'ओली प्रवृत्ति' अन्त्यका लागि एकजुट हुन विपक्षी गठबन्धनको आह्वान | Khabarhub Khabarhub

‘ओली प्रवृत्ति’ अन्त्यका लागि एकजुट हुन विपक्षी गठबन्धनको आह्वान



काठमाडौँ– विपक्षी गठबन्धनले केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै सबैलाई एकजुट हुन आह्वान गरेको छ । ओली प्रवृत्ति पुन: नआओस् भनेर लडाईं लडिरहेको विपक्षी गठबन्धनका शीर्ष नेताहरूले बताएका छन् ।

गठबन्धनमा सामेल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य मान्यताको राजनीति नछाड्ने स्पष्ट पारेका छन् । एमालेले गरेको कारबाही फुकुवा भएपनि उनले अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको बताएका छन् ।

नागरिक समाज र लेखकहरुसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तक्रियामा नेता नेपालले व्यवस्था खतराउन्मुख रहेको भन्दै काँधमा ठूलो जिम्मेवारी रहेको समेत बताए । उनले भने, ‘व्यवस्था खतराउन्मुख छ । कतिपय गतिबिधि हेर्दा राम्रो संकेत दिएको छैन । हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।’

केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै उनले अब पनि ओली प्रवृत्ति दोहोरिन दिन नहुने बताए । उनले भने, ‘केपी शर्मा ओली प्रवृत्तिको विरुद्धमा लडिरहेका छौँ । भोलि ओली प्रवृत्ति पुनः नआओस् ।’ उनले आफूले बोल्यो कि पोल्यो भन्ने अवस्था रहेको समेत बताए ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिको अन्त्यका लागि सबै एकजुट रहन आवश्यक रहेको बताए । उनले भने, ‘अहिलेको कुरा के हो भने ओली प्रवृत्तिविरुद्ध सबै एक हुन आवश्यक छ । संविधानको रक्षा, प्रणाली, लोकतन्त्रको मान्यता र राष्ट्रियताको रक्षाका आधारमा गठबन्धन बनेको हो ।’

संविधान बनाउने बेलामा धेरै चुनौती सामना गरिएको भन्दै अध्यक्ष प्रचण्डले संविधान बनेपछि चुनाव हुन नदिन पनि जटिलता पार गर्नुपरेको स्मरण गरे । एमालेसँग पार्टी एकता गर्दा गल्ती नगरेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई केपी ओली यति सारै अपराधी त छैनन् भन्ने लागेको थियो । छन् भने माधव नेपालहरु साथमा भएपछि ठीक लगाइएला भनेको हो । तर सकिएनँ ।’

अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने विश्वास समेत व्यक्त गरे । १ सय ४९ जना सांसदहरूले हस्ताक्षर गरेर प्रधानमन्त्रीमा शेरबहादुर देउवा हुनुपर्छ भनेर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेपनि राष्ट्रपतिले अर्कै निर्णय गरेका कारण अदालत पुगेको उनको भनाइ छ । उनले भने, ‘१ सय ४९ सांसदहरूको हस्ताक्षरसहित शेरबहादुरजीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत गरिए पनि मध्यरातमा चिज नाटकीय ढंगले आयो । अदालतले सिँधै बहुमतको आधार प्रस्तुत भइसकेको अवस्था रहेकाले शेरबहादुरजीलाई प्रधानमन्त्री बनाएर विश्वासको मत लिने भन्नुपर्छ र त्यही हुन्छ भन्ने विश्वास समेत छ ।’

देउवा नेतृत्वको सरकार गठन भएपछि पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप ल्याउने रहेको उनले बताए । उनले भने, ‘मित्रराष्ट्रहरुसँग खोपसम्बन्धी अवस्था के छ भनेर छलफल शुरू गरिसकेका छौँ । हाम्रो नेतृत्वको सरकार बनेपछि खोप पहिलो प्राथमिकता हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कमिसनका लागि लागेका कारण कोरोनाविरुद्धको खोप आउन नसकेको बताए । उनले भने, ‘कमिसनको खेलले खोप आउन नसकेको रहेछ । कमिसनको खेल भयो भनेर मन्त्रीले बोलेका छन् । जनताको जीवन बचाउन पनि कमिसन खानेले देश के गर्लान् ?’

आफ्नो नेतृत्वको सरकार बनेपछि छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम गर्ने समेत उनले बताए । छिमेकी देशहरूसँग कुनै कुनै समयमा असमझदारी हुनु स्वभाविक रहेको भन्दै उनले भने, ‘छिमेकी बदल्न सकिन्न । छिमेकीहरुसँग बस्नुछ । भारतसँग खुला सिमाना छ । चीनसित भारतसँगजस्तो खुला सिमा छैन । यही आधारमा छिमेकीहरुसँगको सम्बन्ध हुन्छ ।’

संविधानको धारा ७६ (५) अनुसार जुनसुकै सांसदले बहुमत जुटाउनसके प्रधानमन्त्री बन्नसक्ने व्यवस्थामा टेकेर प्रधानमन्त्रीको दाबी गरेको भएपनि राष्ट्रपति कार्यकर्ताजस्तो बनेर संसद भंग गरेको सभापति देउवाले आरोप लगाए । ‘अचानक राति कार्यकर्ताजस्तो भएर संसद भंग गर्नुभयो । भंग गर्न पाइँदैन भनेर अदालते पहिला नै भनिसकेको छ ।’

राष्ट्रपति कार्यकर्ताजस्तो भएर काम गरेपनि अदालत स्वतन्त्र रहेको र गल्ती सच्याउने आशा रहेको उनको भनाइ छ । उनले भने, ‘अदालत कसैको धम्कीमा पर्दैन । कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्छ । व्यवस्थापिकाले समेत त्यस्तो काममा सही थप्न सक्छ तर अन्तिम निर्णय अदालतले गर्ने हो ।’

विपक्षी गठबन्धनका नेताहरूले यसअघि सञ्चारकर्मी, वृद्धिजीवीहरूसँग पनि संसद विघटनका बारेमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : २० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन