पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द « Khabarhub

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए ।

पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले बताए । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।

महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउँछन् । बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ ।

बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ३० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल