नेपालमा ४१ लाख मेट्रिक टन चामलको माग, ३३ लाख मेट्रिक टनमात्र उत्पादन | Khabarhub Khabarhub

नेपालमा ४१ लाख मेट्रिक टन चामलको माग, ३३ लाख मेट्रिक टनमात्र उत्पादन

चामल किन्न ११ महीनामा बाहिरियो २७ अर्ब



काठमाडौँ– आज असार १५, धान दिवस र रोपाइँ महोत्सव । नेपाली समाजमा असार ‘मानो रोपर मुरी उब्जाउने’ महीना मानिन्छ ।

नेपालले २०६२ साल असारदेखि प्रत्येक वर्ष धान दिवस मनाउँदै आएको छ ।

यस वर्षको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।

असार दोस्रो सातासम्म धान खेतीयोग्य क्षेत्रमा २७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार हालसम्म १३ लाख ७१ हजार ७०६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा १०.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा ४८.३१, लुम्बिनी प्रदेशमा ४५.९४, बागमतीमा २१.०७, प्रदेश १ मा १७.९९ र गण्डकी प्रदेशमा १५.३४ रोपाइँ सम्पन्न भएको छ ।

भूगोल अनुसार सबैभन्दा बढी उच्च पहाडमा ३३.४८ प्रतशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी मध्य पहाडमा ३०.९५ प्रतिशत र तराईमा २५.४५ क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

गतवर्ष यो अवधिमा ३५ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलका अनुसार गतवर्ष यस वर्षभन्दा एकसाताअघि मनसुन शुरु भएको थियो ।

‘यसवर्ष एकसाता ढिलो मनसुन शुरु भयो जसकारण तराई र पहाडका खेतमा अहिले धान रोपाइँ शुरु भइरहेको छ’ उनले भने ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन गरेको छ ।

धान खेतीको क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ ।

कुल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा छ ।

संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन हुने गरेको र यसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरूमा हुने गरेको तथ्यांक छ ।

उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन छ ।

यसपछि क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरू हुन् । नेपाल १७ औँ स्थानमा पर्छ ।

समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार मिटर उचाइसम्म धानको खेती गरिन्छ ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा २६ दशमलव ५० प्रतिशत अंश कृषिको रहेकोमा धानको मात्र योगदान १५ दशमलव ३५ प्रतिशत योगदान रहेको कृषि विभागले जनाएको छ ।

नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदेधान (बोरो) को रुपमा धान खेती हुने गर्दछ ।

वार्षिक ४१ लाख मेट्रिक टन चामलको माग

कृषि मन्त्रालयका अनुसार एक व्यक्तिका लागि वार्षिक १ सय ३३ किलोग्राम चामल आवश्यक पर्छ । यसरी हेर्दा देशमा वार्षिक ४१ लाख १० हजार मेट्रिक टन चामलको माग रहेको छ ।

जब कि गत वर्ष १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

त्यो भनेको वर्षभरी ३३ लाख ७२ हजार ६ सय मेट्रिक टन चामल उत्पादन हो ।

धान उत्पादन र उत्पादकत्व बढ्दै गए पनि अपुग चामल विदेशबाट आयात हुने गरेको छ ।

चामल आयातमा वर्षेनी करिब ३० अर्ब रुपैयाँ बाहिरिने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार गत चालु आर्थिक वर्षको ११ महीनामा २६ अर्ब ४ करोड रुपैयाँ बराबरको ५१ करोड ६१ लाख ६२ हजार किलो चामल आयात भएको छ ।

त्यस्तै गत आर्थिक वर्ष २० अर्ब ४७ करोड रुपैयाँको ३६ करोड ४७ लाख किलो चामल आयात भएको थियो ।

यसकारण उत्पादन घट्दो

स्वदेशी माटोमा प्रयाप्त परिमाणमा उत्पादन नभई धान चामलमा परनिर्भरता हुनुमा बढ्दो जनसख्या बृद्धिको तुलनामा धान उत्पादनको वृृद्धिदर कम देखिन्छ ।

खेती लगाउने जनशक्ति घट्दै गएपछि गाउँमा बस्नेहरू पनि बजारकै खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता देखिन्छ ।

खेती लगाउने सिजनमा किसानले समयमा बीउ बिजन र मल नपाउनु प्रमुख समस्याको रुपमा देखिन्छ । सरकारले मल उपलब्ध गराउन सहजीकरण गराउने भनेपनि किसानले यही समस्या हरेक वर्ष भोग्ने गरेका छन् ।

त्यस्तै खेतीयोग्य जमिन खण्डीकरण तथा घडेरीकरण, श्रम शक्तिको अभाव, सिचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नुहुनु प्रमुख कारण रहेको सुचना अधिकारी पौडेल बताउँछन् ।

त्यस्तै केही वर्षयता खेतीयोग्य जमीनमा पहाडमा पहिरो खस्नु र तराईका जिल्लाहरुमा बाढी पस्नाले पनि खेतीयोग्य जमीन मासिएको पाइन्छ ।

धानको उत्पादन बढाउनका लागि विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको उनी बताउँछन् ।

उन्नत बीउ बिजनको प्रयोग मात्राले १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने तथ्यलाई मध्यनजर गर्दै गत आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्य गरेको थियो ।

जसअनुरुप धानको स्रोत बीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान एवं उन्नत बीउ प्रयोगकर्तालाई मूल्य अनुदान कार्यक्रम तथा धान बाली प्रवर्द्धन कार्यक्रम संचालन गरिएको थियो ।

त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धानबालीको विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गर्दै यो बालीको व्यवसायीकरण, यान्त्रिकीकरण तथा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्न विभिन्न कृयाकलापहरु तर्जुमा गरिएको उनको भनाइ छ ।

‘किसानहरुलाई प्रतिस्पर्धी बनाई बचत सुनिश्चित गर्न मन्त्रालयले अङ्गिकार गरेको “संरक्षित कृषि, सुनिश्चित बचत” को नीति कार्यान्वयनका लागि न्यूनतम समर्थन मूल्य एवं कृषि बीमा कार्यान्वयनको व्यवस्था गरिएको छ’ उनले भने ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ३६ बजे

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

रसुवा– उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ

लैनो गाईको फाँचोमा पुगेको किर्नोलाई रगतकै रस

कथा यसरी शुरु हुन्छ- एक अति जिद्दी बालकले बाबुआमासँग छेपारो

महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर

महोत्तरी– महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन

गोरखा नगरपालिकामा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का सेवा

गोरखा- गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का लागि विभिन्न सेवा