पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नतिको काम प्रधानमन्त्रीबाट शुभारम्भ « Khabarhub

पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नतिको काम प्रधानमन्त्रीबाट शुभारम्भ


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् ।

भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्रीले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरेका छन् ।

सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराएका थिए । पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई छ लेनमा विस्तार गर्न लागिएको हो । शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक निर्माणको जिम्मा इण्डो सगुन जेभी बुटवलले पाएको छ । दुई वर्ष चार महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । सम्झौतापछि ठेकेदार कम्पनीले काम गरिरहेको छ । डिभिजनल प्रमुख कृष्णराज अधिकारीका अनुसार रु एक अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

टिकौली वन छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने अधिकारीले जानकारी दिए ।

सडक छेउका अतिक्रमित घरटहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ भने ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ । शहरी सौन्दर्यतालाई समेत ख्याल गरेर सडक स्तरोन्नति गरिँदै छ ।

सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ । त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुने अधिकारीले जानकारी दिए ।

त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरकफरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलगअलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ ।

यो क्षेत्र जिल्लाको घनाबस्ती र बजार रहेको क्षेत्र हो । यसकै आसपासमा अधिकांश सरकारी कार्यालय रहेका छन् । बाइपास सडक र ग्रामीण क्षेत्रबाट आएका सडक यही आएर जोडिएका छन् । भरतपुर विमानस्थल यसै सडकसँग जोडिएको छ । विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डसँगै यसलाई पनि स्तरोन्नति गर्न लागिएको हो । यस क्षेत्रको सडक साँघुरो हुँदा दुर्घटना हुने गरेका छन् ।रासस

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ४९ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक