू । यिनैमध्येका एक हुन् धादिङका ४१ वर्षीय शरण पौडेल ।

शरण पेसाले स्काभेटर चालक हुन् । ठ्याक्कै २५ वर्ष भयो उनले स्काभेटरमा चलाएर काठमाडौँको उधिनेको, उठाएको र मिलाएको ।

हरेक दिन बिहान ५ बजे बाफलबाट कामका लागि निस्किनुपवछि र सिसडोल पुग्नुपर्छ । स्काभेटरले माटो निकाल्नु र काठमाडौँबाट पुर्‍याइएको फोहोर सम्याउँदै माटोले पर्नु उनको मुख्य काम हो । यसो गर्न थालेको पनि ठ्याक्कै १५ वर्ष भयो ।

मनसुन अवधिभर शरणको जिम्मेवारी थपिन्छ, त्यो हो फोहोर बोकेका ट्रक स्काभेटरले धकेल्नु । भन्छन्, ‘पानी पर्न थालेपछि गाडी गुड्दैनन्, स्काभेटरले धकेल्दै फोहोर खसाउने ठाउँमा पुर्‍याउनुपर्छ ।’

काममा प्रवेश गरेपछिका दिनमा शरण काठमाडौँबाट ट्रकमा फोहोर लिएर दैनिक ल्यान्डफिल साइट पुग्थे । उनले १० वर्ष यही जिम्मेवारी पूरा गरे । हालका दिनमा दुई सय वटा गाडीमा उपत्यकाको फोहोर ल्यान्डफिल साइट पुग्ने गरेको छ ।

सिसडोलको दुई किलोमिटर बाटोमा जहिल्यै समस्या हुन्छ । वर्षातमा बाटो बिग्रिन्छ, समयमा मर्मत हुँदैन । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा थुपार्न थालेको ठ्याक्कै १६ वर्ष भयो । भन्न त तीन वर्षका लागि भनिएको थियो ।

अहिले सिसडोलमा फोहोरको पहाड नै बनेको छ । फोहोरकै चाङमा गाडी धकेल्नु सजिलो कम होइन ।

‘फोहोरको चाङमा पछाडिबाट स्काभेटरले धकेल्न कहाँ सजिलो र’ शरण भन्छन्, ‘बर्खा याममा कहिले घाम लाग्ला र फोहोर सुक्ला अनि गाडी गुड्ला भनेर पर्खिनुपर्ने स्थिति छ ।’

फोहोर भनेपछि त्यसको दुर्गणको धेरै बयान गर्नै परेन । हरिया झिँगाको कर्कस भुनुनु कानमा गुन्जिरहन्छ ।

फोहोरको पहाड बनिसके पनि राख्ने ठाउँ तयार भएको छैन । बर्खा याममा फोहोर पुर्‍याउनु र गाडीबाट फोहोर झार्नुको समस्या बयान गरेर साध्य छैन ।

सामान्यतया हिउँदको समयमा ल्याडफिल साइट बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म खुला हुन्छ । बर्खा याममा कुनै टुङ्गो हुँदैन । शरण भन्छन्, ‘बर्खाको समयमा बिहान ५ बजे डेराबाट हिँडेपछि राति ९–१० बजे पुगिन्छ ।’

ल्यान्डिफिल साइटमा शरणसँगै अरू चार जना छन् । तीन वटा डोजर र दुई वटा लोडर चलाउनुपर्छ । उनीहरू काठमाडौँबाट सँगै जान्छन् र बेलुका पनि सँगै फर्किन्छन् ।

कोरोना संक्रमणको सकस

सरकारले स्वास्थ्य र सरसफाइमा काम गर्ने कर्मचारीलाई विशेष भत्ता दिने भने पनि महानगरमा कार्यरत कर्मचारीले कुनै सुविधा नपाएको शरणको भनाइ छ । उनले भने, ‘पहिलो चरणमा कोभिड बीमा गरेको थियो, साउन २५ गते त्यो पनि सकियो ।’

कोरोना संक्रमणको पहिलो चरणमा फोहोरमैला व्यवस्थापनका कर्मचारीले मास्क, स्यानिटाइजर र पीपीई सेट पाएका थिए । दोस्रो चरणमा त्यस्तो केही पनि नपाएको शरणले बताए । ‘हामीले कोरोनाको दुबै डोज खोप पायौँ,’ उनले भने, ‘प्राथमिकता पाएको त्यति नै हो ।’

शहर सफा हुँदाको खुसी

संघीय राजधानी काठमाडौँ, जनघनत्व अधिक छ । दिनप्रतिदिन फोहोर उत्सर्जन पनि बढेको बढ्यै छ । एक–दुई दिन फोहोर उठेन भने काठमाडौँ पूरै दुर्गन्धित हुन थाल्छ ।

‘जस्तोसुकै अवस्थामा पनि काठमाडौँको फोहोर संकलन होओस् र सिसडोल आइपुगोस् जस्तो लाग्छ,’ शरण भन्छन्, ‘यहाँको दुर्गन्ध हामीले वर्षौंदेखि खेपिरहेका छौँ सामान्य लाग्छ, यस्तो दुर्गन्ध शहरमा फैलियो भने हैजा शुरू भइसक्छ ।’

सफा त सबैलाई चाहिन्छ तर काठमाडौँमा फोहोर संकलन गर्ने मानभाउ छैन । ‘कतिले त छिछि नै गर्छन्, हामीलाई फोहोरी ठान्छन् र तर्किन्छन्,’ शरण भन्छन्, ‘जसले सिसडोल पुगेर फोहोर व्यवस्थापन गरेको देख्छन्, उनीहरूले वास्तविकता बुझ्छन् ।’

फोहोर व्यवस्थापनमा खटिनेका लागि बिदा त नाम पनि हुँदैन । अतिरिक्त समयको भत्ता पाउँछन् ।

फोहोरमै रमाउनु छ

कुरा २०५३ सालको हो । शरण १६ वर्षका थिए । काठमाडौँ महानगरले फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी खोजिरहेको थियो । उनले दरखास्त दिए, नाम निस्कियो ।

शुरूमा उनले टेकुमा काम गरे । महानगरले २०६२ सालमा नुवाकोटको सिसडोलमा ल्यान्डफिल साइट बनाएर फोहोर पुर्‍याउन थाल्यो । शरणको ड्युटी उतै पर्‍यो । उनको घर पनि उतैबाट नजिक पथ्र्यो ।

अहिलेका उनी परिवारका बाफलमा बस्छन्, परिवारमा श्रीमती र दुइ छोरा छन् । आफ्नो जागिरले काठमाडौँमा परिवार पनि पालेका छन् । छोरा पढाएका छन् ।

फोहोरमैलामा काम गरे पनि सरसफाइ र स्वास्थ्यका मापदण्ड पालना गरेकाले कुनै आजसम्म रोग लागेको छैन ।

‘फोहोरले विभिन्न रोग ल्याउँछ भन्छन् तर हाम्रो पेशा नै यही हो, अहिलेसम्म कुनै रोग लागेको छैन’ शरण भन्छन्, ‘फोहोरमै रमिरहेको छु, सन्तुष्ट पनि छु ।’

शरण र उनीजस्ताको दुःख आफ्ना ठाउँमा छ तर काम गर्नुको मजा पनि छँदैछ । शरणका लागि फोहोरसँग खेल्नु जिन्दगीको अभिन्न पाटो हो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  २ : ५८ बजे

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय