काठमाडौँ- नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित ‘सि.सं. १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’का उच्च अधिकृतहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन गरेका छन् ।
भ्रमणका क्रममा उनीहरुले सशस्त्र प्रहरी बलका बारेमा विविध जानकारी लिएका हुन् । सो अवसरमा शिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्रले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना र आम नागरिकको सेवा, सुरक्षा तथा उद्धार कार्यमा कटिबद्ध भई कार्यसम्पादन गर्दै आइरहेको बताए ।
उनले राज्यप्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा सुरुवातदेखि नै विविध तालिम तथा साधनश्रोत व्यवस्थापनमा नेपाली सेनाबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गरे ।
उनले यस्ता अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरुमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्र र आम नागरिकको सुरक्षा, विपद् व्यवस्थापन तथा पीडितको उद्वार लगायतका कार्यहरु सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताए ।
महानिरीक्षक खनालले नेपाली सेनामा विभिन्न तालिममा आफू सहभागी हुँदाको अनुभव स्मरण गर्नुहुँदै भविष्यमा नेतृत्व तहमा पुग्ने उच्च अधिकृतहरुले यस्ता उच्चस्तरीय कोर्सबाट प्राप्त गर्ने ज्ञान तथा अनुभवले भविष्यमा आईपर्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै सरकारको लक्ष्य प्राप्तिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरीको बारेमा शिक्षार्थी अधिकृतहरुले राखेको विविध जिज्ञासाहरुबारे जानकारी दिएका थिए । त्यसैअवसरमा उनले उक्त तालिमका सिनियर ईन्स्ट्रक्टर
सहायक रथी प्रेमध्वज अधिकारीलाई मायाको चिनो प्रदान गरे ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले स्वागत मन्तव्यको क्रममा यस्ता भ्रमण तथा अन्तरक्रियाबाट सुरक्षा निकायहरुले एक आपसमा भएका अनुभव आदान प्रदान गर्ने मौकाको साथै कार्यसम्पादनको क्रममा स्पष्टताकासाथ समन्वय र सहकार्यमा सघाउ पुर्याउने बताए ।
सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, परिचालन, सांगठनिक संरचना, सुरक्षा संगठनहरुबीच समन्वयका क्षेत्रहरु, विद्यमान विविध चुनौती लगायतका विविध विषयहरुबारे शिक्षार्थी अधिकृतहरु समक्ष प्रस्तुतीकरण मार्फत कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी गराएका थिए ।
सो अवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरीको प्रधान कार्यालयस्थित केन्द्रीय आदेश कक्षको कामकारवाही तथा सो कक्षले हाल प्रयोगमा ल्याइरहेको सूचना तथा संचार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरुले जानकारी हासिल गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया