फोहोरसँग खेल्नु कहाँ सजिलो छ र ! रमाउनु पनि यसमै छ | Khabarhub Khabarhub

फोहोरसँग खेल्नु कहाँ सजिलो छ र ! रमाउनु पनि यसमै छ



काठमाडौँ– मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा पनि समस्या हुन थाल्छ ।

पानी परेपछि नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा फोहोर पुर्‍याउन कठिन हुन्छ । यता काठमाडौँका सडकमा जताततै फोहोरको डङ्गुर लाग्न थाल्छ ।

शहरमा थुप्रिएको फोहोर सकेसम्म समयमै व्यवस्थापन गर्न लागि पर्छन् फोहोर व्यवस्थापनमा खटिने कर्मचारीहरू । यिनैमध्येका एक हुन् धादिङका ४१ वर्षीय शरण पौडेल ।

शरण पेसाले स्काभेटर चालक हुन् । ठ्याक्कै २५ वर्ष भयो उनले स्काभेटरमा चलाएर काठमाडौँको उधिनेको, उठाएको र मिलाएको ।

हरेक दिन बिहान ५ बजे बाफलबाट कामका लागि निस्किनुपवछि र सिसडोल पुग्नुपर्छ । स्काभेटरले माटो निकाल्नु र काठमाडौँबाट पुर्‍याइएको फोहोर सम्याउँदै माटोले पर्नु उनको मुख्य काम हो । यसो गर्न थालेको पनि ठ्याक्कै १५ वर्ष भयो ।

मनसुन अवधिभर शरणको जिम्मेवारी थपिन्छ, त्यो हो फोहोर बोकेका ट्रक स्काभेटरले धकेल्नु । भन्छन्, ‘पानी पर्न थालेपछि गाडी गुड्दैनन्, स्काभेटरले धकेल्दै फोहोर खसाउने ठाउँमा पुर्‍याउनुपर्छ ।’

काममा प्रवेश गरेपछिका दिनमा शरण काठमाडौँबाट ट्रकमा फोहोर लिएर दैनिक ल्यान्डफिल साइट पुग्थे । उनले १० वर्ष यही जिम्मेवारी पूरा गरे । हालका दिनमा दुई सय वटा गाडीमा उपत्यकाको फोहोर ल्यान्डफिल साइट पुग्ने गरेको छ ।

सिसडोलको दुई किलोमिटर बाटोमा जहिल्यै समस्या हुन्छ । वर्षातमा बाटो बिग्रिन्छ, समयमा मर्मत हुँदैन । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा थुपार्न थालेको ठ्याक्कै १६ वर्ष भयो । भन्न त तीन वर्षका लागि भनिएको थियो ।

अहिले सिसडोलमा फोहोरको पहाड नै बनेको छ । फोहोरकै चाङमा गाडी धकेल्नु सजिलो कम होइन ।

‘फोहोरको चाङमा पछाडिबाट स्काभेटरले धकेल्न कहाँ सजिलो र’ शरण भन्छन्, ‘बर्खा याममा कहिले घाम लाग्ला र फोहोर सुक्ला अनि गाडी गुड्ला भनेर पर्खिनुपर्ने स्थिति छ ।’

फोहोर भनेपछि त्यसको दुर्गणको धेरै बयान गर्नै परेन । हरिया झिँगाको कर्कस भुनुनु कानमा गुन्जिरहन्छ ।

फोहोरको पहाड बनिसके पनि राख्ने ठाउँ तयार भएको छैन । बर्खा याममा फोहोर पुर्‍याउनु र गाडीबाट फोहोर झार्नुको समस्या बयान गरेर साध्य छैन ।

सामान्यतया हिउँदको समयमा ल्याडफिल साइट बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म खुला हुन्छ । बर्खा याममा कुनै टुङ्गो हुँदैन । शरण भन्छन्, ‘बर्खाको समयमा बिहान ५ बजे डेराबाट हिँडेपछि राति ९–१० बजे पुगिन्छ ।’

ल्यान्डिफिल साइटमा शरणसँगै अरू चार जना छन् । तीन वटा डोजर र दुई वटा लोडर चलाउनुपर्छ । उनीहरू काठमाडौँबाट सँगै जान्छन् र बेलुका पनि सँगै फर्किन्छन् ।

कोरोना संक्रमणको सकस

सरकारले स्वास्थ्य र सरसफाइमा काम गर्ने कर्मचारीलाई विशेष भत्ता दिने भने पनि महानगरमा कार्यरत कर्मचारीले कुनै सुविधा नपाएको शरणको भनाइ छ । उनले भने, ‘पहिलो चरणमा कोभिड बीमा गरेको थियो, साउन २५ गते त्यो पनि सकियो ।’

कोरोना संक्रमणको पहिलो चरणमा फोहोरमैला व्यवस्थापनका कर्मचारीले मास्क, स्यानिटाइजर र पीपीई सेट पाएका थिए । दोस्रो चरणमा त्यस्तो केही पनि नपाएको शरणले बताए । ‘हामीले कोरोनाको दुबै डोज खोप पायौँ,’ उनले भने, ‘प्राथमिकता पाएको त्यति नै हो ।’

शहर सफा हुँदाको खुसी

संघीय राजधानी काठमाडौँ, जनघनत्व अधिक छ । दिनप्रतिदिन फोहोर उत्सर्जन पनि बढेको बढ्यै छ । एक–दुई दिन फोहोर उठेन भने काठमाडौँ पूरै दुर्गन्धित हुन थाल्छ ।

‘जस्तोसुकै अवस्थामा पनि काठमाडौँको फोहोर संकलन होओस् र सिसडोल आइपुगोस् जस्तो लाग्छ,’ शरण भन्छन्, ‘यहाँको दुर्गन्ध हामीले वर्षौंदेखि खेपिरहेका छौँ सामान्य लाग्छ, यस्तो दुर्गन्ध शहरमा फैलियो भने हैजा शुरू भइसक्छ ।’

सफा त सबैलाई चाहिन्छ तर काठमाडौँमा फोहोर संकलन गर्ने मानभाउ छैन । ‘कतिले त छिछि नै गर्छन्, हामीलाई फोहोरी ठान्छन् र तर्किन्छन्,’ शरण भन्छन्, ‘जसले सिसडोल पुगेर फोहोर व्यवस्थापन गरेको देख्छन्, उनीहरूले वास्तविकता बुझ्छन् ।’

फोहोर व्यवस्थापनमा खटिनेका लागि बिदा त नाम पनि हुँदैन । अतिरिक्त समयको भत्ता पाउँछन् ।

फोहोरमै रमाउनु छ

कुरा २०५३ सालको हो । शरण १६ वर्षका थिए । काठमाडौँ महानगरले फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी खोजिरहेको थियो । उनले दरखास्त दिए, नाम निस्कियो ।

शुरूमा उनले टेकुमा काम गरे । महानगरले २०६२ सालमा नुवाकोटको सिसडोलमा ल्यान्डफिल साइट बनाएर फोहोर पुर्‍याउन थाल्यो । शरणको ड्युटी उतै पर्‍यो । उनको घर पनि उतैबाट नजिक पथ्र्यो ।

अहिलेका उनी परिवारका बाफलमा बस्छन्, परिवारमा श्रीमती र दुइ छोरा छन् । आफ्नो जागिरले काठमाडौँमा परिवार पनि पालेका छन् । छोरा पढाएका छन् ।

फोहोरमैलामा काम गरे पनि सरसफाइ र स्वास्थ्यका मापदण्ड पालना गरेकाले कुनै आजसम्म रोग लागेको छैन ।

‘फोहोरले विभिन्न रोग ल्याउँछ भन्छन् तर हाम्रो पेशा नै यही हो, अहिलेसम्म कुनै रोग लागेको छैन’ शरण भन्छन्, ‘फोहोरमै रमिरहेको छु, सन्तुष्ट पनि छु ।’

शरण र उनीजस्ताको दुःख आफ्ना ठाउँमा छ तर काम गर्नुको मजा पनि छँदैछ । शरणका लागि फोहोरसँग खेल्नु जिन्दगीको अभिन्न पाटो हो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  २ : ५८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई