नेपालमा असार १५ निकै महत्वपूर्ण दिन हो । परापूर्वकालदेखि नै दहीचिउरा खाने दिन हो र ‘मानो रोपेर मुरी फलाउने’ दिनको शुरूवात हो ।
यस दिन विगत १७ वर्षदेखि प्रत्येक वर्ष विभिन्न नाराका साथ राष्टिय धान दिवसको रूपमा पनि मनाउने गरिएको छ ।
यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
सन् २००४ मा ‘धान नै जीवन हो’ भन्ने नारासहित संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । यसैलाई आधार मानेर नेपालमा पनि सरकारले २०६१ सालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
नेपाली संस्कृतिअनुसार असार १५ मा दहीचिउरा खाने चलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म दहीचिउरा खाने गर्छन् । दहीचिउरा खानु धानखेतीसँग जोडिने परम्परा हो ।
दहीको महत्व असाध्यै धेरै छ । दहीले खाना पचाउनेदेखि लिएर अरू धेरै फाइदा गर्छ । अरू दिनको तुलनामा असार १५ मा दहीको खपत धेरै हुन्छ । यस दिनका लागि डेरी व्यवसायीहरूले दही जोहो गरेर राख्छन् ।
अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन परम्परा सम्झेरै पनि दही खान्छन् । यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिन दही खरिद गरेर राख्छन् । घरमा पनि दही जमाएर राख्छन् ।
यस दिन मानिसहरू दहीचिउरामा केरा र आँप पनि मिसाएर खाने गर्छन् । गाउँमा जसको घरमा दही जमाएर राखेको हुँदैन उनीहरूले शहरमा झैँ किनेरै पनि दहीचिउरा खाने गर्छन् । यस दिन शहरी क्षेत्रमा पनि अघिल्लो दिन दूध किनेर आफैँ दही जमाएर पनि खाने चलन छ ।
आजभोलि असार १५ मा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर दहीचिउराको महत्व बढाउने काम हुने गरेको छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष भने कोरोना भाइसरका कारण असर परेको छ ।
आजभोलि विद्यालयका विद्यार्थीहरूलाई पनि दहीचिउरा खुवाउने र रोपाइँमा सहभागी गराउने गरिएको छ । यो निकै राम्रो पक्ष हो । यसो गर्दा हाम्रा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र धानखेतीका बारेमा बुझ्ने मौका पाउँछन् । कार्यालयहरूमा पनि कर्मचारीहरू मिलेर दहीचिउरा खाने कार्यक्रम गर्न थालेका छन् ।
पहिले पहिले बाजा बजाएर नाँचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । यसरी रोपाइँ गर्ने चलनलाई बेठी लगाउने भनिन्छ । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरूकोमा हुने गर्दथ्यो । आजभोलि यो चलन हराउँदै दन्त्य कथा जस्तो हुने क्रममा छ ।
धान दिवस व्यवहारमा परिणाममुखी बनाउनु आवश्यक छ । विदेशिएका युवालाई स्वदेशमा कृषि क्षेत्रमा आकर्षित गर्ने योजना र कार्यक्रम चाहिन्छ । दूधमा करिब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न थालेको छ । धान उत्पादनमा आत्मनिर्भरतामात्र होइन निर्यात नै सम्भव छ । केही प्रयासका साथ ‘कृषि प्रधान’ भन्ने कथन सार्थक बनाउन सम्भव छ ।
हाम्रा अनेक रीतिरिवाज र संस्कृतिले गर्दा नेपाल फरक पहिचान बनाउन सफल छ । यस्तो पहिचानलाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन आवश्यक छ । यस्तो परम्परा जगेर्ना गर्दै अघि बढ्नुपर्छ । यसबाट सांस्कृतिक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्छ ।
हाम्रो देशमा आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार मेट्रिक टन, २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन, २०७४/७५ ५१ लाख ५१ हजार मेट्रिक टन, २०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
नेपालको कुल जनसंख्याका लागि वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले पाँच वर्ष भित्र कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको थियो । धान उत्पादन बृहत् कार्यक्रम १५ जिल्लामा छ । झापा जिल्लालाई धानको सुपर जोन घोषणा गरिएको छ ।
नेपालमा कुल गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको छ र समुद्र सतहबाट ६० मिटरदेखि ३ हजार ५० मिटरसम्मको उचाइमा धानखेती हुने गरेको छ । नेपालमा कुल ११८ जातका धान पाइएका छन् ।
हामीले कति पटक धान दिवस मनायौँ भन्ने कुरा महत्वपूर्ण होइन, के उपलब्धि हासिल हुँदैछ भन्ने कुराले महत्व राख्छ । धान उत्पादनमा अति धेरै सम्भावना भए पनि हामी चामल आयात गर्न बाध्य छौँ । विभिन्न कारणले खेत बाँझो बस्न थालेको छ । उत्पादकत्व बढ्न सकेको छैन । आधुनिक प्रविधिको अभाव छ । चाहिएका बेला बीउ र मल नपाइने समस्या छ ।
धान दिवस व्यवहारमा परिणाममुखी बनाउनु आवश्यक छ । विदेशिएका युवालाई स्वदेशमा कृषि क्षेत्रमा आकर्षित गर्ने योजना र कार्यक्रम चाहिन्छ । दूधमा करिब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न थालेको छ । धान उत्पादनमा आत्मनिर्भरतामात्र होइन निर्यात नै सम्भव छ । केही प्रयासका साथ ‘कृषि प्रधान’ भन्ने कथन सार्थक बनाउन सम्भव छ ।
यस वर्षको असार १५ ले सबैलाई यसतर्फ प्रेरणा दिन सकोस् । शुभकामना ! अनि तपाईंले दहीचिउरा खानुभयो त ?
(दाहाल नेपाल डेरी एसोसिएसनका महासचिव हुन् ।)
प्रतिक्रिया