आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा « Khabarhub

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

पाटनको कृष्णमन्दिर यो वर्ष पनि बन्द


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

तर, कोरोना भाइरसको महामारीका कारण यस वर्ष पनि अघिल्लो वर्षझैँ मठमन्दिर खुलेका छैनन् । तथापि यो वर्ष पनि भक्तजनहरु मन्दिरका गेटसम्म पुगेर भगवान श्रीकृष्णको दर्शन गरिरहेका छन् । कयौँले घरमै भगवान श्रीकृष्णको पूजाआजा गरिरहेका छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

कृष्णजन्माष्टमीमा यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको छ । २०६४ सालपछि कटौती गरिएको कृष्णजन्माष्टमीको बिदा फेरि दिइएपछि सनातन धर्मावलम्बीले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

पाटनको कृष्ण मन्दिर बन्द

काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिर यस वर्ष पनि बन्द गरिएको छ ।

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने गरेकोमा कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि मन्दिर बन्द नै गरिने भएको छ भने मेला पनि हुन निदइने भएको छ ।

सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए ।

उनले भने, ‘आवश्यक अनि सीमित व्यक्ति बसेर भगवानको पूजापाठ आदि कर्म गर्नेछौँ । मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न दिन्नौँ ।’

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौँ ।’

कृष्णाष्टमी पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने सहमति जुटेकाले भिडभाड हुन नदिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : ०१ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास